समुन्द्रको पानी,जापानी ज्यादती र जीवजन्तुलाई हानी

समुन्द्रको पानी,जापानी ज्यादती र जीवजन्तुलाई हानी
सुन्नुहोस्

– चेतनाथ आचार्य

चिनियाँहरूले नुन र सामुद्रिक खाना अरुबेलाभन्दा बढी किनेर घरमा भण्डारण गर्न थालेका छन् । झट्ट सुन्दा फेरि कोभिड महामारीबाट लकडाउन हुन लागेको हो कि जस्तो आभाष हुन सक्छ । तर, यसो हुनुको कारण जापानको एक गैरजिम्मेवार कदम हो जसले अन्तर्राष्ट्रिय जगतलाई चिन्तित बनाएको छ । त्यति मात्र होइन चिनियाँ सामाजिक सञ्जालमा जापानको चर्को विरोध गरिएको छ । जापानी रेस्टुरेण्टमा समुद्री खाना खाँदै गरेको तस्बिर राख्दै वीच्याट मोभमेन्टमा ‘ड्रिमगर्ल’ नामक एक चिनियाँ पत्रकारले लेखेकी छिन् ‘भविष्यमा यस्तो खाना म खान्छु कि खाँदिन थाहा छैन ।’ उनी यसलाई प्रष्ट्याउँदै लेख्छिन् ‘यदि आणविक दूषित पानी सुरक्षित छ भने, यसलाई समुन्द्रमा मिसाउन आवश्यक छैन र यदि यो सुरक्षित छैन भने यसलाई समुन्द्रमा मिसाउनु हुँदैन ।’ 

अन्तर्राष्ट्रिय समुदायको कडा विरोधको बेवास्ता गर्दै अगष्ट २४ देखि जापान सरकारले फुकुसीमा आणविक दुर्घटनाबाट उत्पादित प्रदूषित पानी समुद्रमा मिसाउन शुरु गरेको छ । समुद्र नै सम्पूर्ण मानव जातिको साझा सम्पत्ति हो । यही सम्पत्तिलाई हजारौँ वर्षसम्म असर पुग्ने गरी जापानले गलत कदम उठाएको छ । उसको यो कदमले सयौँ पुस्ताबाट आलोचित हुनु पर्नेछ ।

फुकुसीमाको आणविक प्रदूषित पानीलाई जबर्जस्ती समुद्रमा मिसाउने जापानी कदम अत्यन्तै स्वार्थी र गैरजिम्मेवार देखिन्छ । अन्तर्राष्ट्रिय सार्वजनिक हितलाई बेवास्ता गर्दै जापानले तत्कालका लागि आफ्नो स्वार्थ मात्र हेरेको छ । जापानको यस्तो कार्यले विभिन्न देशका जनताको स्वास्थ्य, विकास र वातावरणसम्बन्धी अधिकारको उल्लंघन गरेको छ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नै नैतिक जिम्मेवारी र दायित्व विपरीत कदम चालेको छ । जापानले आणविक प्रदूषित पानीलाई समुद्रमा मिसाउँदा अन्तर्राष्ट्रिय समुदायले उसको दीर्घकालसम्म निन्दा गर्ने कुरामा जापानी नागरिकहरू सचेत छन् तर जापान सरकारले आफ्नै नागरिकको आवाज पनि सुनेको छैन ।

अन्तर्राष्ट्रिय जगतमा जापानी कदमको सबैभन्दा चर्को बिरोध चीनले गरेको छ । अगष्ट २४ तारिखका दिन फुकुसीमा आणविक दुर्घटनाबाट उत्पादित दूषित पानीलाई समुद्रमा मिसाउन थालिएपछि चीनको भन्सार प्रशासनले जापानी जलजन्य उत्पादनहरूको आयात पूर्ण रूपमा निलम्बन गर्ने भनेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले यसको कडा विरोध र घोर भत्र्सना गरेको बताए । चीनले जापानी पक्षलाई यो गलत कार्य रोक्न माग गर्दै जापानी पक्षसमक्ष गम्भीर आपत्ति जनाएको पनि उनले पत्रकार सम्मेलनमा बताए ।

प्रवक्ता वाङले भने ‘जापानको फुकुसीमा आणविक–दूषित पानीको विश्वव्यापी प्रभावहरूका साथ एक प्रमुख आणविक सुरक्षा मुद्दा हो र यो कुनै पनि हालतमा जापानको निजी मामिला होइन । जापानी पक्षले आफ्नो स्वार्थका लागि स्थानीय जनता वा विश्वका जनतालाई हानी पु¥याउनु हुँदैन । चीनले सधैँ जनताको सर्वोच्चतालाई समर्थन गरेको छ र खाद्य सुरक्षा तथा चिनियाँ जनताको स्वास्थ्यको रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ ।’
के हो फुकुसीमा प्रदूषित पानी ?

जापानको उत्तर–पूर्वी क्षेत्रमा सन् २०११ मार्च ११ मा ९ म्याग्निच्युडको भूकम्पले विशाल सुनामी सिर्जना गरेको थियो । समुद्री छालहरूले फुकुसीमा दाइची आणविक ऊर्जा केन्द्रलाई ठक्कर दिएर तीन वटा रिएक्टरलाई ध्वस्त बनाइदियो । तत्काल उक्त भट्टीबाट विकिरण चुहावट भएपछि १ लाख ५० हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको थियो । क्षतिग्रस्त आणविक भट्टीलाई भने सुरक्षित रूपमा राखिएको थियो । भनिन्छ फुकुसीमा प्रकोप चेर्नोबिल आणविक भट्टी दुर्घटनापछिको सबैभन्दा खराब आणविक दुर्घटना हो ।

विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले भट्टीलाई क्षतविक्षत बनाएपछि रिएक्टरका भित्री भाग बढी तातिएर पावर स्टेशनमा विस्फोट भएको थियो । सोही विस्फोटनपछि उत्पन्न तापलाई नियन्त्रण गर्न १३ लख घन मिटरभन्दा बढी समुद्री पानी क्षतिग्रस्त भट्टीमा छम्किएर चिसो बनाइयो । जसबाट ६४ प्रकारका रेडियोन्युक्लाइडहरू सिर्जना भएर पानी प्रदूषित बन्यो । ती ६४ प्रकारका रेडियोधर्मी विकिरणहरूमा कार्बन–१४, आयोडिन–१३१, सिजियम–१३७, स्ट्रन्टियम–९०, कोबाल्ट–६० र हाइड्रोजन–३ छन्, जुन मानवलगायत सम्पूर्ण जीवका लागि हानिकारक छन् । यी विकिरणलाई ट्रिटियम पनि भनिन्छ । यीमध्ये केही रेडियोन्युक्लाइड समुद्रमा ५, ००० वर्षभन्दा बढी रहन सक्छन् ।

ट्रिटियम एक प्रकारको विकिरण उत्सर्जक हो । यसले आयनाइजिंग विकिरण उत्सर्जन गर्छ जसले डिएनएलाई क्षति पु¥याउँछ । मानव छालाले आंशिक रूपमा आयनाइजिंग विकिरणलाई रोक्ने गर्छ । यदि कुनै व्यक्तिले उक्त रेडियोएक्टिभ दूषित भएको कुनै चीज खाएमा शरीर भित्रका कोशिकाहरू क्षति पु¥याइरहेको हुन्छ ।

भूमिगत पानी, समुद्री पानी र रिएक्टरहरू चिसो राख्न प्रयोग गरिने पानीको मिश्रण नै दूषित पानी हो । उक्त दूषित पानीलाई फिल्टर गरी १ हजारवटा स्टिलका ट्यांकीमा भण्डारण गरिएको छ । ती ट्यांकीको क्षमता १३ लाख घन मीटरको मात्र छ । सबै ट्यांकी भरिएका छन् । अधिकांश रेडियोएक्टिभ आइसोटोपका लागि पानी फिल्टर गरिए पनि ट्रिटियमको स्तर जापानले तोकेको मापदण्डभन्दा निकै माथि रहेको वैज्ञानिकले बताएका छन् । विज्ञहरूका अनुसार ट्रिटियमलाई पानीबाट हटाउन धेरै कठिन छ र यो मात्राको ट्रिटियमले मानव जगतलाई हानि पु¥याउने गर्छ ।

कहाँ कहाँ पर्छ असर ?

जापानले सन् २०२१ मा उक्त दूषित पानी समुद्रमा मिसाउने प्रस्ताव गरेपछि सर्वत्र विरोध हुन थालेको हो । त्यतिबेला प्रस्ताव गर्दा जापानले प्यासिफिक टापु फोरमसँग उच्चस्तरीय शिखर सम्मेलन आयोजना गर्दै दूषित पानी समुद्रमा मिसाउनुअगाडि सबै स्वतन्त्र वैज्ञानिक र प्रमाणित वैज्ञानिक प्रमाणमा सार्वजनिक गर्ने सहमति गरेको थियो । तर, यतिबेला जापानले आफ्नै प्रतिबद्धतालाई बेवास्ता गर्दै सबै कुरा लुकाएको छ । 

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)को योजनाअनुसार ७ हजार ८ सय टन आणविक दूषित पानी १७ दिनभित्र निकासा गरिनेछ । यस हिसाबले सन् २०२३ मा करिब ३१ हजार २०० टन पानी समुद्रमा मिसाइनेछ । जम्मा भएको १३ लाख टन आणविक प्रदूषित पानी समुद्रमा मिसाएर सक्नलाई ३० वर्षदेखि ५० वर्षसम्म लाग्न सक्छ । विज्ञहरूका अनुसार आणविक दूषित पानी सन् २०२६ को नोभेम्बरमा उत्तरी अमेरिकाको तटमा पुग्न सक्छ र लगभग उत्तरी प्रशान्त महासागरभरि फैलिन सक्छ । त्यसैगरी, सन् २०३०को फेब्रुअरीमा हिन्द महासागरमा फैलिनेछ र १० वर्षपछि लगभग सम्पूर्ण प्रशान्त महासागरमा फैलिनेछ ।

फुकुसीमा आणविक दूषित पानी प्रशान्त महासागरमा मिसाउन थालेपछि तटीय देशले यसको निन्दा गर्दै आएका छन् । आणविक प्रदूषणबाट ग्रस्त मार्शल टापुजस्ता टापु देशका लागि जापानको कार्यले पीडादायी सम्झनाहरू बल्झाएको छ । प्रशान्त महासागरको बीचमा अवस्थित, मार्शल टापुहरू दोस्रो विश्वयुद्धपछि अमेरिकी आणविक परीक्षण स्थल बनेका थिए । ‘लस एञ्जलस टाइम्स’ पत्रिकाले सन् २०१९ मा एउटा लेख प्रकाशन गर्दै यसबारे विस्तृत जानकारी दिएको थियो । उक्त लेखअनुसार सन् १९४६ देखि सन् १९५८ सम्म अमेरिकाले मार्शल टापुहरूमा ६७ वटा आणविक परीक्षणहरू गरेको थियो, जसले प्रशान्त टापुहरू, समुद्री पारिस्थितिक र सार्वजनिक स्वास्थ्यलाई गम्भीर क्षति पु¥यायो । त्यसैगरी अमेरिकाले नेभाडा आणविक परीक्षण साइटबाट १३० टनभन्दा बढी आणविक–दूषित माटो सिधै मार्शल टापुहरूमा खसालेको थियो ।

पुरानो घाउ निको नहुँदै, नयाँ घाउ थपिएको छ । मार्शल टापुहरूले बारम्बार जापानलाई विकल्प खोज्न, समुद्री वातावरणको रक्षा गर्न र आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न तथा प्रशान्त महासागरलाई आणविक डम्पिङ क्षेत्र नबनाउन बारम्बार आग्रह गर्दै आएका छन् ।

दक्षिण कोरियाजस्ता राष्ट्रले प्रशोधित पानीले समुद्री वातावरणमा अप्रत्याशित प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् र उक्त देशका प्रतिनिधिमण्डलले गत मे महिनामा फुकुसीमा क्षेत्रको भ्रमण पनि गरेको थियो । गत वर्ष अमेरिकाको भर्जिनियाको हेरण्डनमा रहेको युएस नेशनल एसोसिएसन अफ मरिन प्रयोगशालाले पनि जापानको उक्त योजनाको विरोध गर्दै जापानको सुरक्षाको भनाइलाई समर्थन गर्ने पर्याप्त र सही वैज्ञानिक तथ्यांकको अभाव रहेको औँल्याएको थियो । फिलिपिन्सले पनि प्रशान्त महासागरमा प्रदूषित पानी छोड्ने विषयमा पुनर्विचार गर्न जापानलाई आग्रह गरेको थियो ।

अष्ट्रेलिया, फिजी, पपुवा न्यु गिनी र फ्रेञ्च पोलिनेसियालगायत १८ प्यासिफिक राष्ट्रहरू मिलेर बनेको अन्तरसरकारी संस्था प्यासिफिक टापु फोरमलाई परामर्श दिने प्यानलका पाँच वैज्ञानिकमध्ये एक रिचमण्डका अनुसार फुकुसीमाबाट प्रशोधित पानीको निकासी महासागर र त्यसमा निर्भर हुनेहरूका लागि सुरक्षित छ कि छैन भनेर परामर्श गर्न प्यानल बोलाइएको थियो । उनीहरूले टेप्को र जापान सरकारद्वारा उपलब्ध गराइएका सबै तथ्यांक समीक्षा गर्दै फुकुसीमा साइटको भ्रमण पनि गरेका छन् । ट्रिटियम र कार्बन–१४ बारे जापानले केही प्रश्नको जवाफ दिन नसकेको रिचमण्डले बताएका छन् ।

धेरै अन्तर्राष्ट्रिय सन्धिहरू छन् जसले देशको रेडियोधर्मी फोहोरलाई समुद्रमा फाल्ने कुराको नियमन गर्छ । जापान धेरै अन्तर्राष्ट्रिय महासन्धिको पक्षधर राष्ट्र हो । समुद्रसम्बन्धी महासन्धि, समुद्री कानुनमा संयुक्त राष्ट्र महासन्धि, आणविक दुर्घटनाको प्रारम्भिक सूचनासम्बन्धी महासन्धि र फोहोरको डम्पिङसम्बन्धी लण्डन कन्भेन्सनजस्ता सन्धिमा जापानले हस्ताक्षर गरेको छ । यतिबेला जापानले महासन्धिका प्रावधान उल्लंघन गरेको छ । भविष्यमा जापानले प्रशान्त महासागरका तटीय देशलाई क्षतिपूर्ति दिनुपर्ने हुन सक्छ । जसरी दोस्रो विश्वयुद्ध र त्यसअगाडि चीन तथा कोरियामा जापानले गरेको आक्रमण र महिलाहरूलाई बनाएको यौनदाषी जस्ता कुकर्मका लागि जापानले दक्षिण कोरियालाई सन् २०१५ मा क्षतिपूर्ति दिइसकेको छ । जापानले दिने क्षतिपूर्तिलाई चीनले अस्वीकार गर्दै भनेको थियो ‘यो कलंक सधैँ जापानको निधारमा रहिरहनेछ ।’

जापानभित्रै विरोध 

त्यसो त यो योजनालाई लिएर जापानले आफ्नै देशभित्र पनि भरमार विरोधको सामना गर्नुपरेको छ । जापान सरकारले समुद्री मिसावट योजना शुरु गर्ने कुरामा आफ्नो अडान पेश गरेपछि जापानी माछापालन उद्योगलगायत सबै क्षेत्रका मानिसले यसले अर्को पुस्तामा विपत्ति ल्याउने भन्दै सरकारलाई यो योजना रोक्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । जापानका धेरै मुख्य सञ्चारमाध्यमहरूले पनि जापानी सरकारको बेइमानी र गैरजिम्मेवारीबारे आलोचना गर्दै लेख प्रकाशित गरेका छन् ।
जापानी खाद्य पदार्थमा अधिकांश समुद्री खाद्य छन् । त्यसैगरी जापानी पर्यटनमा समुद्री किनार ख्यातिप्राप्त छन् । फुकुसीमा प्रदूषित पानी समुद्रमा मिसाउन थालिएपछि जापानले यी दुई उद्योगमा निकै ठूलो चुनौति खप्नु पर्नेछ । फुकुसीमा प्रदूषित पानीको प्रभाव रहेको समुद्रमा उत्पादित कुनै पनि खानेकुरा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुनेछ ।

प्रदूषित पानीलाई समुद्रमा मिसाउनुको साटो अन्य चारवटा विकल्प जापानसँग थिए । ती विकल्पमा प्रदूषित पानीलाई जमिनमा मिसाउने, बाफ बनाएर सिध्याउने, हाइड्रोजनमा सिध्याइदिने र जमिनमुनि पुरिदिने थिए । यी चारवटै विकल्प महङ्गा पर्ने भएकाले जापानले समुद्रमा मिसाउने सबैभन्दा सस्तो विकल्प रोज्न पुग्यो जसले संसारलाई चिन्ताको भुँवरीमा जाकेको छ ।

स्वदेश र विदेशको ठूलो विरोधका बावजुद अगष्ट २४ तारिख जापानले फुकुसीमा आणविक दूषित पानीलाई समुद्रमा फाल्न थालेपछि यसले मानव जगत र सम्पूर्ण जीवजगतलाई पनि प्रकोपग्रस्त बनाउनेछ । त्यो पनि हजारौँ वर्षसम्म । प्रदूषित पानीमा रेडियोधर्मी पदार्थको निक्षेप प्रभाव भएकाले त्यसबाट कति र कस्तो भयंकर प्रभाव हुनेछ भन्ने बारेमा कल्पनाभन्दा बढी भयंकर हुन सक्छ । त्यसकारण सन् २०२३ अगष्ट २४ तारिखलाई समुद्री वातावरणको प्रकोप दिवसका रूपमा चीनले राखिसकेको छ । जापानको गलत कार्यले गर्दा अब हरेक वर्ष अगष्ट २४ तारिख वातावरण प्रकोप दिवसका रूपमा सम्झनुपर्ने बाध्यता आइपरेको छ ।
 

टिप्पणीहरू