बजारमा महँगी : पहिले चामल, अहिले प्याज

बजारमा महँगी : पहिले चामल, अहिले प्याज

भारतले प्याज निर्यातमा थप ४० प्रतिशत शुल्क तोकेसँगै नेपालमा भारतीय प्याज ल्याउन छाडिएको छ । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबारदेखि प्याज भित्रिएको छैन । 

समितिले बजारमा प्याज भित्रिन छाडेसँगै मूल्य सूचीबाट समेत हटाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठ बजारमा प्याज आउन छोडेपछि मूल्य सूचीबाट पनि प्याज हटाउनु परेको बताउँछन् । 

उनका अनुसार बजारमा सामान्य अवस्थामा औषत ९० देखि एक सय मेट्रिक टन प्याज भित्रिरहेको थियो । तर, गत आइतबार बिहान करिब ५० मेट्रिक टन भित्रिएपछि प्याज ठप्प भएको हो । 

‘भारतले प्याज निर्यातको महशुल वृद्धि गरेको छ, प्रतिबन्ध लगाएको होइन । तर, अहिले बजारमा प्याज आउनै छोडेको छ,’ उनले भने, ‘बजारमा नियमित आउने प्याज कहाँ गयो ? सम्बन्धित निकायले खोजी गर्नुपर्यो ।’ 

भारती भन्सार विभागले गत शनिबारदेखि प्याज निर्यातमा थप ४० प्रतिशत महशुल लगाउने घोषणा गरेको हो । प्याजको निर्यात रोक्ने उद्देश्यले लगाएको उक्त महशुल पुस १५ गतेसम्म लागू हुने छ । भारत विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देशहरुमध्ये एक हो ।

तर, केही दिनयता आन्तरिक बजारमा यसको मूल्य बढेपछि भारतले उक्त निर्णय गरेको अधिकारीहरुको भनाई छ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्ने गरेको छ ।

अहिले नेपाली बजारमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि हुनुका साथै कृत्रिम अभाव देखिन थालेको छ । कतिपय व्यापारीहरुले प्याजमा कालोबजारी थालेका छन् । नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि यहाँ ठूलो परिणाममा भारतबाट प्याज ल्याइन्छ । 

गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै भारतबाट छ अर्ब ७५ करोड रुपैयाँ बराबरको १८ करोड किलो प्याज आयात गरिएको थियो । यति ठूलो परिमाणमा प्याज आयात हुने गरेकाले भारतको पछिल्लो निर्णयले नेपालमा असर नपर्ने कुरै भएन । 

गत आइतबार कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको खुद्रा मूल्य प्रतिकेजी ६१ रुपैयाँ थियो । त्यसको भोलिपल्ट ९० रुपैयाँ प्रतिकेजी पुग्यो । मंगलबारदेखि प्याजको मौज्दात सकिएको भन्दै मूल्य सूचीबाटै हटाइयो । 

प्याजमा कालोबजारी हुन थालेको थाहा पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार र मंगलबार बजार अनुगमन गरेको थियो । सोक्रममा प्याजको मूल्य बढी लिने व्यापारीलाई कारबाहीस्वरुप जरिवाना तिराइएको विभागको दाबी छ । 

नेपालमा वार्षिक २० हजार २५१ हेक्टर जमिनमा करिब तीन लाख मेट्रिक टन प्याज उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बाँकी आयातमा निर्भर हुनुपर्ने बाध्यता छ । 

यसअघि गत साउन ४ गतेदेखि भारतले बासमतीबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । उक्त निर्णयपछि नेपालमा चामलको मूल्य अस्वाभाविक रुपमा बढेको छ । चामलमा कालोबजारी भइरहेको उपभोक्ताहरुको अनुभव छ । 

उता, वर्षाका कारण गोलभेडाको मूल्य भारतमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । माग धान्न मुश्किल परेपछि भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको हो । 

भन्सार विभागका अनुसार पछिल्लो दुई सातामा छ लाख ७० हजार किलो गोलभेडा भारत निर्यात भएको छ । भारतमा गोलभेडाको खुद्रा मूल्य प्रतिकेजी २५० भारुसम्म पुगेपछि त्यसअघि नै नेपाली गोलभेंडा लुकिछिपी भारत लगिएको बताइन्छ । 

नेपाली गोलभेडाको आयातपछि भारतमा गोलभेंडाको मूल्य घट्दो क्रममा छ । त्यहाँ अहिले गोलभेंडाको मूल्य प्रतिकेजी भारु ५० को हाराहारीमा छ । तर, नेपालमा भने गोलभेडा, चामल र प्याजको मूल्य दिनप्रति दिन बढेको छ ।

असारसम्म १८ सय रुपैयाँमा पाइएको जीरा मसिनो चामल एक बोराको मूल्य अहिले २५ सय पुगेको छ । गोलभेडा प्रतिकेजी ४० रुपैयाँबाट बढेर दुई सयसम्म पुगेको छ भने प्याजको त अभाव देखिएको छ । आम उपभोक्ता महंगीको मारमा परेका छन् । सर्वसाधारणको भान्छा दिनानु महँगिदै गएको छ । 

उपभोक्ता सर्मिला कार्की भन्छिन्, ‘भारतले आफ्नो मुलुकमा महंगी नियन्त्रण गर्न चामल निर्यातमा प्रतिबन्ध लगायो । प्याज निर्यातमा महशुल बढायो । गोलभेंडामा लगाएको प्रतिबन्ध समेत फुकुवा गर्यो । तर, नेपाल सरकार भने महंगी नियन्त्रणमा केही गरिरहेको छैन । न चामलमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सक्छ न गोलभेंडाको निर्यात नै रोक्न सक्छ ।’ महँगीका कारण जनताको भान्छामा चुल्हो बल्न छोडेको उनको ठहर छ ।

टिप्पणीहरू