यस्तै त होला सौन्दर्यशास्त्र ! ( भाग-२ )
यस्तै त होला सौन्दर्यशास्त्र ! ( भाग-१ )
(३ ग) अन्याय, उत्पीडनविरुद्ध अग्रगमनका पक्षमा लेख्ने भारतीय साहित्य लेखक सर्वेश्वर दयाल सक्सेना नेपाली साहित्यकारहरुका लागि नयाँ नाम होइन । सत्ता तथा शासकीय राजनीतिप्रति खवरदारी गरिएको उहाँको ‘सम्झी राख्नु’ शीर्षकको कविताको अनुवाद प्रस्तुत गरेको छु :
‘एउटा बच्चाको हत्या, एउटा महिलाको मृत्यु
एउटा मान्छेको गोलीबाट छिया छिया भएको शरीर
कुनै शासनको मात्र हैन, सम्पूर्ण राष्ट्रको नै पतन हो
यसरी रगत बगाएर धरतीमा सँधै सहनुपर्छ भन्ने हुँदैन
आकाशमा फरफराएका झण्डाहरुलाई नै कालो बनाउँछन् ।’
(३ घ) भारतीय साहित्य लेखक स्व.भूपेन्द्र कौशिक ‘फिक्र’ ‘एउटा हाँगाको फूल फूल्दा पर्यावरणको पक्षमा जे जति योगदान हुन्छ कविता लेखेपछि पनि त्यति त हुन्छ नै !’ भनेर साहित्यको सौन्दर्यतामा कविताको योगदानको अनुहारित गर्नुभएको थियो ।
‘लाभ हानीको वृक्षले छायाँ दिन सक्दैन । आश्रय दिन पनि सक्दैन’ भनेर भारतका प्रशिद्ध साहित्य लेखक गजानन माधव मुक्तिबोधले भनेको सन्दर्भमा भारतका अर्का ‘माया मरि न मन मरा’ पुस्तकका लेखक, प्रकाशक, अमित तिवारीको ‘मेरे कितनी चेहरे’ नामको पुस्तकमा प्रकाशित ‘एहसाँस’–महशुस शीर्षकको एक कविताको पनि सम्झना भयो । त्यसको नेपाली अनुवाद प्रस्तुत गरेको छु :
‘के तपाईंले यो महशुस गर्नुभयो ?
कि यी जुन जुन हावा छन्, जुन जुन पानी छन्
वा बोट विरुवा छन्, पशु पंक्षी छन्
तिनीहरुको मूल्य कति होला ?
कुनै विरुवाको नजिक बस्नुस्
हावासँग हल्लिरहेको त्यसलाई नियाल्नुस्
पातहरु माथिबाट सरर चलिरहेको हावालाई अनुभव गर्नुस्
स्पर्शलाई महशुस गर्नुस्
कुनै पशुको नजिक बस्नुस्, केही नबोली चूपचाप
त्यसको आँखामा हेर्नुस्, त्यसको ताजापन र निश्चलतालाई महशुस गर्नुस्
कुनै चरीले उत्रुङ्ग फुत्रुङ्ग गरेको नियाल्नुस्
त्यसको टिकुली ट्याक चीरवीर सुन्नुस्, त्यसको गीतमा रमाउनुस्
आफैँलाई पंक्षीहरुको बीचमा अलप गर्नुस्
यो महशुसले तपाईंलाई तपाईंसम्म पुर्याउनेछ
यति निश्चलता–यति प्रेम–यस्तो मधुर अनुभूति
तपाईंले कहिल्यै कुनै मानिसबाट पाउनुभयो र ?’
माथिको कविता पढेपछि नेपाली कवि नन्दीकेशर दुलालले लेखेको र २०६३ सालमै पुस्तकको आकारमा छापिएको ‘आत्मादर्पण गाथा’ नामक ग्रन्थभित्र भएको पर्यावरणीय महत्व दर्शाइएको चेतनाको भावको स्मरण हुन्छ ।
(४) ‘नेपालमा कानुनले काम गरेको भए हामीले मानेका धेरै नेताहरू जेलमा हुन्थे !’ नेपाली काँग्रेसका सिद्धान्त निष्ठ नेता चन्द्र भण्डारीको यो भनाइले नेपालीहरु कस्ता नेताको भक्तिमा लागेका छन् भन्ने छर्लङ्ग हुन्छ । यसबाट नेपालको राजनीतिक सञ्चालकहरुको पहिचान पनि सर्वाङ्ग हुन्छ । तर, ‘जस जसले मिलेर बाँडीचुँडी खान पल्केका छन् तिनीहरुलाई कहिल्यै पनि पकडिन सकिँदैन’ भनेर भारतका स्व.हरिशंकरले पहिले भनेका कुरा नेपालको समसामयिक राजनीतिमा सान्दर्भिक देखिन्छ ।
इतिहासमा पनि सौन्दर्यशास्त्र हुन्छ । इतिहास जसले जसरी लेखेपनि त्यो कि वाम कि दक्षिण धारबाटै लेखिन्छ । नेपालमा कराडौं खर्चले धानेको चुनावी संसदीय राजनीतिमा काँग्रेसभन्दा अझ बढी उत्ताउलो महान् लोकतन्त्रिक भएका खाम–हामवादी वामहरुले ‘वाम’ शव्दको दुरुपयोग गरेपनि यो शव्द हँसिया हथौडाधारीहरुको मात्र साझा शब्द होइन । अन्याय र अत्याचार पर्दा सहारा लिने शब्द हो–सकारात्मक परिवर्तनको शव्द । चन्द्र भण्डारिका उपरोक्त शब्दहरु वामपन्थी शब्दहरु हुन् ।
श्रमको सम्मान गर्दै सौन्दर्यपूर्ण साहित्य लेखनको माध्यमबाट जति रोचक रुपमा देश, जनता, समाज, राजनीतिबारे लेख्न सकिन्छ त्यति अन्य रुपमा लेख्न सकिन्न । ‘विश्वको सम्पूर्ण ज्ञान, कला, साहित्य, संस्कृति सबै श्रम मेहनतबाट उत्पन्न भएका हुन् । युरोपमा जहिलेदेखि दास र मजदुरहरु रगत पसिना बगाउँदै हाडमासु घोटेर मिहेनत गर्दै व्यापक सम्पदा र अतिरिक्त मूल्य पैदा गर्दै थिए त्यही बेलादेखि त्यसैलाई उपभोग गरेर त्यहाँका संभ्रान्त एवम् अभिजात कुलिनवर्ग अनुपम दर्शन, राजनीति, विज्ञान, गणित र खगोलशास्त्र इत्यादीको सृजना गर्दै थिए’ भनेर बेलायती लेखक, वुद्धिजीवी, विश्लेषक जर्ज थमसनले आफ्नो पुस्तक ‘ह्यूमन एसेन्स–मानवीय सारतत्व’ मा लेखेको कुरा मनन्योग्य छन् ।
‘जुन शरीर श्रम गर्दैन, पसिना बगाउँदैन, सौन्दर्यले त्यस्तो शरीरलाई त्यागी दिन्छ’ भनेर भारतीय साहित्य लेखक लक्ष्मीनारायण मिश्रले सौन्दर्य शास्त्रले पनि श्रमकै खोजी गर्छ भनेर सन्देश दिनुभएको थियो ।
आम आदमी पार्टीका नेता केजरीवालले ‘आफु न वाम न दक्षिणपन्थी बरु अलग्गै राजनीति गरेको’ भनेर विचारहीन कुरा व्यक्त गरेका छन र, विचारहीन झन् खतरनाक कुरा हो । यस सन्दर्भमा म फरवार्ड प्रेसबाट प्रकाशित अभिषेक श्रीवास्तवको ‘आम आदमी के नाम पर’ किताब खोज्दैछु । र्याण्डम हाउस न्यूयोर्कबाट प्रकाशित पूर्व सिआईए पदाधिकारी चूक फारेरको ‘किलिङ्ग चे’ पुस्तक पनि पढन पाए कुन धारबाट सामाजिक र राजनीतिक सत्ताको सौन्दर्यशास्त्र पोखिएको रहेछ बुझ्न सकिन्थ्यो । प्रो.काँचा आइलैया शेपर्डद्वारा लिखित ‘हिन्दुत्वमुक्त भारत की ओर : आदिवासी–दलित–पिछडोँ के सामाजिक–आध्यामिक और वैज्ञानिक क्रान्तिका मन्थन’ पनि पढौं न त भनेर खोज्दै छु ।
संसद–सदनको सौन्दर्य हुन्न र ? भारतका महान कवि मैथिलीशरण गुप्तको पुस्तक ‘जयद्रथ वध’ बारे धेरै नेपालीलाई थाहा नभएपनि अर्जुनलाई मार्न आएका जयद्रथलाई कृष्णले भ्रममा पारेर उल्टै अर्जुनद्वारा उनको वध गराएको कथा धेरैलाई थाहा छ ।
अहिले नेपाली राजनीतिमा नयाँ जयद्रथ देखापरेका छन् । जुन असन्तुष्टि यति बढेको छ कि पुराना नेताहरुले नयाँ जयद्रथको राजनीतिको वध गर्न कुनै भ्रम सिर्जना गरेपनि अब नयाँ जयद्रथ नै विजयी हुने दृष्यहरु देखिइसकेको छ । अझ सदनको हल्ला र गतिरोधले त सदनको मात्र होइन लोकतन्त्रको सौन्दर्य नष्ट भइसकेको छ ।
सदन सरकार र प्रतिपक्ष दुबैको भएकाले दुबै यसप्रति जवाफदेही हुन्छन् । जनताका मुद्दाहरुभन्दा आपसी इष्र्या, कुण्ठा, नाक काट्ने, खुट्टा तान्ने र देशको सार्वभौमसत्ता र दीर्घकालीन असर पुर्याउने विधेयक वा सम्झौतामा भित्री तवरमा आपसी सहमतिबाटै बाहिर देखाउन होहल्ला गरेर पास गर्ने प्रचलनले सदनको सौन्दर्यको नाक काटेर जनतामाझ मुख देखाउन नै नसक्ने अवस्थामा पुगेकाले कुनै दिन यो व्यवस्था स्वयम्ले आत्महत्या गरेमा आश्चर्य नगर्दा हुनेछ । पुराना अर्जुनहरुमा बृहत सुधार आएछ भने त्यतिबेला नै बधाई औ शुभकामना दिने गरी हाललाई नयाँ जयद्रथहरुलाई अग्रिम बधाई र शुभकामना !
यसपाली प्रेम चन्दलाई सम्झँदै ढोलक बजाउँदै कथा वाचन गरेर चर्चामा आउनु भएका भारतका अधिकारकर्मी, वुद्धिजीवि, साहित्य लेखक राजाराम चौधरीको २ अगष्ट, २०२३ को सामाजिक सञ्जालमा व्यक्त– ‘जनता त अहिले मौन बसेर तपाईंहरुको नाटक हेर्दैछन् । तपार्इंहरुको भित्र मनमा बसेका जनतबाट डराएर अहिले तपाईंहरु आपसमै तँ चोर म चोर गर्दै टकराई रहनुभएको छ’ भन्ने सान्दर्भिक भनाईलाई पनि सम्झन्छु ।
भारतीय साहित्य लेखक नरेश सक्सेना वर्तमान सामाजिक एवम् शासकीय राजनीति व्यवहार बुझेर हो की यस्तो लेख्नु हुन्छ, ‘भर्याङ्ग चढ्दै जाँदा, जसले उत्रिन बिर्सन्छ, उ कहिले पनि घर फर्कंदैन ।’ र, हाम्रा करोडौं खर्चको चुनावी नौटङ्कीमा निर्लिप्त संसदीय नेताहरुले आफ्नो धरातल बिर्सिसकेका छन् सुन कै सिँढी चढेर !
‘साहित्य मानिएका रचनाहरु सबै प्रगतिशील हुन्छन्’ भन्ने नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा समाजवादी चिन्तक वीपी कोइरालाको भनाईसहित भारतीय साहित्यमा आलोचकको रुपमा चर्चित पङ्कज चतुर्वेदीले ५ अगष्ट २०२३ को सामाजिक सञ्जालको भित्तामा जिगर मुरादावादीको कविताको एक पंक्ति ‘मेरा पैगाम मुहब्बत है जहाँ तक पहुँचे’ शीर्षकमा साझा गर्नुभएको निम्न विचार पनि प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु :
‘(क) भारतका समाजवादी, शिक्षाविद, लेखक आचार्य नरेन्द्र देवको एउटा भनाई छ, ‘संस्कृति चित्त भूमिको खेती हो ।’ मौजूदा वर्चश्वशाली राजनीतिक धारलाई हेर्दा दुर्भाग्यवशः यो राजनीति घृणा र उन्मत्त–बहुलठ्ठीपनको खेती हो ।
(ख) लेखकको पनि राजनीति निश्चय नै हुन्छ तर, प्रमुख राजनीतिक पार्टीहरुको जस्तो कुनै किसिमले सत्तामा पुगेर देशलाई लुछ्ने चिर्थोने खालको सत्तामुखी हुँदैन । अब ठूला दलमा रहनु या प्रवेश गर्नु सम्मान तथा गर्व सम्भावना भएपछि मान्छेहरु दलमा लाग्ने नै भए । यसैकारण साहित्यिक लेखक रघुवीर सहायले धेरै पहिले ‘जति ठूलो दल हुन्छ उति नै देशलाई बढी खान्छ’ भनेर सचेत गराउनुभएको थियो ।
(ग) साहित्य राजनीतिबाट रिक्त हुन सक्दैन न त त्यस्तो इच्छा पनि गर्न सकिँदैन । बरु साहित्यले आफ्नै तरिकाले संवेदनात्मक र विचारशील तवरले राजनीतिक हुनुपर्छ भनेर आग्रह गर्नुपर्छ । यसकारण जसरी रचना गरिएको छ त्यसैगरी सङ्गतपूर्ण एवम् सान्दर्भिक तरिकाले त्यसप्रति बहस गर्न सकिन्छ ।
(घ) लेखकको राजनीतिको लक्ष्य भनेको सौन्दर्यको स्थापना गर्नु हो । जसको मूल आधार प्रेम र न्याय सम्बद्ध नै हुन्छ । जिगर मुरादावादीले अहिलेको जस्तोे राजनीतिको रुपमा देखिएको ‘घृणाको खेतीबाट दिक्क भएर लेख्नुभएको होला, ‘मेरो सन्देश त प्रेम हो जहाँसम्म पुगोस् ।’
टिप्पणीहरू