देउवाका मान्छेले दिएको दुःख

देउवाका मान्छेले दिएको दुःख

देउवाको गृहजिल्ला डडेल्धुराको कांग्रेस सभापतिसमेत रहेका भीमबहादुर साउदको राजेन्द्र निर्माण सेवाले दार्चुलाका ठूला विकास निर्माण ठप्प पारेको छ । सरकारी ढुकुटी आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित गर्ने प्रवृत्तिले दार्चुलाको विकास बजेट आफैँमा न्यून छ । त्यसमाथि राजनीतिक पहुँच र संरक्षणले लागिसकेको ठेक्कापट्टाको कामसमेत अगाडि बढ्न सकेको छैन । सडक, पुल र तटबन्ध निर्माणजस्ता महत्वपूर्ण क्षेत्रका आधा दर्जन ठेक्का एउटै कम्पनीले पाएको र निर्माण ठप्प गरिदिएको अवस्था छ । 

हाल दार्चुला जिल्लामा संघीय सरकारको प्रत्यक्ष लगानीअन्तर्गत दुइटा योजना मात्रै सञ्चालित छन् । यी दुबै महाकाली कोरिडोर सडक आयोजना र महाकाली नदी नियन्त्रण आयोजनाका ४ वटा निर्माण ठेक्का लिएको राजेन्द्र निर्माण सेवाले काम ठप्प पारेको हो । ठेक्का व्यवस्थापन गर्ने निकायहरूले निर्माण कम्पनीमार्फत काम गराउन सकेका छैनन् र कारवाही पनि गर्न सकेका छैनन् । 

चार वर्षअघि ठेक्का सम्झौता भएको महाकाली नदी नियन्त्रण आयोजनाअन्तर्गत श्रीबगर क्षेत्र र कलौन क्षेत्रमा तटबन्ध निर्माण कार्य अलपत्र छ । पटक–पटक म्याद थप गरिए पनि निर्माण कम्पनीले तटबन्ध निर्माण पूरा नगरेको आयोजना प्रमुख मनोहरप्रसाद साहले बताउनुभयो । नदी नियन्त्रण आयोजनामा दुइटा ठेक्का सम्झौता गरेको राजेन्द्र निर्माण सेवाले १५ करोड रूपैयाँको निर्माण गराउन बाँकी छ । 

महाकाली कोरिडोर सडक आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माणको ठेक्का र एउटा मोटरपुल निर्माणको ठेक्कामा पनि कम्पनीले काम शुरु गरेको छैन । ०७८/७९ मा सम्झौता भएका सडक कालोपत्रेको ठेक्कामा सूचना पाटी राख्नेबाहेक केही काम भएको छैन । महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिका–६ सलेतीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न कम्पनीले ठेक्का सम्झौता गरेको छ । 

एक वर्षअघि ४ करोड रूपैयाँभन्दा बढी पेश्की (मोबिलाइजेशन) रकम लगे पनि हालसम्म राजेन्द्र निर्माण सेवाले सडक कालोपत्रे क्षेत्रमा काम थालेको छैन । सडक कालोपत्रे निर्माण तीन वर्षभित्र गरिसक्ने ठेक्का अवधि भए पनि पहिलो वर्ष कुनै पनि काम भएको छैन । सडकमा टेवापर्खाल लगाउने, माटो खन्ने, सडक चौडा बनाउने र नाली निर्माणको कार्य कालोपत्रे गर्नुअघि सक्नुपर्ने योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । 

सडक कालोपत्रेका लागि महाकाली कोरिडोर सडक आयोजना र राजेन्द्र निर्माण सेवाबीच २०७९ असारमा ठेक्का सम्झौता भएको थियो । १३ किमि सडक कालोपत्रे गर्न ४९ करोड १० लाख १३ हजार ७ सय १३ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । 

निर्माण कम्पनीलाई पटक–पटक मौखिक र लिखिक जानकारी गराएर निर्माण कार्य सञ्चालन गर्न भनिएको छ । तर राजनीतिक पहुँच र संरक्षणले सडक आयोजना कार्यालयलाई कम्पनीका मालिक भीमबहादुर साउदले टेरपुच्छर पनि लगाएका छैनन् । 

आठ वर्षअघि ठेक्का सम्झौता भएको सदरमुकाम क्षेत्रकै लास्कुखोलाको मोटरपुल निर्माण पनि अहिलेसम्म अलपत्र छ । गत वर्षको भदौंमा आएको बाढीले लास्कुखोलामा निर्माणाधीन पुल बगाएपछि निर्माण अलपत्र अवस्थामा छ । 

गत वर्ष लास्कुखोला पुल निर्माण शीर्षकमा ५० लाख बजेट विनियोजन भए पनि एक रूपैयाँ पनि खर्च नभएको अभिलेख छ । दार्चुलाको प्रमुख विकास आयोजनाहरूमा ठेक्का पाएका ठेकेदार कहिल्यैं दार्चुला आउँदैनन् । हाल निर्माण कम्पनीका प्रतिनिधि नै जिल्लामा उपलब्ध छैनन् । जबकि निर्माण कार्यक्षेत्रमै सम्पर्क कार्यालय खोल्नुपर्ने ठेक्का सम्झौताको शर्तमा उल्लेख छ । 
 

टिप्पणीहरू