कमरेडहरू स्खलित हुन थाले क्रमश :

कमरेडहरू स्खलित हुन थाले क्रमश :
सुन्नुहोस्

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रदीप नेपाललगायत संस्थापक नेताहरू पाखा लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विरोधीविहीन पार्टी चलाइरहनु भएको छ । अर्थात् माधव–झलनाथको विद्रोहयता भीम रावललाई अपवाद मान्ने हो भने हालसम्म उहाँको नेतृत्वलाई चुनौती दिने नेता एमालेमा देखिएको छैन । झण्डै दुई वर्ष पार्टीको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्नुभएका ओलीलाई अब भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चुनौती बन्नसक्ने संकेत देखिन थालेको छ । 

हालै च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीकै मुखबाट त्यस्तो संकेत बाहिरिएको हो । प्रसंग थियो – सुनकाण्ड र संसद अवरोध । तर, विद्या भण्डारीलाई नेतृत्वमा ल्याउन पार्टीपंक्तिबाट भएका प्रयासबारे सोधिएको प्रश्नको जवाफ दिनुपर्ने भयो उहाँले । ‘हो’ वा ‘होइन’मा संक्षिप्त जवाफ दिने सुविधा हुँदाहुँदै ओलीले उक्त प्रश्नलाई आफ्नो पार्टीमा विभाजन ल्याउने नियोजित प्रचार भन्नुभयो । यसको सोझो अर्थ – भण्डारी पार्टी नेतृत्वमा आउन खोज्नु एमाले विभाजन हुनु हो । पार्टीमा आफ्नो एकछत्र नेतृत्वमाथि भण्डारी चुनौती हुन सक्ने ओलीको घुमाउरो स्वीकारोक्ति पनि हो यो । 

ओलीलाई ‘बा’ भनेर एमालेमा ‘तरक्की’ गरेका कर्ण थापा, गोकुल बाँस्कोटालगायत राष्ट्रपति भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउने कसरतमा रहेको चर्चा अलि अगाडिदेखि नै चलिरहेको थियो । तत्कालीन नेकपा हुँदै एमालेसम्मको विभाजनबाट सिंगो वाम आन्दोलन कमजोर बनेकाले ओलीको विकल्प खोजेर भए पनि कम्युनिष्ट एकता गर्नुपर्ने मत विष्णु पौडेलहरूले राख्दै आएको सुनिन्छ । राष्ट्रपति भैसकेकाले एकीकृत समाजवादी र माओवादीले समेत भण्डारीलाई नेतृत्वमा स्विकार्ने विश्वास उनीहरूको छ । 

भण्डारीलाई पार्टीको राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गराउने आफ्नै भित्रियाहरूको चालबाजी बुझ्नुभएका ओलीले पनि चलाखीपूर्ण ढंगले काउण्टर दिने प्रयास गर्नुभएको छ । पछिल्लो सचिवालय बैठकबाट उहाँले पार्टीमा आफूलाई अझै शक्तिशाली देखाउन जीवित नेताहरूमध्ये अध्यक्षबाहेक अरुको फोटो सार्वजनिक कार्यक्रममा राख्न नपाइने निर्णय गराउनुभयो । जब अपानिमार्फत त्यसको जानकारी मातहतका कमिटीमा गराइयो, ओलीलाई तलबाट पनि चुनौती तेर्सिन थालेको छ । त्यो पनि एकदम भित्रियाहरूबाटै । 

मानवअधिकारवादी सञ्जालको आवरणमा एमालेको देशव्यापी संगठन फैलाउन समानान्तर प्रकृतिको सांगठानिक अभ्यास चलाइरहेका सुबोध प्याकुरेलले सामाजिक सञ्जालमै लेखेर उक्त निर्णयप्रति आपत्ति जनाए । इन्सेकका नाममा एमालेको संगठन बिस्तारमा योगदान गरेका ओलीका भित्रियामध्येका हुन् उनी । सुवोध बुटवल महाधिवेशनमा अध्यक्षमा उठेका प्रभावशाली नेता नै हुन् । एमाले विभाजनताका ऋषि धमलासँगको अन्तर्वार्तामा माधव नेपालविरुद्ध चर्को बोलेर चर्चामा आएका सुमन प्याकुरेल मधेसमा ओली गुटका खम्बा भनेर चिनिन्छन् । विद्या भण्डारी राष्ट्रपति हुँदा सल्लाहकार भएर काम गरेका सुशील प्याकुरेल ओलीका अति भित्रिया हुन् । ३ दाजुभाइसहितको प्याकुरेल परिवारले ओलीलाई दुःखका दिनमा सहयोग गरेर गुन लगाएको छ । सुमन प्याकुरेल, सुशील प्याकुरेल र भाञ्जा कुन्दन अर्यालको पारिवारिक बिर्ताजस्तै रहेको इन्सेकमा एमाले कार्यकर्तालाई जागिर दिएर पनि उनीहरूले सहयोग गरेका छन् । 

तर, तिनै सुबोधले ‘हरेक विषय माथिबाट निर्देश गर्नुपर्ने हुँदैन । असल संस्कारको सुरुवात आफू संलग्न हुने कार्यक्रममा वरिष्ठहरूले गरिदिए बाँकीले सखुशी अनुशरण गर्छन्’ भनेर ओलीको अपानिमाथि खुला चुनौती दिएपछि एमालेमा ओली भर्सेज विद्या भण्डारीको खेल शुरु भैसकेको अनुमान गर्न सकिन्छ । केन्द्रमा पदाधिकारीहरूले समेत आँखा जुधाएर बोल्न नसकिरहेको अवस्थामा ओलीविरुद्ध प्याकुरेलले खोलेको यो फायर चानचुने पक्कै होइन । 

केपी ओलीलाई फेसबुकमा मेन्सन गरेर उनले हालेको स्टाटसमा अगाडि लेखिएको छ, तपाईं आफैले महाराजहरूको स्वस्तिवाचन प्रथालाई गर्नुभएको व्यंग्य र जातअनुसार पहिरन गर्नुपर्ने टोपी शैलीको विरोध कसरी गर्नु भएको थियोे भन्ने कुरा साक्षी छ । हरेक कार्यक्रममा सहभागीलाई बताउनु पर्ने कि तपाईं सम्माननीय पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । व्यक्तिपिच्छेले स्मरण गराइदिनु पर्ने कि तपाईं श्रद्धेय अध्यक्ष, राजनेता बा अनि अरु के के हो हुनुहुन्छ ? पार्टीको कार्यक्रममा कमरेडभन्दा माथिका दर्जा र व्यवहारमा कमरेडीपन भन्दा माथि अनेक फुँदा जोडिँदा कसरी दंग पर्न सकिन्छ? अचेल सहभागिताको प्रमाणपत्रदेखि पार्टी कार्यालयले ढोका कोठा सर्वत्र तपाईंको चित्र नराखी नहुने गरी उधुम मच्चाइएको छ । प्रदेश सम्मेलनको मुखैमा प्रदेश प्रमुख तपाईसँग कुम जोडेको फोटो हाल्छन् र लेख्छन्, श्रद्धेय अध्यक्षबाट निर्देशन लिएँ । दुनियाँले अर्थ लगाउँछ, नेतृत्व छनौटमा आदेश मिल्यो, तदनुसार नेता छानिने छन् । 

उनले विचार र व्यवहारले पाको हुँदाहुँदै पनि वैचारिक काम कमजोर भएकै कारण व्यक्ति,व्यक्तिको वैयक्तिक श्रृङ्गार शुरु गरिएको भन्दै ओलीमाथि थप कटाक्ष गरेका छन् । पार्टीको लोकतान्त्रिकरणको लागि ओलीको कर्म, मिहेनत र त्यसमा गाँसिएबापत प्रताडित गरिएकाहरूलाई सम्झिन सुबोधले सुझाव पनि दिएका छन् ।

 

टिप्पणीहरू