हाम्रै देशमा सारा मन्त्री हैरान

हाम्रै देशमा सारा मन्त्री हैरान
सुन्नुहोस्

अतिथिलाई आमन्त्रण गरेर मुली घण्टौंसम्म बेपत्ता ! परिणामतः मुख्यसचिवसँग मन्त्री यसरी पड्किए कि एकछिन त हलमा सन्नाटा नै छायो तर बैकुण्ठ अर्यालले हाँसेर टारिदिएपछि वातावरण अलि सहज भयो । 

प्रसंग हो गत बिहीवारको । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्न बिहान ११ बजे सबै मन्त्री, सचिवलाई प्रधानमन्त्री कार्यालयको कोठा नं ४१३ मा आमन्त्रण गरेको थियो । 

हलमा पर्यटनमन्त्री सुदन किराँतीबाहेक सबै उपस्थित थिए । पौने १२ हुँदासमेत प्रधानमन्त्री, मुख्यसचिव कोही आएनन् । प्रधानमन्त्री कार्यालयका प्रशासन, नतिजा व्यवस्थापन, राष्ट्रिय सुरक्षा तथा सुशासन हेर्ने सचिव तथा उक्त कार्यक्रमका संयोजक गणेश पाण्डे कहिले हलभित्र त कहिले बाहिर गरिरहेका थिए । ४५ मीनेट ढिला गरी मुख्यसचिव बैकुण्ठ अर्याल हलमा उक्लिए । जसै कुर्सी तानेर सिटमा बस्न खोज्दै थिए सँगै बसेका रक्षामन्त्री पूर्णबहादुर खड्का पड्किए ‘के चाला हो यो ? हामीलाई ११ बजे नै बोलाएर तपार्इं (आयोजक) नै बेपत्ता हुने, पौने घण्टा कुराएर बल्ल आउने ?’ 

अर्यालले केही जबाफ फर्काएनन्, हाँसे मात्रै । त्यसपछि प्रवेश गरे ऊर्जामन्त्री शक्ति बस्नेत । खड्काले उसैगरी व्यंग्य हाने तर उनले वास्तै नगरी अरू मन्त्रीहरूसँग गफ मार्न थाले । 

निर्धारित समयभन्दा एक घण्टा ३० मीनेट ढिला गरी बल्ल प्रधानमन्त्री हलमा प्रवेश गरे । कार्यक्रम संयोजक रोष्ट्रममा गए र भूमिका कसे । भने, अव म सरकारको वार्षिक नीति र कार्यक्रमको समीक्षा प्रस्तुति गर्न अनुरोध गर्दछु । ‘ए प्रस्तुति गर्ने पालो त मेरै रहेछ’ पाण्डेले यसो भन्दा हलमा हाँसोको फोहोरा चल्यो, । पाण्डेको पावर प्वाइन्ट प्रेजेन्टेसनमा केही विषयबाहेक अधिकांश उपलब्धि नकारात्मक रहेको देखिन्थ्यो । 

त्यसपछि शुरु भयो मन्त्री र प्रधानमन्त्रीबीच कार्यसम्पादन सम्झौता । सहयोगीहरूले सवै मन्त्रीलाई एक एक वटा फाइल दिए । धेरै मन्त्री नयाँ थिए, कार्यसम्पादन सम्झौताबारे अक्क न बक्क । विशेष गरी उद्योग, सामान्य प्रशासन, खेलकुद मन्त्रीहरूलाई सोही मन्त्रालयका सचिवहरूले सम्झाइरहेका देखिन्थे । केही मन्त्रीले हस्ताक्षर धस्काउँदै गर्दा धेरैचाहिँ औंलामा थुक लगाउँदै पाना पल्टाउँदै गरेका देखिन्थे । 

टिप्पणीहरू