व्यस्त सडकमा चौपायाको बिगबिगी

व्यस्त सडकमा चौपायाको बिगबिगी
सुन्नुहोस्

-नमस्कार शाह

एक साताअघि भारतको उत्तर प्रदेश राज्यको श्रावस्ती जिल्लाको इकौनामा गाईसँग कार ठोक्किँदा नेपालगञ्जका एकै परिवारका चार जनासहित छ जनाले अकालमा ज्यान गुगाए । उक्त घटनाले नेपालगञ्जलाई शोकमा डुबायो । 

छाडा पशु चौपायाको राम्रो व्यवस्थापन नभएकाले एकै परिवारका धेरै जनाले अकालम ज्यान गमाउनु पर्दैन थियो । पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बनेको छ । विशेषगरी सहरी क्षेत्र त्यसमा पनि तराइमा छाडा पशु चौपाया व्यवस्थापन चुनौती बनेको छ ।

बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज उप–महानगरपालिका भित्रका विभिन्न समस्यामध्ये सडकमा छाडिएको पशु चौपायाको व्यवस्थापन हो । यसको दिर्घकालीन व्यवस्थापन हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । जथाभावी रुपमा छाडा पशु चौपाया सडकमा छोड्नाले एकातिर सडक दुर्घटना निम्तिने गरेको छ भने अर्काेतर्फ नगरको शौन्दर्य नै बिग्रिएको छ । 

घरबाट सडकमा छाडिएका पशु चौपायाले सवारी दुर्घटना बढाएको जिल्ला ट्राफिक कार्यालय बाँकेको भनाई छ । किसानले घरमा व्यवस्थापन नगरी लखेटिएका चौपाया सडकमा आउने र त्यसले सवारी दुर्घटना हुने गरेको घटनाले पनि पुष्टि गर्न थालेको छ । पछिल्लो समय स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा समस्या उत्पन्न भएको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष ०७९/०८० मा जिल्लामा छाडा पशु चौपायाका कारण एक दर्जन सवारी दुर्घटना भएको थियो । त्यस्तो दुर्घटनामा गत वर्ष १० वटा चौपायाको मृत्यु भएको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेसँग छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार गतवर्ष पशु चौपायासँग सवारी ठोक्किँदा छ जना दुई पशु चौपाया घाइते भएका थिए । विशेषगरी रातको समयमा यस्तो दुर्घटना बढी हुने गरेको पाइएको छ ।

बाँकेमा हुने गरेका दुर्घटनामध्ये नेपालगञ्ज क्षेत्रमा बढी देखिन्छन् । लामो समयदेखि छाडा पशु चौपायाको व्यवस्थापनमा लागेको नेपालगञ्ज उप–महानगरपालिका पछिल्लो समय यो विषयमा मौन देखिएको छ । केही वर्ष पहिले उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरेर आवश्यक समन्वय र सहकार्यमा अभियाननै चलाएको थियो । 

त्यतिबेला छाडा पशु चौपायाको व्यवस्थापनका लागि कान्जी हाउसको व्यवस्था गरेको थियो । त्यसपछि ठूलो संख्यामा छाडा गाईलाई बाहिर पठाएको थियो । चौपाया व्यवस्थापनका लागि पटक पटक प्रयास गरेपनि हाल उप–महानगरपालिका क्षेत्रमा उक्त समस्या झन् बढेको छ । बजार क्षेत्रको मूल सडकमा जथाभावी रुपमा साँढे, गाई, खच्चड, भुस्याहा कुकुर पाइन्छन् ।
 
जथाभावी रुपमा छाडिएका चौपायामध्ये घोडा, खच्चड र अन्य पशुको व्यवस्थापन कान्जी हाउसमा हुने गरे पनि गाई व्यवस्थापनमा भने स्थानीय सरकार मौन बसेको स्थानीयको गुनासो छ । जथाभावी गाईवस्तुलाई सडकमा छाड्ने पशुुधनीहरुलाई उप–महानगरपालिकाले कुनै पनि किसिमको कार्बाही गर्न नसक्दा पनि लापरबाही भएको धेरैको बुझाई छ । 

समस्या समाधानको निम्ति सम्बन्धित पशु तिनका धनीहरुले नै लिएर सहयोग गरेमा समस्या समाधान हुने नेपालगञ्ज उप–महानगरपालिका नगर प्रहरी शाखा प्रमुख सूर्य बोगटी बताउँछन् । उनका अनुसार कान्जी हाउसभन्दा यस्तो हुन सके समस्याको दीर्घकालीन समाधान हुनेछ ।

कान्जी हाउसमा राखिएका त्यस्ता गाईवस्तु १५ सय जरिवाना तिरेर पशु धनीहरुले फिर्ता लिएर पुनः जथाभावी छाड्ने गरेको पाइएको छ । घोडा, गधा, खच्चर र अन्य पशु व्यवस्थापनमा लागिरहेका छौं, ’बोगटीले भने ‘सडकमा भएका गाई व्यवस्थापन गर्ने उपयुक्त ठाउँ नभएको र गाईलाई नचलाउने आदेश आएकाले समस्या परेको हो ।’

नेपालगन्ज क्षेत्रमा रहेको एउटा कान्जी हाउसमा पहिलेनै ७० देखि ७५ वटा गाई रहेकाले थपको निम्ति स्थान अभाव भएको बताइन्छ । अर्को विकल्प तयार नपारेसम्म गाई व्यवस्थापन नेपालगञ्जमा ठूलो चुनौती बनेको बोगटीको बुझाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले राप्ती सोनारी गाउँपालिकामा रहेको कान्जी हाउसमा गाई व्यवस्थापन गर्ने विषयमा दुई पालिकाबीच सम्झौता भएको जानकारी गराए । उनले भने ‘भाद्रमा नेपालगञ्जको कान्जी हाउसमा भएका गाई राप्ती सोनारी पठाउने र सडक तथा बजार क्षेत्रमा भएका गाईहरु नेपालगञ्जकै कान्जी हाउसमा व्यवस्थापन गर्ने योजना बनाएका छौं ।’

नेपालगञ्जको उक्त समस्या मुख्य सडकबाट अब भित्री टोलमासमेत पुगेको छ । यसबाट सवारी चालक, सर्वसाधारण, व्यापारी र व्यवसायीहरु हैरान भएका छन् । उक्त समस्या समाधानका लागि सम्बन्धित निकायले दिर्घकालीन उपायको खोजी गर्न जरुरी भइसकेको बताइन्छ ।

टिप्पणीहरू