श्रीमतीलाई पुलिस रिपोर्ट लेखाएर चर्चभित्र पास्टर गुपचुप

श्रीमतीलाई पुलिस रिपोर्ट लेखाएर चर्चभित्र पास्टर गुपचुप
सुन्नुहोस्

आफू अपहरणमा परेको जानकारी दिएर बेखबर भनिएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का एकजना पास्टर अलग्गै चर्चमा भेटिएका छन् । लुक्दै, भाग्दै हिँडेका पास्टर कुमार चेपाङलाई स्थानीय युवाको सहयोगमा मनहरी गाउँपालिका–४ को नयाँबस्तीस्थित अनुग्रह चर्चबाट प्रहरीले पक्रेको छ । भदौ १० गते बिहान ३ बजेतिर प्रहरीको फन्दामा परेका चेपाङ अर्का पास्टर सूर्यबहादुर चेपाङसँग सुतिरहेको अवस्थामा थिए । घतलाग्दो कुरा त यो छ कि, चर्चको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो । 

घटना भदौ ३ गतेको हो । मनहरी बजारस्थित प्रभु बैँकनेर कुमार चेपाङ र उनका छिमेकी मनहरी गाउँपालिका–७ बस्ने सानुबाबु रुम्बाको भेट भयो । पुरानो लेनदेनको विषय निस्क्यो । सानुबाबुले चेपाङसँग सापटी पैसा फिर्ता मागे । कुमार र सानुबाबुबीच भनाभन र झगडा भयो । 

देख्नेहरू रमिते बने । दुबैजना बाटो लागे । त्यसपछि शुरु हुन्छ कथाको अर्काे अध्याय । त्यसदिन कुमार घर पुगेनन् । भोलिपल्ट बिहान १० बजेतिर श्रीमती आइतीमायालाई फोन गरी मलाई अपहरणकारीले अपहरण गरेको छ भनेर फोन काटे । त्यसपछि आइतीमायाले सानुबाबुलाई पक्राउ गर्न र श्रीमानको खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिन् । व्यक्तिगत विवादले जातीय विवाद निकाल्यो । नेपाल चेपाङ संघसहितका अगुवाहरूले कुमारको ज्यान जोगाउन र दोषीमाथि कारबाहीका लागि माग राख्दै विज्ञप्ति प्रकाशन ग¥यो । त्यसपछि तात्तिएको माहोल एकाएक भदौ १० गते बिहान साम्य भयो, जतिखेर सबै कथाको पर्दा च्यातियो । 

स्रोतका अनुसार कुमारले अपहरणको नाटक गरी श्रीमतीलाई जाहेरी दिन लगाएर लुकी बसे । जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा युवाले कुमारले चलाउने मोबाइल नम्बर पत्ता लगाए । मोबाइल ट्रयाकिङ भयो र पछ्याउँदै गएर कुमारलाई चर्चभित्रबाट पक्राउ गरियो । पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजालले भन्नुभयो, ‘नाटकीय ढंगले भएको यो घटनाबारे कुमारलाई हामीले अनुसन्धान गछौं ।’

त्यसो त प्रहरीले कुमारलाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरेपछि अब भने जाहेरी दिने पालो आयो सानुबाबुकी श्रीमतीको । श्रीमतीले इलाका प्रहरी कार्यालय मनहरीमा जाहेरी दिँदै भन्नुभएको छ, ‘मेरो सापटी लगेको रकम फिर्ता माग्दा निज कुमारले श्रीमान्लाई फसाउने उद्देश्यले साथीहरूसमेत मिलीजुली लुकाइछिपाइ श्रीमतीलाई जाहेरी दिएको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न माग गर्दछु ।’

सुनिएअनुसार कुमारसहितको टोलीको आर्थिक लेनदेन धेरै ठाउँमा तिर्न बाँकी छ । उनीहरू रकम तिर्नुभन्दा लफडा निम्त्याएर साहुहरूलाई दंग्याउन उद्यत रहेको बताइन्छ । 

टिप्पणीहरू