यस्तै त होला सौन्दर्यशास्त्र !

यस्तै त होला सौन्दर्यशास्त्र !

दर्शनशास्त्रको एक शाखा हो सौन्दर्यशास्त्र भनेर जवाफ दिन निकै सजिलो छ । मन छुने साहित्य, कला, संस्कृति, रचनाहरु जसले समाजलाई सोच्न बाध्य बनाओस्, मनलाई विचार गर्न जागृत तुल्याओस्, मानवीय समवेदना झल्काओस, इतिहास पढाओस् यी सबैलाई सौन्दर्यशास्त्र भन्दा हुन्छ अचेल । राजनीतिबाट पर रहेको सौन्दर्यशास्त्र अहिले त्योसँग पनि आवद्ध देखिन्छ । माक्र्सवादी र गैर माक्र्सवादी, बुर्जुवा, दलाललाई सौन्दर्यशास्त्रको रुपमा जसरी परिभाषित गरेपनि हुन्छ ।  

सबै कुरा फरर, एकै छिनमा कविताको माध्यमद्वारा, पाठकलाई पढ्न, बुझन सजिलो, गजब हुँदोरहेछ कविता ! भारतमा अचेल शासकीय विकृतिविरुद्ध खबरदारी गरिएका कविताहरु बढी पढ्न थालिएको चर्चा गरिन्छ । 

राकेश रेणुसँग भएको एक बहस–साक्षात्कारमा भारतका साहित्य लेखक नरेश सक्सेनाले भनेका छन्, ‘कवितामा अब कुन अन्तर्वस्तु होला ?...यो पहिलेदेखि नै तय गर्न सकिँदैन । यदि पहिले तपाईंले सौन्दर्यको रूप–मापदण्ड स्थापित गर्नु भो, फेरि भन्नुभो कि यस्तो सुन्दर हुन्छ, होइन, पहिले सुन्दर हुन्छ, त्यसपछि भनिन्छ कि सुन्दर यस्तो हुन्छ । सौन्दर्यको अर्थः सौन्दर्य–बोध हामीभित्र जन्मजात हुन्छ ।’ 

प्रसिद्ध भारतीय साहित्यकार मन्नू भण्डारी ‘एक कहानी यह भी’ मा लेख्नुहुन्छ, ‘लेखक पनि मानिस नै हो । यदि उनको जिन्दगीको श्वेत पक्ष अरुको अपेक्षामा अधिक प्रबल छ भने उनको श्याम पक्ष पनि त उत्तिकै प्रबल हुन सक्छ ।’ 

सबै देशका श्रष्टाप्रति सम्मान गर्दै आएको छु । मसँग सामाजिक सञ्जालमा जोडिनुभएका भारतीय  लेखक–रचनाकारहरुले पनि देश र जनताको हितमा सिर्जना गर्नुभएको छ । नेपालमा  शासकीय खबरदारीका रचनाहरु सुनियो–पढियो, त्यो अझै जारी छ । शासन सुध्रिएन खै ! आशावादी हुँदै मैले यहाँ शासन र समाजलाई सोच्न लगाउने, प्रेमका सभ्य शब्दहरुलाई समेत पस्केको छु : 

(१) ईश्वर बल्लभज्यूले सिर्जना गर्नुभएका सामाजिक व्यवहारका माया प्रितीका पक्षहरु समेटिएका कालजयी शब्दहरुलाई कर्म योञ्जनको संगीतमा कुमार सुब्बा र दिलमाया खातीले गाउनुभएको थियो । सानोमा जब गीत सङ्गीत सुन्न–बुझ्न थालियो त्यसबेला तल प्रस्तुत गरिएको गीत गाइन्थ्यो, नाटकमा पनि राखिन्थ्यो ।  

‘सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुईंमा, होइन भने जिन्दगानी आगो लगाइदिन्छु । 

नआऊ कतै जाऊ फेरि मेरो मनमा, होइन भने त्यही पीर फेरि बल्झाइदिन्छु । रोझेको हो तिमीलाई सारा फूलभरि,झरिदिन्छ सयपत्री कति भुईंभरि, खोजेको हो तिमीलाई मेरो आँखाभरि, छरिदिन्छौ पीर व्यर्थै तिमी मुटुभरि,आकाश कहिले मेरो सङ्लो भैदेला, होइन भने पानी भई सबै भिजाइदिन्छु ।। लेखेको छु तिमीलाई मेरो गीतभित्र,नउम्कने पारी बाँधे मेरो भावभित्र,यसै मलाई माया लाग्छ तिम्रो जिन्दगीको,मलाई पनि छोपिदेऊ तिम्रो मुटुभरि, नछेक जोवनलाई बितिसक्यो बेला, होइन भने मलाई देऊ कतै राखिदिन्छु ।।’

(२) ‘म त भन्छु, हाम्रा भगवान नै बालकहरु हुन्’ भन्दै रामबाबु सुवेदीले विद्यालय जान नसकेको जमुनीको छोराको मर्मलाई ‘सबै पढ्न गएछन् जान्ने सुन्ने भएछन्, म त अझै गोठमा छैन हाँसो ओठमा । मेरो सानो गोठ नै मेरो सानो स्कूल,गोबरका अक्षर पढ्न लेख्न मुस्किल’ भनेर ‘घान्द्रुक झलल’ बालगीति सँगालो मार्फत् यसरी प्रस्तुत गरिदिनु भएकोमा हामी समाजका सदस्यहरु पनि यो पढेर सोच्न बाध्य भयौँ । 

स्व.तारिणी प्रसाद कोइरालाले ‘नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लिई’ भन्ने रचना कुनै कवि या गीतकार कहलाउन रचेका थिएनन् । नेपाली काँग्रेस राजनीतिको मात्र होइन तत्कालीन इतर राजनीतिलाई कला संस्कृतिको सौन्दर्यबाट अनुहारित गर्नुपर्ने आवश्यकताको प्रतिनिधित्व गर्ने गीत थियो  । 

माइला लामा, खुशीराम पाख्रिनहरु नयाँ नेपाल बनाउने भन्दै सशस्त्र द्वन्दमा कला संस्कृतिको हतियार बोकेर होमिए । ‘भोका नाङ्गा नानीहरु खेलिरहने गाउँ, हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ’ रच्दै समाजलाई नेपाली राजनीतिको वास्तविकता बताएर भावुक बनाए । 

कवि गीतकार हाल जसपा केन्द्रीय सदस्य रकम चेम्जोङ्गले ‘गड्याङ्ग र गुडुङ्ग मेघ पनि हैन आकाश सफा छ । छिर्का र छिर्की पानी त हैन रगतको टाटा छ’ जस्ता रचना दिएर पञ्चायती व्यवस्थामा भएको पिस्कर तथा छिन्ताङ्ग गोली काण्डको कलात्मक इतिहासको अभिलेखीकरण गर्नुभएको थियो । 

जीवन शर्माले ‘छोराछोरी पालेँ ताले यही भारिको भरमा, जीवनभरि कहिले पनि सुध्रिएन कर्म । वैशाखको धुपमा पनि सुख पाइन मैले, साउनको बाढी पहिरो भन्न पाइन मैले ।’ सिर्जना गरेर व्यवस्था परिवर्तन भए भरियाको आर्थिक स्थिति सुध्रने उद्घोष गरेका थिए । यो सुनेर भरियाको मन ढक्क फुल्थ्यो ।  व्यवस्था त परिवर्तन भयो तर उहाँहरुले उल्टै परिवर्तनकारी शक्तिहरुले भित्राएको विकृति र विसङ्गतीविरुद्ध खबरदारी जारी राख्नुपर्ने अवस्थाको सिर्जना भयो ।  

(३) (क) ‘जीवन त एकै हो । जीवनको सबै रङ्ग सबै जीवनको एकै हिसाबले चल्छ । सुख दुःख, घाम, छाँया,अनुभूति सबै जीवनको अङ्ग हो । कुनै बेला कुनै बढी होला, कुनै बेला कुनै कमी भएपनि यी अलग हैनन्’ भन्ने भारतीय अर्थशास्त्री–प्राज्ञ–कवि–लेखक–सचेत नागरिक डा.आमिताभ शुक्लले जीवनले भोगेको सुख दुःख अनुभूतिको संग्रहले साहित्य लेख्न प्रेरित गरेको बताउनुहुन्छ । उहाँका केही कविता बलराम तिमल्सिनाले समेत नेपालीमा अनुवाद गर्नुभएको छ । 

३१ जुलाई २०२३ मा साझा गर्नुभएको उहाँको सामाजिक सञ्जालको भित्ताबाट ‘आँसु नर्क हुँदैन’ शीर्षकको कविताले जीवनको अनुभूति दिन्छ । यहाँ अनुवाद पेश गरेको छु :

‘एक दिन हामी सबै यो संसारबाट बिदा हुन्छौँ...
यही कुरा कतिले दोहोर्याए–पटक पटक,
तर फेरि पनि हामी बाँचेकै त छौं,
आफ्नो आफ्नो स्वभाव–प्रकृति अनुसार नै ।

जीवन त हाम्रै हो नि भनेर,
कुनैपनि सत्यता, मानवता, न्यायभन्दा माथि,
राक्षस र मनुष्यको परिभाषा विर्सेर, गर्छौं सबै मनपरी । 

ईश्वर हुनुहुन्छ या हुनुहुन्न यो पनि विर्सेर, सबै संस्कार र शिक्षाहरु विर्सेर,
शारीरिक इन्द्रिय सुखलाई नै सर्वश्व ठानेर,
आफ्नो समय र काललाई गुजारी रहेका छौँ । 

स्वर्ग र नर्कका यही परिभाषाहरु,
हामी आफ्नै संसारमा परिभाषित गरिरहेका हुन्छौँ 
आँशु मात्र नर्क हुँदैन भन्ने नबूझेर,
र सम्पूर्ण हाँसो नै स्वर्ग हुँदैन ।’ 

भारतीय प्रगतीवादी लेखक, वुद्धिजीवी, समाजशास्त्री, प्राज्ञ स्वदेश सिन्हाले एक वर्ष पहिले २ अगष्ट २०२२ मा नै जिन्दगीको बारेमा आफ्नो सामाजिक सञ्जालमा यस्तो कविता साझा गर्नुभएको थियो :

‘जिन्दगी, समुन्द्रको आवाज जस्तै हो
कहिले शान्त, कहिले धैर्यवान, कहिले गम्भीर, कहिले रौद्ररुपको हुरी जस्तै गरी 
नोक्सान पुर्याउने गरी सबै कुरालाई 
जिन्दगीको यो अत्तो–गम्भीर रहस्य, न मैले बुझ्न सकेँ न त तपाईंले नै ।’

(३ ख) साहित्य लेखनमा बेग्लै लेखनशैली पस्केर समाजमा– देशमा पढ्ने पाठकहरुलाई अग्रगमन सोचको विकासमा प्रेरित गर्ने, विभिन्न प्रतिष्ठानहरु, वाचनालयको समेत पदाधिकारी हुनुभएका भारतीय साक्षरता, विज्ञान, पर्यावरण, हिन्दी साहित्यको विकासमा योगदान पुर्याउनुभएको लेखक वुद्धिजीवि प्रयास जोशीले २८ जुलाई २०२३ मा साझा गर्नुभएको उहाँको सामाजिक सञ्जालको भित्ताबाट ‘लोकतन्त्र’ शीर्षकको कविताले हामी दक्षिण एशियामा कस्तो लोकतन्त्रको अनुभूति गर्दै छौँ त ? क्षेत्रीयता, सामाजिक विभेद, लहड, रहरको लोकतन्त्र । मैले अनुवाद पेश गरेको छु :

‘आँखा बन्द गरेर पूँजीपतिहरुले प्राथना गरे
हे, प्रभु ! सबै तिम्रो लीला हो 
र आफ्नो भण्डारमा थुपारेको  
सबै मालसामानको मूल्य दुई गुणा बढाइदिए ...
गुण्डागर्दी गर्ने बदमाशहरुले पनि, हतियारहरुले
रगत पुछ्दै भने–हे, ईश्वर ! तिम्रो इच्छा बेगर 
पात पनि हल्लिँदैन । 

यो सालेको मरण 
यसैगरी हुनेछ भनेर नै लेखेको रहेछ ...
मान्छे सिधासाधा र चिन्तित मान्छे 
आशा र विश्वासको कुन्दा समाएर 
समयलाई तौलाइ रहेको छ 
र समयको सञ्चालन शक्ति हो 
जाति, धर्म, भाषा र क्षेत्रीयताको भावुक 
बाँडफाँडबाट जोख्ने गरिएको छ 
लोकतन्त्र ।’

भारतको झारखण्ड निवासी राना सिंह अंग्रेजी विषयको प्राज्ञ हुनुहुन्छ । साहित्य लेखनमा पनि उहाँ कलम चलाउनु हुन्छ । गाईको नाममा राजनीति गर्ने, आफ्नी आमालाई वृद्धाश्रममा राखेर गौ माताको सेवा गर्ने भन्ने पाखण्डीहरुको पनि धज्जी उडाउँदै ‘गाई र भैंसीको सम्वाद’ शीर्षकमा हालै उहाँले लेखेको कविता सामाजिक सञ्जालको भित्तामा राखेपछि चर्चित भएको थियो । 

सामाजिक सञ्जालको माध्यमबाट राना सिंह भन्नुहुन्छ– ‘डरपोक मान्छेहरु आफ्नो जातिका अपराधीहरुलाई आफ्नो नेता बनाउँछन र यही अपराधी नेताहरु पछि गएर पूँजीवादको निम्नस्तरको दलाल बनेर देखा पर्छन ।’ (२६ जुलाई, २०२३), ‘जो नेता बढी पिछडिएको, दलित, शोषित वर्गको प्रतिनिधित्व गर्दै यिनिहरुको पक्षमा वकालत गर्दै राजनीति गर्छ त्यही नेता सत्तामा साझेदार गर्दै सहभागी हुन पाएपछि उल्टै अझ बढी पूँजीवादको दलाल र समर्थक हुन पुग्दछ ।’ (०२ अगष्ट, २०२३) । 

उपरोक्त सन्दर्भमा २२ जुलाई, २०२३ को आफ्नो सामाजिक सञ्जालको भित्तामा ‘के साँच्चै तपाइँ बोल्नु पनि हुन्छ र ? तपाईंले बोलेको किन कसैले न सुनेको होला । या तपाईं आवाज न निकाली अँधेरामा बोल्नुहुन्छ या कुनै भीडमा लुकेर बोल्ने गर्नुहुन्छ, हैन तपाईंको कुनै आफ्नो संगठन छैन र ?’ भनेर प्रयास जोशीले गरेको पोष्टप्रति सोही मितिमा ‘हैन दाजु । जनता अहिले संगठनविहीन जस्ता भएका छन्’ भनेर डा.अमिताभ शुक्लले गर्नुभएको टिप्पणी निकै अर्थपूर्ण छ ।  

वास्तवमा राजनीतिक दलहरु भएपनि जनताले एक्लो महशुस गरिरहेका छन् । भारतका साहित्य लेखक सुरेश कुमारले ‘चारैतिर समुन्द्र छ एक्लोपनको, यस बस्तीका हरेक बासिन्दा एक्लै छन्’ भनेर उहिल्यै अगष्ट २, २०१३ मा नै सामाजिक सञ्जाल मार्फत् कविताको माध्यमबाट भन्नुभएको थियो ।   

जाति, धर्म, भाषा, क्षेत्रीयता पहिचानको संघीयताले देशको सार्वभौमसत्ताको खण्डीकरण भएको छ । कसैका आई लभ यू, कसैका अरिङ्गाल त कसैका फोर्स, कसैका गेरुवस्त्रधारी सेना पनि छन् । जनता अहिले संगठनविहीन जस्ता देखिएका छन् । तर, जनताको हैन बरु भक्त सेनाहरुको चाहिँ झुण्ड बढेको बढै पो छ स्वार्थको लागि स्तुतिको जोगारार्थ !

भारतका प्राज्ञ, प्रो.प्रगतिवादी वुद्धिजीवी, सचेत नागरिक डा.महेन्द्रप्रताप सिंहले ‘भक्तहरुको भीड़ बढेको छ ! यसको अर्थ व्यवस्था अब सढेको छ !’ भनेर १९ जुलाई, २०२३ को आफ्नो सामाजिक सञ्जालको भित्तामा लेख्नुभएको थियो ।  
बेलायत पुगेर गिब्सन रोडमा साँझपख २०२३ अगष्ट ४ मा ‘आज तन्त्रमा जनता कहाँ छन् ? लोकतन्त्रको नाम मात्र छ त्यही हेर्नुस्’ भनेर जनताविहीन लोकतान्त्रिक राजनीतिप्रति सौन्दर्य शव्दहरुले प्रहार गरेर कविता लेख्दै भारतीय लेखक श्रीभगवान दीक्षितलाई भोलिपल्ट अगष्ट ५ मा सामाजिक सञ्जालमा साझा गर्न मन लागेछ ।

म आफैंपनि कहिलेकाहीँ छक्क पर्छु । हामीलाई थाहा छ हामी संगठनविहीन भक्तहरु भएका छौँ । जेफ प्रेस्तन बेजोस र एलोन रिभ मस्कलाई त नचाहिए पनि हामीसँग एकमात्र बासस्थल पृथ्वी छ । १९६ वटा देश छन, ७०७ टापु छन् । आठ अर्ब जनता छन् । तरपनि, हामी त्यस्ता नेताहरुको भक्तिमा लागेका छौं, जसले सत्ता बाहेक तपाईं हामीलाई भने परेको बखत कुनै वास्ता गर्दैनन् । खै हाम्रो जनसंगठन, खै हाम्रा जननेताहरु !

अहिले भारतमा मानवीय मूल्य र मान्यताको पक्षमा व्यङ्ग्य साहित्य मार्फत् कलम चलाउने प्रसिद्ध लेखक स्व.हरिशंकर परसाईंको जन्म शताव्दी वर्ष मनाईदै छ । उहाँको प्रशंसकमध्ये म पनि एक हुँ । परसाईको जत्तिकै खुलेर विगतमा पारिजात, महानन्द सापकोटा, भिमनीधि तिवारी, केवलपुरे किसानले खबरदारी गर्नुहुन्थ्यो । खै ! अचेल त कुनै दलले कित्ताकाट गरेर अवसरबाट वञ्चित पो होइन्छ कि  भनेर शब्दहरुलाई बर्टादा बर्टादा थिलथिलो पारेर गैर अनुहारित बनाउँदै रचना गर्ने गरिएको होकी जस्तो लाग्छ । 

स्व. परसाई भन्नुहुन्थ्यो : ‘सँधै पत्रिका पल्टाएर हेर्छु । दुईवटा समाचार अगाडि आउँछन्– कुनै नयाँ जादुगर र कुनै नयाँ सन्तले जन्म लियो । तिनीहरुको प्रचारको निम्ति विज्ञापन पनि छापिन्छ । जादुगर आँखामा पट्टी बाँधेर स्कुटर चलाउँछ । 

जादुगरलाई हेर्न ‘गरिबी हटाउ’ भन्ने जनता आँखामा पट्टी बाँधेर कामधाम सबै छाडेर तीन चार घण्टा उभिरहन्छन । यो त सानो जादुगर हो । यो देशमा कैयौँ वर्षदेखि आँखामा पट्टी लाएका ठूला ठूला जादुगर पनि त छन् । 

यी ठूला जादुगरहरुले जनता केही न केही गर्न व्याकुल छन् भन्ने जब देख्छन्, थाहा  पाउँछन् उनीहरु जादु देखाउने तयारी गर्न थाल्छन् । जादु हेर्दै जनता पनि ताली पिट्न शुरु गर्छन् । म सोध्छु–जादुगर साहब, आखाँमा पट्टी बाँधेर राजनीतिक स्कुटर हाँक्दै कता हिँडेको ? कहाँसम्मको गन्तव्य छ ?

जादुगरले भन्छन्– गन्तव्यसँग के को मतलब ? जनता आँखामा पट्टी बाँधेर जादुगरको खेल हेर्न चाहन्छन् । म खेल देखाउँदैछु । आँखामा पट्टी बाँधेका जनतालाई योभन्दा बढी के चाहियो र ?’


(तस्बिर–छविचित्र श्रेय : प्रतिकात्मक छविचित्र अमिताभ शुक्लको सामाजिक सञ्जालबाट ३ अगष्ट २०२३ । भारत ।),  संगीतकार शान्ति ठटाल–चस्मा लगाउनुभएको,गायकद्वय कुमार सुब्बा औ दिलमाया खातिसहितको छविचित्र वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीको १७ साउन, २०८० को निजको सामाजिक सञ्जालको भित्ताबाट) ।

क्रमश...

टिप्पणीहरू