कसरी विश्वासमा धोका खान्छन् केटीहरु

कसरी विश्वासमा धोका खान्छन् केटीहरु
सुन्नुहोस्

करिना ओलेगोभ्ना बर्डुच्यान सेन्टपिटर्सवर्गबाट १६ वर्षकी छात्रा थिइन् । उनकी आमाको जीवन पतिबिनाको भएकोले दिनचर्या कष्टकर थियो । करिनालाई सानैदेखि कलाप्रति गहिरो लगाव थियो । त्यसैले अभिनय सिकाउने स्कूलमा भर्ना भइन् र नृत्य तथा नाटकमा भाग लिन थालिन् । उनको ठूलो सपना भनेकै रुसको सबैभन्दा ठूलो थिएटर स्कूलमा भर्ती हुने, प्रख्यात अभिनेत्री बनेर अमेरिकामा बसाइ सर्ने थियो ।

उनी भावुक लेखिका पनि थिइन् । कविता र निबन्धमार्फत मनका भावना पोख्थिन् । १५ वर्षको उमेरदेखिनै संगीत पनि सोखको विषय थियो । नयाँ–नयाँ संगीत र गायक खोज्दै हिँड्ने क्रममा उनको भेट १९ वर्षीय  म्याक्सिम गोलोभात्स्किखसँग भयो । म्याक्सिम गोथिक रक गायन समूहका सदस्य थिए । यो समूह पंकहरूको थियो भने उनको जीवन अनौठोखालको थियो, उट्पट्याङ खाले लुगा लगाएर हिँड्थे, भ्याम्पायर (भूत, पिशाच) जस्तो देखिने मेकअप गर्थे । छोटो समयको भेटघाटमै करिना उनीबाट धेरै प्रभावित बनिन् । आदर्श पुरुष ठान्न पुगिन् । म्याक्सिमले पंक्सहरूको जस्तै लगाउने लुगा लगाउन थालिन्, उस्तै मेकअप गरी हिँड्न र म्याक्सिमले सुन्ने गरेकै जस्तो गीत मनपराउन र, विस्तारै म्याक्सिमलाई प्रेम गर्न थालिन् । तर, म्याक्सिम भने आफ्नै धूनमा मस्त थिए ।

करिनाको भावनाप्रति अनभिज्ञ । यद्यपि, साथी बनेर दुबै जना सँगसँगै घुम्थे, कन्सर्टमा भाग लिन्थे । करिनाकी आमा नादिया छोरीको म्याक्सिमसितको बढ्दो हिमचिमलाई मन पराउँदिन थिइन् । उनले पटक–पटक त्यसरी नहिँड्न चेतावनी पनि दिइन् । तर, करिनामा म्याक्सिमको प्रभाव यति धेरै परिसकेको थियो कि आमाको चेतावनीका बाबजुद आमाले थाहा नपाउने गरी भेट्न गैरहिन् । यसबीच, सन् २००९ जनवरी १९ को दिन करिना सधैंझैँ बिहानै स्कूल गइन् । स्कूल सकेपछि ग्रुप पढाइ गर्न साथीहरूको घरमा पुगिन् । नादियाले यो कुरा थाहा पाएपछि छोरीलाई फोन गरेर भोलि बिहान ७ नबज्दै घर आइपुग्न भनिन् । तर, करिना घर पुगिनन् । नादियाले छोरीको साथीलाई फोन गरेर करिना कता छिन् भनेर सोधिन् । उनले करिना अघिल्लो दिन साँझै अर्को साथीकोमा जान्छु भनेर गएको जवाफ पाइन् । 

त्यो दिन म्याक्सिमले करिनालाई फोन गरेर कोठामा बोलाएका थिए– एउटा रक– रात्रिभोज मनाउने गरी । म्याक्सिमले बोलाउनेबित्तिकै आमालाई थाहै नदिई साथीको घरबाट सिधै उनले बोलाएको स्थानमा पुगिन् । उनी आइपुगेको थाहा पाउनासाथ म्याक्सिमले अर्को कोठामा बसिरहेका साथी युरी मोझ्नोभलाई ‘मासुको बास्ना आयो’ भने । त्यो म्याक्सिमकी अर्की केटी साथी एकातेरिना जिनोभ्यएभाको घर थियो । पार्टीमा अर्का दुई जना केटा पनि थिए । उनीहरू राति अबेरसम्म गफ गरेर बसे । रक्सी खाएर होहल्ला गरे । पछि म्याक्सिमले दुई जना केटा साथीलाई घर पठाइदिए भने एकछिनपछि एकातेरिना पनि ‘म त सुत्न जान्छु’ भनेर आफ्नो कोठामा गइन् । उनी गएपछि म्याक्सिम र करिना बाथरूम पसे ।

एकछिनपछि जब एकातेरिनाको निद्रा खुल्यो उनी बाथरूम जान लाग्दा युरीले बीचैमा रोके । र ‘खुरुक्क कोठामा जा’ भनेर थर्काए । एकातेरिनाले सोचिन् कि म्याक्सिम र करिना यौनको खेलमा व्यस्त होलान् । भोलिपल्ट बिहान खाने समयमा म्याक्सिम र युरीले आफू र एकातेरिनाका लागि पनि टेबुलमा आलु कवाब राखे । त्यसमा मासु पनि थियो । एकातेरिनाले करिना कता भनेर सोधिन् । युरीले घर फर्किइन् भनेर जवाफ दिए । एकातेरिनाले जब आलुकवाबमा भएको मासुको चोक्टा झिकेर खाए उत्नीखेरै म्याक्सिमले ‘लौ, करिनाको मासु खायौ’ भने । त्यति मात्र होइन उनले करिनालाई कसरी मारेँ भनेर पनि सुनाए । 

त्यो रात ३ जना मध्यरातसम्म रक्सी खाएर बसेका रहेछन् । रक्सीमै मातेर म्याक्सिम र करिनाले शारीरिक सम्बन्ध पनि राखेछन् । त्यसपछि दुवै नुहाउन बाथरूम पसे । भित्र पस्नेबित्तिकै म्याक्सिमले करिनाको दुबै हात समाएर युरीलाई बोलाए । दुबैजना मिलेर करिनालाई बाथटपमा डुबाएर मारे । धारिलो चक्कुले मरिसकेको शरीरलाई काटे । टुक्रा–टुक्रा पारे । एसिडले बाथरूम सफा गरे । केही टुक्रा राखेर बाँकीलाई ठेगान लगाए । र, राति नै करिनाको मासु हालेर आलुको तरकारी बनाइ खाए । र, त्यही तरकारी भोलिपल्ट एकातेरिनालाई पनि ख्वाए । एकातेरिनाकै रिपोर्टको आधारमा म्याक्सिम र युरी पक्राउ परे । प्रहरीसँगको बयानमा उनीहरूले भने ’त्यो दिन खानलाई हामीसित केही थिएन, मात्र रक्सी थियो । मासुको तलतल लागिरहेको थियो, राति बाहिर मासु किन्न जान पनि सम्भव थिएन त्यसैले करिनालाई नै काटेर मासु खाने योजना बनायौं । भोक मेट्न उनलाई मार्यौं, उनको मासु खाएकोमा हामीलाई कुनै अपराधबोध छैन ।’प्रहरीले करिनाको शरीरको बाँकी टुक्रा फोहोर फाल्ने ड्रममा फेला पार्‍यो । लाश कुहिसकेको थियो । अदालतले मान्छे मारेर मासु खाएको अपराधमा

म्याक्सिमलाई १९ र युरीलाई १८ वर्षको कारावासको सजायँ सुनायो । करिनाकी आमा नादियाले करिनाको कोठामा एउटा डायरी भेट्टाइन् । डायरी कविताले भरिएको थियो र सबै म्याक्सिमप्रति समर्पित थियो । 

टिप्पणीहरू