केटीले ठगेर हरितन्नम बनाएको कथा
शुरुमा आफ्नो ‘मजबुरी’ देखाउने, अनि औँलो दिँदै गएपछि डुडुल्नो नै निल्ने नयाँ प्रकृतिका ठगीधन्दा ‘भाइरस’को रूपमा विकसित हुँदै छ ।
नेपाली समाजले पुरुषलाई जबर्जस्त पीडककै रूपमा र महिलालाई पीडितकै रूपमा उभ्याएको छ । यही प्रतिविम्व हुन्, हेटौंडाका चन्द्रबहादुर गलान । युवतीको दुःखमा मलम लगाउन खोज्दा अहिले उनी ठगिएका छन् । एक युवतीबाट आफू ठगीमा परेको जाहेरी लिएर प्रशासन, प्रहरी कार्यालयदेखि अदालतसम्म उपस्थित भइसके । कोठा कोठा चहार्दै आफ्नो पीडा सुनाए तर उनको पीडा सुनेर प्रहरी र अदालतका कर्मचारी उल्टै हाँसिदिए । के महिलामाथि हुने हिंसाचाहिँ हिंसा, पुरुषले भोग्नेचाहिँ हिंसा होइन ?
खासै पढाइ लेखाइ नभएका गलान वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका थिए ०६५ सालमा । यसयताका १५ वर्ष खाडी मुलुकमा श्रम बेचे । बीचमा घर आउने–जाने क्रम चलिरह्यो । विदेशमा श्रम बेचेरै २ छोरीको विवाह गराए । २ छोराको शिक्षादीक्षा टर्यो। जेठो छोरो १९ वर्ष र कान्छो ११ को भयो । ४ वर्षअगाडि अर्थात् ०७६ सालको कुरा हो, दिनभरको कामको थकान मेट्दै थिए, बेलुका, सामाजिक सञ्जालमा देखिइन् सारु मगर गुरुङ, भर्खरको केटी २२÷२३ उमेरको । रिक्वेस्ट आएपछि प्रोफाइलमा छिरे चन्द्र ।
चिनजान थिएन, पाँच मीनेट नबित्दै मित्रता स्वीकार गरे । हाइ हेल्लो शुरु भयो । कार्यालय समय सकिएपछि हरेक दिन सामाजिक सञ्जालमा भलाकुसारी गर्न थाले । र, यो दुखद कथाको शुरुवात पनि त्यहीँबाट भयो । कुनै नाता÷सम्बन्ध थिएन तर हरदिन कुराकानी चल्दै गयो । दिन, साता महिना बित्दै गयो । एक दिन यो संसारमा आफ्नो बुवा÷आमा कोही नभएको र खान लाउन दुःख भएको पीडा पोखिन् सारुले । कोमल मनका उनको कमजोरी थियो कसैको दुःख हेर्न र देख्न नसक्ने ।
अरुको दुःख, पीडा र दर्दलाई पनि आफ्नै झैँ ठान्ने । आफ्नो सानो वचन र सहयोगले कसैको जिन्दगीको नक्सा फेरिन्छ र जिन्दगी नै कायापलट हुन्छ भने ‘सहयोग गरौँ न त’ भन्ने भावका । तलब आउनुपूर्व नै साथीहरूसँग खोजखाज र सापटी मागेर पठाइदिए ३५ हजार । जम्मा ४० हजार तलब खाने चन्द्रले साथीभाइसँग मागेर पैसा पठाइदिएका थिए ।
तलबबाट केही अंश श्रीमतीलाई पठाउँथे, केही सारुलाई पठाउन थाले । सामाजिक सञ्जालमा नजिकिँदै जाँदा चन्द्रको मासिक तलब आउने तारिख पुगेपछि सारुले सोध्न थालेकी थिइन्– तलब आएन ? यस्तो रीत चल्यो दुई वर्षसम्म । आजभन्दा भोलि, भोलिभन्दा पर्सि । उनीसँग एक पल कुरा गर्न नपाउँदा नियास्रिन थाले । नजिकिँदै जाँदा केही चाहना र फरमाइस आउन थाल्यो । हरेक ‘फर्माइस’ पूरा गराउँदै गए । सारुको ‘एकै प्लिज’का अगाडि गलान गलिहाल्थे । ‘ओके’ भनिहाल्थे । सारुले आफूलाई पैसाको अभाव भएको सुनाउनेबित्तिकै खाडीको ५५ डिग्रीको तापक्रममा पसिना चुहाएर कमाएको रकम पठाउँथे । २ वर्षपछि कुरा फेरियो । ‘मलाई यतिबिघ्न माया गर्ने यो संसारमा कोही छैन, विवाह गरे तपाइसँग गर्छु, नत्र झुण्डेर मर्छु’ भनी घुर्की लाउन थालिन् । सामाजिक सञ्जालबाटै श्रीमती बन्न राजी भइन् ।
हुँदैन भनौँ २ वर्षको अवधिमा पठाएको साढे तीन लाख रकम डुब्ला भन्ने डर, हुन्छ भनौं नाति नातिनाको हजुरबुबा, घरमा श्रीमती ! स्वदेश फर्किएपछि धार्मिक परम्पराअनुसार विधिवत् रूपमा विवाह गरेर श्रीमती बनाउने राजी भए गलान । श्रीमती नै हुने भएपछि लगानी नगर्ने कुरा पनि भएन । खाडीको रकम उनको खातामा हाल्दै गए ।
दुई वर्षअगाडि नै फर्कन खोजेका थिए तर सारुकै आग्रहमा थप दुई वर्ष अड्किए र यो अवधिमा पटक–पटक गरी ७ लाख २८ हजारभन्दा बढी रकम पठाए । स्लिप उनीसँगै सुरक्षित छ । जिस्कँदा जिस्कँदै सारु नग्न बनिदिन्थिन् । उनी स्खलित हुन्थे । एउटा बयस्क युवतीको मोहनीमा यसरी फस्दै गए कि अहिले त्यहाँबाट निस्कन नसकेर निस्सासिने अवस्थामा पुगेका छन् । शुरुमा मेरो कोही छैन । म गरिब हुँ भन्ने सारुको कुरा फेरि बदलियो । जब उनले सारुको नागरिकता मागे, त्यहाँ केटाको थर जोडिएको देखेपछि चिसो लागेर सोध्दा जवाफ आयो १२ वर्षअगाडि नै विवाह भइसकेको तर श्रीमान् साथमा नभएको ।
१५ वर्षसम्म खाडी मुलुकमा श्रम पसिना बगाएका चन्द्र स्वदेशमै जीवन बिताउने योजनासहित जेठको मध्यमा काठमाडौं उत्रिए । स्वदेश फर्किएपछि सारुले बोक्ने गरेको मोबाइलमा डायल गरे, डेंगु लागेर उपचार गराइरहेको जवाफ पाए । कहाँ हो त्यहीँ आउँछु भन्न नपाउँदै काटिएको फोन अहिलेसम्म उठेको छैन । जतिखेर डायल गर्दा पनि एउटै कर्कश आवाज सुन्न थाले, ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।
एक दिन, दुई दिन हुँदै हप्ता, दुई साता बित्यो । स्वदेश फर्किएको आधा महिना बित्दा पनि केही भेउ पाएनन् । सामाजिक सञ्जालबाट सम्पर्क प्रयास गरे, भिडियो कल गरे । पहिला रि¨ जानेबित्तिकै उठ्थ्यो फोन, अब उठ्न छाड्यो । बल्ल मनमा चिसोे पस्यो । छाँगाबाट खसेझैँ भए । यसरी आफू ठगिएको कुरा श्रीमतीलाई बताए ।
जुन श्रीमतीमाथि गलान सौता हाल्न तयार थिए, उनैले सारुको ठगीविरुद्ध कानुनी लडाई लड्न आग्रह गरिन् । र, जाहेरी बोकेर प्रहरीमा पुगिन् ।
प्रहरी भन्छ, यो हाम्रो क्षेत्राधिकार होइन । प्रहरीकोमा उजुरी नै दर्ज हुँदैन । उनीहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरका चोटाकोठा धाए । भेटिएका सिपाहीदेखि डिएसपीसम्मलाई नमस्कार टक्र्याए तर प्रहरीको मुखबाट एउटै कुरा आयो– यो हाम्रो कार्यक्षेत्र पर्दैन ।
यस्तो उजुरी हामीले लिन मिल्दैन भन्दै अदालतलाई देखाएर प्रहरी उम्किन खोज्यो । उनी न्याय पाइने आशमा अदालत गए । अदालत प्रहरीलाई देखाएर उम्कयो । यसरी न्यायको खोजीमा भौँतारिएका उनी घरी अदालत, घरी प्रहरीतिर धाइरहेका छन् । जसरी बिरालाले मुसालाई खेलाउँछ उसैगरी उनलाई न्यायालय र सुरक्षा निकायले खेलाइरहेको छ । शुरुमा आफ्नो ‘मजबुरी’ देखाउने, अनि औँलो दिँदै गएपछि डुडुलो नै निल्ने नयाँ प्रकृतिको ठगी धन्दामा परेका गलान उजुर बाजुर गर्छन् तर सरकारी निकाय सुन्नै मान्दैन ।
उल्टै हाँसोको पात्र बनाएर उडाइएको छ । विक्षिप्त बनेर कहिले अदालतको गेट त कहिले प्रहरीको दैलो धाउँछन् हातमा सारुलाई पैसा पठाएको प्रमाण बोकेर । यसरी विदेशमा श्रम–पसिना बेचेर आर्जिएको रकम एउटा युवतीले खाइदिएको उजुरी बोकेर कानुनी उपचारको बाटोमा लागेका उनको उजुरी न प्रहरीले लिइरहेको छ न त अदालतले । एकातिर युवतीबाट लाखौँ ठगी, अर्काेतिर राज्यका निकायबाटै सहयोग नहुँदा अचेल न रातमा निद्रा पर्छ, न दिनमा भोक नै !
सारुबाट चन्द्रझैं ठगिएका अरु पुरुष कति होलान् ? प्रेमको नाटक गरेर, मजबुरी देखाएर ठगीलाई व्यवसाय बनाउनेहरूको संख्या कति होला ? हाम्रो समाजमा जबर्जस्ती स्थापित भाष्य, ‘केटा बदमास, फटाहा, ठग !’ तर, अब भाष्य बदलियो, केटीमा त्यो कुरा लागू हुन थालेको हो ? केटा ठगेर केटीले आफ्नो घरबार नै बसाउने र चलाउने दिन आएको हो ? चन्द्रको प्रश्न छ, ‘महिलाका लागि तत्काल आकर्षित हुने कानुन पुरुषका लागि किन हुँदैन ? सहमतिमा यौन सम्बन्ध राखेको भए पनि महिलाले आरोप लगाएको २४ घण्टा बित्न नपाउँदै पुरुष ‘बलात्कारी’ हुन्छ । महिलाबाट साँच्चै पीडित पुरुषले चाहिँ रीतपूर्वक जाहेरी दिँदा पनि हाँस्यको पात्र मात्रै बन्नुपर्ने हो ? यो कस्तो न्याय ? कस्तो कानुनी संरचना ?’
टिप्पणीहरू