तस्करीको सुन टक्सारमा तौल हुँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद एक क्विन्टल सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा तौल गर्न थालिएको छ ।
सीआईबी, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा अहिले सुन जोख्ने काम भैरहेको छ । पहिले सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया शुरु हुने टक्सार कार्यालयले जनाएको छ ।
हङकङबाट ब्रेक सूमा लुकाएर नेपाल भित्र्याइएको सुन राजश्वको टोलीले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक शुसहित १५५ किलो तौल रहेको उक्त सुनको कार्टुन राष्ट्र बैंकमा राखिएको थियो । एक क्विन्टल भनिएपनि पगालेपछि मात्रै सुनको यकिन परिमाण थाहा हुनेछ ।
सुन तस्करी प्रकरणको प्रारम्भिक अनुसन्धान गरेर राजश्वले थप छानविनको जम्मा सीआईबीलाई लगाएको थियो । संगठित अपराध र राजश्व छली कसुरमा अनुसन्धान गरिरहेको सीआइबीको अनुरोधमा आज सुन तौलिन थालिएको हो ।
टिप्पणीहरू