सर्रे खोलामा मदनको बहुदलीय जनवाद, कठै बग्यो सलल...

सर्रे खोलामा मदनको बहुदलीय जनवाद, कठै बग्यो सलल...
सुन्नुहोस्

– सन्तोष बराइली

भदौ ९ गते शनिवार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक सर्‍यो– भदौ १३ गते बुधबारलाई । सचिवालयको उक्त पूर्ण बैठक निर्धारित समयभन्दा पछाडि सर्नुको कारण थियो– अविरल वर्षा । र, अझ खास कारण हो– अविरल वर्षाका कारण बहुलाएर आएको सर्रे खोलाको बाढी । बैठकस्थलसम्म पुग्दा बाढी छिचोल्न नेताहरू सयर सवारीसाधनमा क्षति पुग्ने सम्भावित रिपोर्टिङ्पश्चात् मिति पछाडि सारिएको भन्दै एमाले सिरहामा पहिरो गएको छ । 

सचिवालय बैठकस्थल सिरहाको धनगढिमाई नगरपालिका– १४, अम्बासेस्थित ८० वर्षीय बलबहादुर सुनुवारको घर हो । जहाँ २०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनले झलनाथ खनाललाई अपदस्थ गरी जननेता मदन भण्डारीलाई नेतृत्व हस्तान्तरण गरेको थियो । त्यतिबेला भूमिगत अवस्थामा रहेको मालेका देशभरबाट चुनिएर आएका ६० प्रतिनिधिमध्ये ९५ प्रतिशतले मदन भण्डारीलाई महासचिवमा समर्थन गरेका थिए । 

उतिबेला कार थिएन, जनताले तारेका थिए खोला । ०४६ सालको उक्त महाधिवेशन पनि भदौमै आयोजना गरिएको थियो । र, संयोग कस्तो भने उतिबेला पनि यस्तै अविरल वर्षा थियो । अनि सर्रे खोलामा योबेला भन्दा ठूलो बाढी आएको थियो । यतिबेला झैँ उतिबेला भूमिगत नेताहरूसँग गाडी थिएन । आफ्ना प्रिय नेताहरूलाई स्थानीय जनताले पिठ्युँमा बोकेर सर्रे खोला तारेका थिए । जसमा बाढी देखाएर महाधिवेशन स्थगन गरिएन । 

सुरक्षा प्रवन्ध र नेताहरूको एस्कर्टिङ पनि जनताले गरेका थिए । दालचामल प्रत्येक घरधुरीबाट संकलन गरिएको थियो । अपुग रासन लहान, गोलबजार, धनगढी, मिर्चैया र छिमेकी जिल्ला उदयपुरको कटारीबाट जोहो गरिएको थियो । खानपिनको व्यवस्थापन पनि स्थानीय जनताले नै गरेका थिए । अम्बासेका स्थानीय, २०५१ सालका सांसद तथा एमालेका हालका सल्लाहकार नरेन्द्रराज पोखरेल (हरि) को मानसपटलमा त्यतिबेलाको महाधिवेशन अहिले पनि ताजै छ । जनआस्थासँग पोखरेलले उक्त महाधिवेशनका घटनाक्रम स्मरण गरे– ‘उतिबेला नेताहरूलाई भारतको जयनगर, सप्तरीको कदमाहा, लहान, जनकपुरलगायत ठाउँबाट रिसिभ गरेर लुकाइछिपाई महाधिवेशनस्थल ल्याइएको थियो ।’ महाधिवेशन व्यवस्थापनको संयोजक थिए– ईश्वर पोखरेल । सदस्यहरू थिए– अशोक राई, सत्यनारायण मण्डल र हिराबहादुर सुनुवार । सुनुवार महाधिवेशनस्थल रहेको घरका धनी बलबहादुरका दाइ हुन् । जसको मृत्यु भइसकेको छ । 

तत्कालीन महासचिव झलनाथ खनाल, नेताहरू मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, बामदेव गौतम, सिपी मैनाली, केपी ओली, राधाकृष्ण मैनाली, अष्टलक्ष्मी शाक्य, केशव बडाललगायतका नेतालाई महाधिवेशन आयोजना गरिएको घरको टाँडमै बस्ने व्यवस्था गरिएको थियो । देशभरबाट भेला भएका प्रतिनिधिहरूलाई घरैपिच्छे बाँडेर राखिएको थियो । 

उतिबेला तत्कालीन मालेको सप्तरी जिल्ला कमिटीका सचिव रहेका पोखरेलले भने – ‘पार्टी भूमिगत रहेकाले सुरक्षाथ्रेट औधि धेरै थियो । महाधिवेशन चलिरहँदा पार्टीले मिर्चैया, गोलबजार, धनगढी र लहानमा व्यापक सुराकी परिचालन गरेको थियो ।

महाधिवेशनस्थल वरपर पनि बाक्लै सुराकी खटाइएको थियो ।’ 

पोखरेलका अनुसार उतिबेला महाधिवेशन भनेर होइन, केन्द्रीय कमिटीको बैठक भनेर बोलाइएको थियो । महाधिवेशनको अघिल्लो दिन अर्थात् भदौ ८ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको थियो । त्यसपछि सरासर ५ दिन भदौ ९ देखि १४ गतेसम्म आयोजित महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो भने सोही महाधिवेशनले काङ्ग्रेससँग मिलेर पञ्चायतविरूद्व जनआन्दोलनमा सहभागिता जनाउने निर्णय पनि गरेको थियो । महासचिव नचुनिञ्जेल धेरैजसो महाधिवेशन प्रतिनिधिले मदन भण्डारी को हुन् भनेर चिन्न सकेका थिएनन् । पोखरेल सुनाउँछन्– ‘मदन भण्डारी यिनै हुन् भनेर चिनेपछि प्रतिनिधिहरूको हुल जताजता मदन जान्थे, उतैउतै लाग्थ्यो ।’

रातारात सारियो महाधिवेशनस्थल

आम्बासअघि सिरहाकै फूलकाहाकट्टी, मोतिहायी गाउँमा महाधिवेशनस्थल तोकिएको थियो । मोतिहायी महेन्द्र राजमार्गबाट ४ किलोमिटर दक्षिणमा पर्छ । तर उक्त महाधिवेशनको तालिका र कार्यक्रमहरूबारे उल्लेख गरिएको पार्टीको कागजात काठमाडौंमा हराएपछि सुरक्षादृष्टिले आम्बासमा सारिएको एमालेका सल्लाहकार पोखरेलले बताए । उनले भने– ‘त्यो कागजपत्र कसले हराएको हो भनेर कसैलाई जानकारी दिइएन ।’ 

नेता बदलिए, बदलिएन आम्बास

उदयपुर जिल्लाको रिस्कु–३ मा पर्ने आम्बास २०३२ सालमा सिरहामा गाभिएको हो । मदन भण्डारीलाई महासचिव बनाउने गाउँले परिचित आम्बासको विकासमा पटकपटक सरकारको नेतृत्व गरेको एमालेले खासै चासो दिएको देखिँदैन । कृषिमा निर्भर यहाँका अधिकांशको घडेरी र खेतबारी ऐलानी छन् । २०२४ सालयता यहाँको जग्गा सरकारले नापी गरेको छैन । सर्रे खोलामा २ वटा झोलुंगे पुल बनेको छ । भर्खरै १३ किलोमिटर पक्की सडक बनिरहेको छ । उदयपुर जोड्ने सडकको ट्र्याक खुल्दै छ । जननेताको नाममा स्कूल भने खुलेको छ– मदन भण्डारी मावि । 

०६२/६३ सालको जनआन्दोलन सफल भएपछि मदनपत्नी विद्यादेवी भण्डारी यस गाउँको भ्रमणमा आए पनि २–२ पटक राष्ट्रपति बन्दासमेत यहाँको विकासमा खासै चासो देखाइनन् । महासचिव भएपछि शंकर पोखरेल डुल्दै आम्बास आइपुगेका थिए । एमालेले पार्टी स्थापनाको हिरक महोत्सव मनाउने निर्णयअनुसार यहाँ चौथो महाधिवेशन स्मारक बनाउन लागिएको छ । 

भदौ १३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता चिल्ला गाडीमा हुलका हुल आम्बास आउनेछन् । ती नेतालाई कमला–लहानबाट युवाहरूले मोटरसाइकल र्‍यालीले एस्कर्टिङ गर्नेछन् । नेताहरू जम्मा भएर ३४ वर्षअघि चौथो महाधिवेशन सम्पन्न गरिएको बलबहादुर सुनुवारले उपलब्ध गराएको त्यही दुईतले काठको टाँडे घरमा बसेर सचिवालय बैठक बसेझैँ गर्नेछन् । काठमाडौंबाट लेखिल्याइएको रेडिमेड माइन्युटमा हस्ताक्षर गर्नेछन् । अध्यक्ष ओलीले चौथो महाधिवेशन स्मारक पार्कको शिलान्यास गरेर केही थान फोटोसुट गर्नेछन्, केही क्षण संबोधन गर्नेछन् र सबै जना हुल बाँधेर फर्कनेछन् । 

यो सब दृश्य हेरेर जग्गादाता बलबहादुर सुनुवार अवाक हुनेछन् । ४ छोरा र २ छोरीका पिता बलबहादुर कोदालो बोकेर ऐलानी पर्तीमा कोदो रोप्न हिँड्नेछन् । अब त मेलोमा खाजा, खाना र पानी पुर्‍याइदिने उनकी अर्धांगिनी पनि छैनन् । २ वर्षअघि उनको निधन भइसकेको छ । 

टिप्पणीहरू