हजका लागि कोटा निर्धारण, आवेदन दिन आह्वान
नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवेदन आह्वान गरेको छ । सन् २०२४ मा हज यात्राका लागि साउदी अरेबियाको मक्का मदिना जान चाहनेहरुसँग आवेदन माग गरिएको हो ।
आज सूचना जारी गर्दै समितिले सन् २०२४ का लागि नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीहरुले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको जनाएको छ । आजबाट आगामी असोज ३० गतेसम्म आवेदन दिन सकिने समितिले जानकारी दिएको छ ।
उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरुले नेपाल हज समितिको सचिवालयको बेभसाइटमा रहेको हज आवेदन डाउनलोड गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
आवेदन दिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको एक प्रति फोटोकपी, राहदानीको फोटोकपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (सेतो ब्याकग्राउण्ड भएको), कोरोनाविरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र, आवेदकको बैंक खाताको चेकको फोटोकपी पेश गर्नुपर्ने समितिले जनाएको छ ।
त्यस्तै, हज शुल्कबापत पहिलो किस्तामा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको नेपाल हज समितिको चल्ती खातामा एक लाख ५० हजार रुपैयाँ बुझाएको सक्कल भौचर पनि आवेदनसँगै बुझाउनुपर्नेछ । साथै, थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय, सिहंदरबारमा सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ ।
टिप्पणीहरू