विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका कार्यमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । मुलुक र जनताको हित र विकास निर्माणका काममा सबै पक्ष इमान्दार भएर एकजुट हुन जरूरी रहेको बताउँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विकास र संमृद्धिको सवालमा राजनीतिक दलहरु विभाजित हुन नहुनेमा जोड दिनुभयो । सरकारले आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो लागायको प्रयोगमा प्रोत्साहन गर्नेगरी नीति र कार्ययोजना बनाइरहेको पनि उहाँले त्यस अवसरमा जानकारी गराउनुभयो । 

त्यस्तै, बढी विद्युत खपत गर्ने उद्योग, कलकारखाना स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूबीच आपसी समन्वय हुनुपर्नेमा पनि प्रधानमन्त्रीको विशेष जोड रहेको छ ।

स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुवारे जानकारी दिँदै उहाँले नेपालमा जलस्रोतको प्रचुर सम्भावना रहेपनि त्यसको सही सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पार्नु भयो । खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । 

नेपालमा नदीप्रवाही जलविद्युत आयोजनाहरूको बाहुल्यताले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्नसक्ने बृहत अवसर रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले यस कार्यमा समेत आफूलाई तयारी अवस्थामा राख्नुपर्ने प्रधानमन्त्रीको सुझाव छ ।

आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ? भन्ने गम्भीर प्रश्न अघि सार्दै उहाँले अहिलेको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगरी सबै इमानदार भएर लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो ।


 

टिप्पणीहरू