राजाका नाममा कसम खाँदै रमिता

राजाका नाममा कसम खाँदै रमिता
सुन्नुहोस्

कमल थापाले ‘गल्ती भयो’ भन्न थाल्ने र लिङ्देनका मान्छेहरूले पार्टी छाड्दै जाने– पूर्वपञ्चबीच रमाइलो रस्साकस्सी शुरु भएको छ ।

‘राजाका सचिव लागेर मलाई अध्यक्षमा हराए । त्यो रिसले राजालाई केही भनेँ, मैले गल्ती गरेँ’, हालै सम्पन्न राप्रपा नेपालको बैठकमा कमलले भने, ‘ मानव जीवनमा यस्तो सानोतिनो मतभेद हुँदोरहेछ !’ उता, लिङ्देनतिरको लफडा अलग्गै छ । संसदमा १४ सीट रहेको उनको पार्टीभित्र विद्रोह हुने खतरा बढेको छ ।

उनले नयाँ–पुराना राष्ट्रवादीलाई समेट्न सकेनन् भन्ने् आरोप छ । उनको कार्यशैलीप्रति डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, ध्रुवबहादुर प्रधान, ज्ञानेन्द्र शाही, धवलसमशेर राणा पनि असन्तुष्ट छन् । केही नेता लोकन्थलीस्थित संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको घरमा बैठक बस्न पुगे । भोलिपल्टै लिङ्देनले तिनलाई हप्काए, ‘तपाईंहरू यसरी नेता नेताको घर जाने ?’ उनीसँग असन्तुष्ट नेताहरू भन्दैछन्, ‘गणतन्त्र बदनाम भएर समाप्तितिर जाँदा राप्रपाले सडक तताएर राजसंस्था पुनःस्थापित गर्नुपर्ने बेला  हो ।’ यसो भन्दै लिङ्देनतिरकै कतिपय नेताले आफ्ना मान्छेलाई कमल थापातिर पठाइरहेका छन् । भर्खरै तारानाथ लुइँटेल, विष्णु भट्टराईहरू गए । जाने तयारीमा अरु थुप्रै छन् ।

कमल थापाले भन्ने गरेका छन्, ‘पहिला राप्रपा नेपाल हुँदा सबै राम्रो भइसकेको थियो । हाम्रो चुनाव चिह्न गाई थियो । अहिले गाईबिना नै अरुको पुच्छर समात्ने काम भयो ।’ उनले राप्रपासँग एकता गरेपछि प्रचण्डको सरकारमा जानुहुँदैन भन्दा निरञ्जन थापा, दीपक बोहराहरूले उकासेर गएको भन्ने गरेका छन् । ‘त्यसो गर्दा लोकप्रिय चुनाव चिह्न गाई गयो, त्यसपछि महाधिवेशनमा दरबारका सचिवहरूले मलाई हराए । मलाई राजासँग रिस उठ्दा भूलबस भन्न नहुने कुरा भन्न पुगेँ’ कमलको भनाइ थियो, ‘मेरो रगत–रगतमा हिन्दू राज्य र राजसंस्था छ ।’ उनले बैठकमा भनेका थिए, ‘यदि लिङ्देन नेतृत्वको राप्रपाले सत्ताकेन्द्रित र फोहोरी राजनीतिक खेल खेल्दैन भने म लिङ्देनको नेतृत्व नै स्विकार्न पनि तयार छु । राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने कुरालाई मुख्य लक्ष्य बनाउनुपर्छ ।’ उनले दुर्गा प्रसाईंलाई समेत आफ्नो अभियानमा आउन आह्वान गरिसकेका छन् ।अर्कातिर, एकाएक दिलविकास राजभण्डारीलाई लिङ्देनले उपाध्यक्ष नियुक्त गर्नुका पछाडि कमल थापातिरका नेताहरूको भूमिका रहेको बताइन्छ ।

धुम्बाराहीस्थित दिलविकासले दिएको घरमा राप्रपाको केन्द्रीय कार्यालय छ । काठमाडौं महानगरपालिकाले विद्युत लाइन (हाइटेन्सन) को मुनि भएको भन्दै उक्त घर भत्काउन खोज्दा कतै त्यो काम दिलविकास आफैंले पो गराएका हुन् कि भन्ठानेर हत्तपत्त उनलाई उपाध्यक्ष बनाइयो भन्नेहरू त्यहींभित्रै छन् । खासमा त्यो घर भत्काउनुपर्छ भन्दै महानगरमा उजुरी बोकेर जाने व्यक्तिचाहिँ कमल थापा नेतृत्वको राप्रपाका सहमहामन्त्री दमन बस्नेत हुन् । यही मामिलामा ‘बालेनले राप्रपालाई देखिसहेनन्’ भनियो । तर, बालेन बिचरालाई यो कुरा यति भित्रबाट थाहा पनि थिएन । महानगर प्रहरीका एसपी राजु पाण्डे दमनका चेला हुन् । दमन क्योकुसिन कराँतेका इन्टरनेशनल कोच । गुरुले ल्याएको उजुरी हेर्नासाथ राजु टोली लिएर धुम्बाराही पुगे । बालेनले त्यसपछि मात्रै थाहा पाए । तर, लिङ्देनको मनमा प¥यो, ‘दिलविकास रिसाएर अफिस हटाउनलाई घरै भत्काइदिन लागे ।’ उनीहरू घर भत्किन नदिनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्न पुगे ।

त्यसअघि लिङ्देन आफैंले गरेको फोन बालेनले उठाएनन् । गृहमन्त्रीकहाँ पुगेर फेरि त्यहाँबाट बालेनलाई फोन गराइयो । त्यो फोनचाहिँ उनले रिसिभ गरे । एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले पनि गृहमन्त्रीलाई भने, ‘एउटा राष्ट्रिय पार्टीको अफिस राखेको घर यसरी सजिलै भत्काउन दिनु हुँदैन ।’ नारायणकाजीले बालेनलाई भने, ‘जिल्ला सुरक्षा समितिको बैठक बसेर, सूचना जारी गराउनुस् । अनि, भत्काउनुपर्ने भए भत्काउनुस् । यसरी त गर्न पाइँदैन नि !’

त्यसपछि सुरक्षा समितिको बैठक बस्यो । त्यसमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, महानगरबाट एसपी राजु, विद्युत् प्राधिकरणका प्रतिनिधिहरू थिए । विद्युतका प्रतिनिधिले ‘त्यो घर एक मीनेट पनि राख्नु हुँदैन’ भने । राप्रपाका प्रतिनिधिले ‘२१ दिनमा हामी आफैं घर खालि गर्छौं’ भने । यसरी २१ दिनसम्म खेल्ने मौका मिल्यो । दिलविकासका नातेदार कल्याणी राजभण्डारी र प्रभात चापागाईंको नाममा त्यहाँको जग्गा छ । कल्याणी अमेरिका बस्ने ।

प्रभात दिलविकासका कर्मचारीकी छोरी । उनीहरूले २१ दिनको बीचमा सर्वोच्चमा रिट दिए । त्यहाँबाट भदौ ६ गतेसम्मलाई अल्पकालीन आदेश जारी भएको छ । रिट निवेदकको माग छ, हाइटेन्सनलाई जमिनमुनिबाट लैजाने र घर भत्काउन नदिने । यसमा विद्युत प्राधिकरणको तर्क छ, ‘एउटा हाइटेन्सन जमिनमुनि लगेर कहाँ हुन्छ ? नेपालमा लाखौं घर हाइटेन्सनमा छन् ।’ त्यसमाथि राप्रपा रहेको घरको नक्सा पास भएको छैन, त्यसमाथि जमिनको मुआब्जा लिइएको  छ । 

टिप्पणीहरू