राजस्वको आनाकानीपछि अडुकियाका छोरा अध्यागमनको हिरासतमा
‘मुख्य सुन तस्कर’ भनिएका राकेश अडुकियाका छोरा रोहनले गएको रात डिल्लीबजार कालिकास्थानस्थित अध्यागमन बिभागको हिरासतमा बिताएका छन् । नयाँ दिल्लीबाट काठमाडौं आउने क्रममा उनलाई हिजो दिउँसो अध्यागमनकै सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उनलाई हस्तान्तरण गर्न राजस्व अनुसन्धान विभाग,हरिहर भवन पुर्याइयो । सिआइबीलाई मुध्दा बुझाइसकेको हुँदा लामो छलफलपछि पनि विभागले बुझ्न नमानेकाले साँझ परेपछि अध्यागमनको हिरासत कक्षमा लगिएको बताइन्छ ।
‘राजस्वले बुझ्न मानेन । ढिलो भएकाले दिउँसो पक्राउ परेका रोहनलाई अध्यागमनको हिरासत कक्षमा राखिएको छ । आज सिआइबीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ,’अध्यागमन स्रोतले भन्यो ।
रोहन आकस्मिक रुपमा काठमाडौं नआएको प्रहरीको प्रारम्भिक बुझाइ छ । उनी बाउसँगको सल्लाहमा परीक्षण र योजनाबध्द रुपमा नेपाल आएको संकेत फेला परेको बताइन्छ ।
अडुकियासँगका कतिपय कारोबारमा संलग्न भएकालाई उल्लेख गर्दै स्रोत भन्छ,‘दुवैजना भागेर हिँड्दा यताको कारोबार डुब्ने र ठप्प हुने अवस्था बन्यो । अरबौंको कारोबार भएकाले त्यो सम्हाल्न पनि उनले पहिले छोरालाई काठमाडौं पठाएका हुन् ।’
सुन काण्डमा राकेशको संलग्नता देखिएपछि त्यसको असर अप्रत्यक्ष रुपमा मुलुकको पुँजी बजारमा समेत पर्ने देखिएको छ । सेयर बजारमा अडुकियाको ठूलो लगानी छ । उनको आगामी कारोबारले पुँजी बजारमा पुनः पहिरो जाने सम्भावना बढाइदिएको छ । यसले सेयर बजारमा भाउ झन् घट्ने अवस्था देखिन्छ ।
राकेशको राहदानी हङकङस्थित भारतीय महावाणिज्य दूतावासबाट जारी भएको हो भने छोरोको लण्डनस्थित भारतीय दूतावासमा बनाइएको देखिन आएको छ । यसबीच नेपालमा खर्बौंको व्यापार व्यवसाय सञ्चालन गर्दै आएका राकेश अडुकियाको परिवारका चार जनालाई पक्रेर प्रहरीलाई बुझाउन गृह मन्त्रालयले अध्यागमनलाई लिखित आदेश दिएको छ । अडुकिया परिवारको विदेश आउजाउ र उठबसका गतिविधि सशस्त्र प्रहरी बलको सूचनाको आधारमा गृहमन्त्रीलाई जानकारी गराएपछि उक्त आदेश भएको हो ।
टिप्पणीहरू