चीन भ्रमणमा कर्णालीका सडकलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

चीन भ्रमणमा कर्णालीका सडकलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी चीन भ्रमणमा चीनको सीमादेखि कर्णालीलाई जोड्ने विभिन्न सडकलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

उहाँले कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोरलगायत सडकलाई प्राथमिकतामा राखेर चीन भ्रमण गर्न लागेको उल्लेख गर्नुभएको छ ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले हिल्सा–सुर्खेत सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । 

जनयुद्धको नेतृत्व कर्णालीमै बसेर गरेको आफूलाई ताजा स्मरण भएको बताउँदै उल्लेख गर्नुभयो, ‘कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशको समुन्नत विकास नगरी देशको समृद्धि हुँदैन ।’

प्रधानमन्त्री दाहाल आजै बिहान काठमाडौंबाट सुर्खेत पुग्नुभएको हो । उहाँ १४ सदस्यीय टोलीका साथ बिहान पौने १० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट प्रस्थान गर्नुभएको थियो ।

टोलीमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, सशस्त्र प्रहरी निरीक्षक मनोज थापा, पूर्वमन्त्री प्रेमबहादुर सिंह, सांसद छिरिङ लामा छन् । त्यसैगरी प्रधानमन्त्रीको निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी पनि छन् । 

जसमा छोरी तथा निजी सचिव गंगा दाहाल, रमेश मल्ल, अर्जुन भण्डारी, ज्ञानु खड्का, निरज भण्डारी, सिद्धराज न्यौपाने, निरञ्जन धामी, कुमार श्रेष्ठ, कृष्ण खत्री, प्रदीपराज वन्त र नवराज दाहाल छन् ।
 

टिप्पणीहरू