महिलालाई ठगेरै तिम्राे जिन्दगी चल्छ ठूले ?

महिलालाई ठगेरै तिम्राे जिन्दगी चल्छ ठूले ?

के यो मुलुकमा ठगेर खानेलाई  छुट छ ? होइन भने दर्जनौं युवालाई  सरकारी जागिर लगाइदिने आशमा ठग्ने एक दलाललाई  किन कारवाही गर्न सक्दैन, प्रहरी र प्रशासन ? पछिल्ला पाँच वर्षमा हामीले जे भोग्यौं, हाम्रो भोगाइले भन्छ, यहाँ ठग्ने निर्दाेष र ठगिनेचाहिँ दोषी हुँदो रहेछ । र, हाम्रोजस्तो मुलुकमा प्रशासन र प्रहरी संयन्त्रलार्ई हातमा लिएपछि ठग्नेलाई  मस्ती र ठगिनेलाई  अनेकन सास्ती खेप्नुपर्दाे रहेछ । एक जना दलालबाट यस्तै भुक्तमान भोगिरहेका पीडित हौँ, हामी ।

एक जना दुई जना होइन, हाम्रै समूहबाट ठगिएका छौं १२ जना । यसरी सर्वसाधारणलाई ठगेर ती दलालले खुल्लमखुला राज्यलाई चुनौती दिँदै हिँड्न थालेको पाँच वर्ष भइसक्यो । एउटै दलाल, कसैलाई  श्रम, कसैलाई शिक्षा त कोहीलाई  युवा तथा खेलकुद मन्त्रालयको अधिकृत हुँ भन्दै सरकारी जागिर लगाइदिने नाममा ठग्छ, कसैलाई  लोकसेवाको अधिकृत हुँ भन्दै सरकारी सेवामा प्रवेश गराउन खोज्छ । उसैबाट हामी पनि ठगियौं, उसको असुली धन्दा जारी छ ।

तर, यस्तो गिरोहलाई प्रशासनले कारबाही प्रक्रिया अगाडि नबढाएपछि पक्कै पनि दालमें कुछ काला है कै रूपमा बुझ्नुपर्ला । होइन भने कानुनी राज्यमा कसै न कसैको आड र भरोसा नपाई उसले खुलेआम कसरी यस्तो धन्दा चलाउन सक्छ ? भन्नलार्ई त लाज हुन्छ तर लाजले मात्र काज नचल्दो रहेछ । जोसँग औपचारिक शिक्षा एसएलसीभन्दा माथि छैन उसैले एसएलसी, प्रमाणपत्र तह, स्नातकदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेका युवालार्ई मुर्गा बनाइरहेको छ । एक दुई जना मात्र ठगिएको भए त चुपै लागेर बस्नुहुन्थ्यो तर ती ‘दलाल’ले त ठगीलार्ई व्यवसाय नै बनाएका रहेछन्जस्तो लाग्दै छ । उनीबाट ठगिनेको संख्या १२ जना त हाम्रै समूहबाट छ । 

धरानका सुनिलकुमार राईबाट हो हामी ठगिएको । पाँच वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्मा जागिर लगाइदिन्छु भनेर आश्वासन देखाए । कसैसँग ६५ हजार त कसैसँग ७० हजार उठाए । ०७५ सालमै आश्वासन दिएका थिए कि, राष्ट्रिय खेलकुद परिषद्लगायत निकायमा खरिदार, नायब सुब्बा, खरिदारलगायत पदमा जागिर लगाइदिने । सबैलाई  रहर हुन्छ एक बारको जुनी सुखी र समृद्ध तरिकाले जिउने । तर सबैको रहर र चाहना कहाँ हुन्छन् र पूरा ? स्वदेशमा रोजगारीको अवसर भेटिएन, बिदेसिने सपना सजाइयो । रोजगारीको लागि बिदेसिने योजनाअनुरूप हरियो राहदानीमा छाप लगाउँदा मनमा उत्साहको छुट्टै सञ्चार भइरहेको थियो । तर, हामीजस्ता भुइँ मान्छेको सबै सपना कहाँ पूरा हुँदो रहेछ र ? अनेकन दलालले उम्रिन नपाई निमोठिदिँदा रहेछन्, सपना, भविष्य । जुन उत्साह र सपना थियो त्यो सबै तुहियो तिनै दलालको भरमा पर्दा । 

०७५ सालमा उनैले प्रस्ताव गरे, महिलाका लागि विशेष अवसर छ, सरकारी जागिर खाने । हाकिमहरूले नै महिला कर्मचारी खोज्न लगाउनुभएको हो भने । चिया पिउँदै गर्दा प्रस्ताव गरे, ‘गाउँमा अलि दुःख पाएका तिम्रा साथी को–को छन्, १०–१२ जना जम्मा गर । मन्त्रालयबाट सेटिङ गरी सरकारी जागिरे बनाउने जिम्मा मेरो भयो ।’ अधिकृतले भनेपछि झनै रंगीन सपना देख्न थाल्यौं । खाडी जाने सपना मोडेर सरकारी जागिरे बन्ने रहर पैदा भयो । सोचियो, अब जिन्दगी बन्ने भयो । आफूसँगै पढेका, आफन्त जम्मा गरियो । एउटै गाउँ, ठाउँ, एउटै मूलको पानी पिएको । त्यसमाथि उनी खेलाडी पनि, मेरो बहिनी पनि खेलकुद क्षेत्रमै । खेलकुदकै क्षेत्रमा लागेको व्यक्तिले यसरी धोखा देलान्जस्तो एक मनले पनि सोचेका थिएनौं ।

हामी त कुवाभित्रकै भ्यागुतोको जिन्दगीमा बाँचिरहेको मान्छे । गाउँका मान्छे, सिंहदरबारका कुन मन्त्रालयमा को सचिव, को सहसचिव वा उपसचिव ! को शाखा अधिकृत ? थाहा पाउनुपर्ने कारण पनि थिएन । नेपाल सरकारको अधिकृतजस्तो मान्छेले भनेपछि नपत्याउने कुरै भएन । ऋण धन गरेरै पैसा बुझाइयो ७० देखि ८० हजारसम्म । सरकारी जागिरे बन्न पाइने सपना देखेर दुई दर्जन आफन्त–साथीहरू पछाडि लागे । तर, पैसा दिइएको पाँच वर्षसम्म पनि सरकारी जागिर लगाइदिनुुपर्ने मान्छेले लगाइदिएनन् अनि मनमा चिसो पस्न थाल्यो । यही बीचमा कोरोनाको एकपछि अर्काे लहरले विश्वलार्ई आक्रान्त पार्‍यो । दलालका लागि कोरोना झन् ठूलो बहाना भइगयो । भौतिक रूपमा भेटघाट हुँदैनथ्यो र फोन सम्पर्क हुँदा प्रोसेस हुँदै छ भन्ने मात्र जवाफ आउँथ्यो । पैसा त दिइयो तर प्रमाण केही थिएन ।

सबैको प्रतिनिधित्व मैले नै गरेको थिएँ । साथीहरू कि पैसा फिर्ता चाहियो कि सरकारी जागिर भनेर पिरोल्न थाले । उनलार्ई पैसा बुझाएको पनि दिन, हप्ता, महिना वर्ष बित्यो । काम भएन । घुस खुवाएर जागिर खानु छैन, हामीलार्ई हाम्रो पैसा फिर्ता गरिदिनुहोस् भन्यौं । जवाफ आउँथ्यो– अरू ६ वटै प्रदेशमा कर्मचारीहरू नियुक्त गरिसक्यौं, अब बाग्मतीको मात्र बाँकी हो । यही बीचमा नियुक्तिको पत्र तयार हुँदैछ, पत्र बुझ्न आउनु भनिएपछि ढुक्क भएर १२ जना साथीसहित काठमाडौं आएँ । दशैँलगत्तै तालिम हुँदै छ भनिएका कारण काठमाडौंको होटलमा बस्न थालियो । एक महिना, दुई महिना हुँदै डेढ वर्ष बित्यो । न त नियुक्तिको पत्र पाइयो, न तालिमै शुरु भयो । जागिर हुँदैन, लगाउन सक्दिनँ नभन्ने, आज हुन्छ, भोलि हुन्छ भन्दै डेढ वर्षसम्म होटलमा बसेको र खाएको खर्च मात्र सात लाखभन्दा बढी निस्कियो । आफूले लगाइराखेको सुनका गरगहना बेचेर होटलको पैसा तिरियो र फेरि फर्कियौं धरान । पहिले जुन आधारमा उक्त दलाललार्ई विश्वास गरिएको थियो, ती सबै झुटका फेहरिस्त मात्र रहेछन् तर के गर्नु, ‘पहिला.... अनि दैलो देख्यो’ भनेझैं भएपछि ।

धरान जिल्लाको नाम बेच्दै नयाँ नटवरलालको रूपमा उदाएका छन् उनी । घैंटामा घाम लागेर हुनेवाला केही थिएन । गुम्ने पैसा गुमिसकेको थियो । नपाउनु हण्डर, ठक्कर खाइसकेका थियौं । जाने कहाँ ? केही थाहा थिएन । गर्ने के ? केही पत्तो भएन । केही कर्मचारीले प्रहरीमा जान सुझाव दिए । सोहीअनुसार अनामनगर प्रहरीमा मुद्दा दर्ज गरायौं । त्यहाँ पनि उल्टै हामीलार्ई नै सताइयो । हारेको खप्पर जता पुग्यो उतै ठक्कर भनेजस्तो भयो । निवेदन लिएर जाँदा प्रहरी लेनदेनको विषय हामी हेर्दैनौं भन्दै पन्छियो । यसरी गरिएको खर्चमध्ये साढे तीन लाखको प्रमाण छ, बैंकिङ च्यानलबाटै भुक्तानी भएको छ । यसरी ठगिएको पनि ५ वर्ष पूरा भएर ६ वर्ष लागिसकेको छ । उनले असारको १७ गते सबै भुक्तानी दिन्छु भने । ६ वर्ष त कुरियो भने १५/१७ दिन केही होइन भनेर कुरियो तर सो समयमा फोन गर्दा अस्पतालमा उपचार गराइरहेको छु, विश्वास नलागे लोकेसन ट्रयाक गरेर हेर्नु भन्ने जवाफ आयो ।

उनीसँग हामीले आफ्नै पैसा मागेका हौं, भीख त मागेको होइनौ नि ! पैसा नदिने भए सेकेण्ड सेकेण्डमा खाता नम्बर किन माग्ने ? उनकै कारण एक जना साथी अहिले डिप्रेसनको शिकार भएकी छन् । उपचार गर्ने र औषधि खाने पैसासमेत छैन, उनीसँग । पहिले राष्ट्रिय परीक्षा बोर्ड कास्कीमा कार्यरत छु भन्थें । बीचमा सानोठिमी हुँदै अहिले हेटौंडामा छु भन्छन् तर ती निकायमा फोन गर्दा यस्तो नाम भएको कर्मचारी नै यहाँ छैनन् भन्छन् । हामीले पैसा बुझाउँदा र फिर्ता माग्दा हाकिमलार्ई बुझाएको हो, मैले एक्लै खाएको होइन भन्थे । कोही सरकारी कर्मचारीको सेटिङ छ वा उनी एक्लैले यसरी युवालार्ई ठग्दै हिँडिरहेका छन् ?

भनिन्छ, एक मुठी सास छउञ्जेल आश । न्याय मरिसकेको छैन भन्ने आशा र विश्वास बोकेर प्रशासन र प्रहरी कार्यालय चहारियो । आशा थियो प्रहरीबाट न्याय मिल्छ । तर, त्यो झिनो आशा पनि तुषारापात भयो । प्रहरी उल्टै झपार्दै यस्तो मुद्दा हेर्नका लागि अदालत छ भन्दै पन्छन्छ भने यो मुलुकमा ठगेर खान पाइने हो ? मसँग जोडिएका १२ जनाबाट झण्डै साढे आठ लाख ठगेको छ । यसैगरी ठगिनेको संख्या अरू कति होला ? यसको खोजबिन गर्ने कसले ? 

– अस्मिता राई तथा पीडित साथीहरू धरान
 

टिप्पणीहरू