सेनापति बन्नलाई सुई

सेनापति बन्नलाई सुई

अबको सैनिक नेतृत्वमा को ? वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिन बाँकी नै छ । तर, सेनाभित्र नयाँ नेतृत्वको हिसाब निकाल्न थालिसकिएको छ ।

देशले पाउने नयाँ प्रधानसेनापतिको अनुहार आगामी कात्तिक १२ गतेसम्म जागिर बाँकी रहेका ३ तारे जर्नेल सरोजप्रताप राणाको म्याद थपिन्छ कि थपिँदैन भन्ने कुराले निर्धारण गर्दैछ । नागरिकता काण्डदेखि फास्टट्रयाकमा घोटालासम्मका बात बोकेर जागिर खाइरहेका उनको म्याद केही महिनालाई थपियो भने प्रतिस्पर्धीका रुपमा हेरिएका अपरेशन चिफ ताराध्वज पाण्डे मंसिर २३ गते उमेर हदका कारण घर जान्छन् । त्यसपछि निर्विकल्प रुपमा अशोक सिग्देलको बाटो खुल्छ । यदि, सरोजप्रतापको म्याद थपिएन भने चाहिँ ताराध्वजको स्थिति बलियो रहन्छ । भनिन्छ, स्वयं प्रधानसेनापति प्रभुराम अशोक सिग्देललाई आगामी उकास्ने पक्षमा छन् ।

सेनामा म्याद थप हुँदा र नहुँदा केसम्म हुनसक्छ भन्नका लागि इतिहास हेरौं । जतिबेला हेमन्त कुँवर प्रधानसेनापतिको लाइनमा थिए, त्यही बेला राजेन्द्र क्षत्रीले पूर्णचन्द्र थापाको म्याद थप गरिदिए । र, हेमन्त कुँवर बीचैमा घर गए । गौरवसमशेर राणासँग सिँगौरी नखेलेको भए नेपालभूषण चन्दको म्याद ७ महिना थपिन सक्यो । तर, म्याद नथपिएका कारण राजेन्द्र क्षेत्रीले त्यो मौका पाए ।  

बालानन्द शर्माको पनि लेफ्निेन्ट जर्नेलमा म्याद थपिएको थियो तर दुई तारे जर्नेल अनन्त कार्कीको म्याद नथपिँदा उनी घर गए । शरद गिरीलाई तीन तारे बनाउन बिनोज बस्न्यात र शेखर बस्नेतको म्याद थपिएन । व्यक्तिलाई हेरेर कस्ता–कस्ता निर्णय हुन्छन् भन्ने कुरा बुझ्नका लागि विगतमा म्याद थप्ने र नथप्ने नाममा चलेको सैनिक राजनीति हेरे पुग्छ । अनुज बस्नेत, प्रल्हाद थापा, देव सुवेदीको पनि म्याद थप नभएको इतिहास छ । प्रभुराम स्वयं पनि म्याद थपिँदै प्रधानसेनापति बनेका हुन् ।

प्रभुराम शर्मापछिका प्रधानसेनापतिको बाटो खुला भएपछि मधुकरजंग कार्की र अनुपजंग थापाबीच प्रतिस्पर्धा हुनेछ । अहिले मधुकर केन्यामा एनडिसी कोर्ष गर्न छनोट भएका छन् । बीचमा अनुपको तलमाथि भयो भने मधुकरले प्रधानसेनापति भ्याउँछन् । नत्र, यी दुईमध्ये अन्तिम अवस्थामा जसको बोली, छली बिक्छ ।  उही प्रधानसेनापति हुने बताइन्छ । अर्कातिर, नेपाली सेनाका निम्ति चीनले दिँदै आएको एनडिसी कोर्षको चार वटा आएको छ । 

उता, पुराना बाहिनीपतिका बदमासी उधिन्दै बितण्डा मच्चाउने एउटा फाइल जंगी अड्डाले बन्द गरिदिएको छ । जर्नेल सोभेन्द्र महतले शुरु गरेको यस्तै वितण्डा रोकिएको हो । जुम्लास्थित २४ बाहिनीमा उनीअघिका हाकिम रामचन्द्र खत्रीको कार्यकालमा भएको आर्थिक मामिलालाई लिएर उनले लेखा हेर्ने क्याप्टेन सुदीप श्रेष्ठलगायतलाई कारवाहीमा तानेका थिए । 

 

टिप्पणीहरू