कालापानी दिल्लीलाई दुख्यो, काठमाडौंलाई दुखेन
देशभक्त नेता स्वर्गीय प्रेमसिंह धामीले २६ वर्षअघि ‘काठमाडौँलाई कालापानी किन दुख्दैन’ भनेर सिंगो देश र देशवासीलाई प्रश्न गरेका थिए । जनआस्था साप्ताहिक पत्रिकाको २०५४ भदौ २५ गते प्रकाशित यही शीर्षकको लेख उहाँको जीवनको अन्तिम लेख बन्न पुग्यो । निधन हुनुभन्दा दुई दिनअघि प्रकाशित यस लेख र यो प्रश्नको उत्तर अहिलेसम्म भेटिएको छैन ।
यसबीच अतिक्रमित भूमि समेटिएको चुच्चे नक्सा सिंगो देशले एकमतसाथ प्रकाशन गरेको छ । भारतलाई कूटनीतिक नोट पठाउने र वार्ताको थालनी गर्ने प्रयास पनि भएका छन् । अतिक्रमित क्षेत्र नजिकै व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । चीन सीमा नजिकको छियालेक क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी संरचना निर्माण भएको छ । राप्लाको दुम्लिङ, व्यास गाउँपालिका केन्द्र सुन्सेराका साथै सीमाक्षेत्र रहेका दत्तु, जोलजिवी र लालीमा बिओपी राखिएका छन्् । अतिक्रमित भूगोल नजिकका गाउँलाई जोड्दै दार्चुला–टिंकर सडक निर्माणमा नेपाली सेना परिचालन भएको छ ।
त्रिदेशीय क्षेत्रमा सुरक्षाकर्मीको निरीह उपस्थिति र परिचालन, टिंकर सडक निर्माणको अवस्था, भारतसँगको वार्ता प्रयास, सीमा अतिक्रमणको विषय उठान र संबोधन आदिको अवस्था हेर्दा अहिले पनि काठमाडौंलाई कालापानी नदुखेको प्रष्टै देखिन्छ ।
उता, दिल्लीलाई भने कालापानी दुःखेको छ । कालापानीको विषय एकपटक जुनस्तरमा नेपाल र नेपालीले उठाए, त्यसको असर दिल्लीलाई अवश्य परेको छ । ऐतिहासिक तथ्य, आधार र प्रमाण सबै हिसाबले नेपाली भूमि ठहर हुने अतिक्रमित क्षेत्रबारे थप आवाज नउठोस् भन्ने दिल्लीको चाहना छ । दिल्लीको दिल दुखिरहेको छ किनकि सनातन धर्म र संस्कारमा कसैमाथि भइरहेको अन्यायले भित्रभित्रै पोलिरहन्छ । तर राष्ट्रिय अडानको विषय भएकोले भावनात्मक दुःखाइसंग यसको सोझो साइनो हुँदैन । दिल्लीको सनातनी दिल दुःखे पनि शासकीय शैलीले त्यो दुःखाइलाई प्रदर्शन हुन दिँदैन ।
सीमावर्ती क्षेत्रमा मोटरपुल, झोलुंगेपुल, एम्बुलेन्स गाडी, स्कूल बस, विद्यालय भवन निर्माण लगायतको सहयोग गरेर सीमा अतिक्रमणको मुद्दा ढाकछोप गर्ने प्रयासमा दिल्ली सक्रिय छ । आपसी मित्रता, सदभाव र परस्पर निर्भरताको नाममा नेपाल र नेपालीहरूलाई सानोतिनो विकास सहायतामा भुलाइरहने चाल छ । दिल्लीको यो सबै प्रयास कालापानीको सीमा अतिक्रमणलाई भुलाउने वा सेलाउने ध्येयबाट केन्द्रित छ ।
दिल्लीले वार्षिक दुई÷चार करोडको विकास सहायता प्रदान गरिरहनुको विशेष अर्थ छ– सीमा क्षेत्रका बासिन्दालाई आफूप्रति नरम बनाउनु ।
भारत हाम्रो छिमेकी मात्र होइन, मित्रराष्ट्र पनि हो । सामाजिक, सांस्कृतिक, आर्थिक सबै हिसाबले भारतसँग हाम्रो सर्वाधिक निकटताको सम्बन्ध छ । एउटा असल मित्रले हामीलाई, हाम्रो मागलाई सही ढंगले संबोधन गर्नुपर्छ । सीमा अतिक्रमणजस्तो मुद्दालाई ऐतिहासिक तथ्य, प्रमाण र आपसी हितका आधारमा टुंग्याउनुपर्छ । सीमा अतिक्रमणको विषय थाती राखेर सीमा क्षेत्रमा केही विकास सहायता गर्दैमा असल छिमेकी र मित्रताको भूमिका निर्वाह पूरा हुँदैन ।
कालापानीको मुद्दा संबोधन गर्ने, समाधान गर्ने विषय नेपाल र भारत दुबै देशको साझा जिम्मेवारी हो । यो साझा समस्या पनि हो । यो समस्या समाधान नहुँदासम्म असल मित्रता अगाडि बढ्न सक्दैन । यसका लागि दुबै देशका सरकार जिम्मेवार र गम्भीर हुनुपर्छ । सीमाक्षेत्रमा भइरहेको भारतको फुटकर विकास सहायता र नेपाल सरकारको भुलभुलैयाले कालापानीको समस्या समाधान हुँदैन ।
टिप्पणीहरू