टेकनाथको कहाँ छ र बरै टेक्ने ठाउँ !

टेकनाथको कहाँ छ र बरै टेक्ने ठाउँ !
सुन्नुहोस्

भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन ।

भुटानी राजा खुशी होलान् र नेपाली भाषीलगायतका अल्पसंख्यकले सुख पाउलान् भन्ने आशासहित टेकनाथ रिजालले जनताका समस्या जाहेर गरेका थिए । तर उल्टै राजाको कोपभाजनमा परेपछि शरण लिन आएका उनलाई नेपाल सरकारले अपहरणको शैलीमा समातेर ‘कराईबाट भुङ्ग्रो’मा पुर्‍यायो । रिजाललाई जिम्मा लगाएवापतको फिरौती रकम केही नेपाली नेता र राजनीतिक पार्टीले प्राप्त गरेका विवरण पनि सार्वजनिक भएका छन् । 

रिजालको ठाउँमा अरू कोही हुन्थ्यो भने सायदै दोहो¥याएर नेपाल फर्किन्थ्यो ! शरणको मरण गर्नुहुन्थेन । तर नेपालका तत्कालिन राजाले भुटानी राजालाई खुशी पार्न कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय नियम कानूनको पालना त गरेनन् नै मानवीय संवेदनाको पनि ख्याल गरेनन् । उदारवादी राजाको छवि बनाउँदै गएका वीरेन्द्रको मानवताविरुध्दको यो कलङ्क इतिहासले नबिर्सने घटना हो ।

रिजाल भुटान सरकारबाट देश निकालामा परेका र संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर) को अभिलेखमा नपरेका व्यक्ति हुन् । यस्तो ‘स्टाटस’मा अन्य कुनै व्यक्ति नहोला । जो राज्य विहिन त छँदैछ तर शरणार्थीको अभिलेखमा पनि छैन । तर उनैको नेतृत्वमा प्रजातन्त्र र मानवअधिकारको माग गर्दै भुटान छोडेका करिव सवा लाख मानिसलाई युएनएचसीआरले भुटानी शरणार्थीको अभिलेख राखेर अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायतका ८ वटा विकसित देशहरूमा पुनर्वास गराइसकेको छ ।

भुटानी राजाको सल्लाहकार परिषदजस्तो राजकीय पदमा हुँदाहुँदै राजाकै कोपभाजनमा परेपछि शरण लिन आएका रिजाललाई समातेर बुझाइएपछिको एक दशकभन्दा लामो समय भुटान सरकारले उनलाई जेलमा राख्यो । 

टेकनाथ अहिले पनि भुटानी राजाविरुद्ध भुटानमा कुनै नेपाली भाषीले आन्दोलन गरेको स्वीकार गर्दैनन् । उनको भनाइ हो– ‘दमन सहन नसकेपछि नेपाली भाषीले भुटान छोड्न बाध्य भएका हुन् । छोड्न वाध्य बनाइएकाहरूले बाहिर आएर दमनको विरोध गर्नु स्वभाविक हो ।’ 

उताका राजाको कानूनले कसुर ठहर गरे पनि यताको राजनीतिक परिस्थितिमा आएको फेरबदललाई उनले विश्वास गरेको हुनुपर्छ । भुटानी जेलबाट नेपाल झरेका रिजाल दुई दशकसम्म नेपालको खुला कैदी जीवनपछि साँच्चिकै कैदखानाभित्र पुर्‍याइएका छन् । हिजोसम्म विश्व परिचित मानवाधिकार आन्दोलनका यी मसिहाको पक्षमा अब बोलिदिने कोही बाँकी छैनन् । 

सिध्दान्ततः कुनै व्यक्तिको मानवअधिकार अहरणीय हुन्छ र आफूलाई सफाइ दिने पूर्ण अधिकार हुन्छ । नेपाल सरकारले राज्यविरुद्धको अभियोग लगाएको राज्यविहिन नागरिकका पक्षमा नेपाली कानून व्यवसायीले बहस पैरवी गर्न पाउँछन् कि पाउँदैनन् ? न्यायको सिध्दान्त र अभ्यासमा यस्तो प्रश्न नहोला तर प्रकारान्तरले टेकनाथ एकपछि अर्को जटिलताको भुमरीमा परिरहेको देखिन्छ । ‘न टेक्ने, न समाउने’ यो अवस्थामा उनी किन पुगे ? 

भुटानी राजाबाट पाउन पर्ने इनाम र भुक्तमानको अधिकतम हात पारेका रिजालले विश्व समुदायले गरेको सम्मान र विश्वासलाई जीवनको उत्तरार्धमा आएर कसका लागि दाउमा राखे होलान् ? श्रीमती कौशिलाको कुनै माग र गुनासो पुरा गर्नुपर्ने बाध्यता पनि थिएन । कुनै गुनासो बिना टेकनाथको सहारा बनेकी ६६ वर्षिया कौशिला नियतिले डोहो¥याएर यहाँसम्म ल्याइपु¥याएको बाहेक अरु कसैलाई दोष दिन चाहन्नन् । 

आफ्नै छोराहरूले विकसित देशको बास रोजेकोमा चित्त नबुझाएका टेकनाथको उद्देश्य सक्कली भुटानी शरणार्थीलाई नै पनि विकसित देशमा पुनर्वास गराउने होइन । उनको एक मात्र अर्जुन दृष्टि थियो– नेपालको शरणार्थी क्याम्पमा रहेका नागरिकहरूलाई ससम्मान भुटान फर्काउने । उनैले भुटानी शरणार्थीका नाममा नक्कली भुटानी खडा गरेर आर्थिक चलखेल गरेको र केही लाख रुपियाँ लिएको कुनै प्रमाण र पुष्टि हुँदैन । बरू नेपाल सरकारले कबुल गरेबमोजिम उनलाई दिनुपर्ने दुई दशक यताको करिव २ करोड रूपैयाँको बक्यौता देखिन्छ ।

नेपाल सरकारले गठन गरेको आयोग र यसैको आडमा नक्कली शरणार्थीका नाममा आर्थिक चलखेल शुरु गरेका बिचौलियाहरूले रिजाललाई बाँकी शरणार्थीका समस्या समाधन, पुनर्वास र भुटान फिर्ताका लागि हामी काम गर्दैछौं भनेर केही अनधिकृत सहयोगका निम्ति बाध्य पारेको देखिन्छ । अभिलेखमा छुटेका भुटानी हुन् भन्दै रिजालको नेतृत्वमा रहेको मानवअधिकार संस्थाको सदस्यता दिलाएर नेपाली नागरिकलाई भुटानी प्रमाणित गराउने प्रयास आयोग वा बिचौलियाहरूले गरेका छन् । उनका आफन्त, सचिवालयका मानिसहरू बनेर सर्वसाधारणलाई भ्रममा पारेका छन् । रिजाललाई हामी राज्य(सरकार) का प्रतिनिधि हौं, तपाईंको दुःख सुखमा साथ दिन्छौं भनेर सरसापटी दिई वा सानोतिनो गर्जो टारिदिँदै नक्कली प्रकरणमा आइपर्न सक्ने अडचनमा लेनदेनको प्रमाण जुटाउने उद्देश्यले ती कारोबारको अभिलेख अघि सारेका हुन् । केही लाखको लालचमा ७६ वर्षीय यी बृद्धले जीवन पर्यन्तको प्रतिष्ठा राखेका होइनन् । 

गणतन्त्र स्थापनापछिको नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०६२–६३ सालतिर नै रिजाललाई जीपनयापनका निम्ति वार्षिक १२ लाख रूपैयाँ, एउटा गाडी र एक जना सहायकसहितको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो सुविधा नियमित पाउन सकेनन् । पटक पटक धेरै नेताहरूका घरदैलोमा धाएपछि कहिले कुनै बर्षको एकमुष्ट वा कतिपय वर्ष उनले त्यो रकमको आश मात्र गर्नु पर्‍यो, हात परेन । कहिले उनी कराइ चुल्होमा बसाएर तेल खोज्न हिंडे भने कहिले तरकारी केलाएर चामल जम्मा गर्न निस्के । तर जीविकाका लागि खटाउँदै र कटाउँदै पाएको त्यही रकममा पनि सञ्चारमाध्यमहरूले बक्रदृष्टि लाउन थालेपछि वक्तव्य नै निकालेका थिए– ‘टेकनाथ रिजालले राज्यबाट र शरणार्थीका नाममा लाखौं रूपैयाँ लिइरहेको छ भनेर जनमानसमा भ्रम फैलाउने काम जे जसरी भएको छ, त्यो निन्दनीय छ, अन्यायपूर्ण छ ।‘ नक्कली शरणार्थी प्रकरण सतहमा आउनु पहिले नै उनले नेताहरू र प्रहरीलाईसमेत भेटेर र लेखेर पनि जानकारी गराएका थिए,भुटानी शरणार्थीहरूका नाममा बिचौलियाहरूको चलखेल भइरहेको छ ।

भुटानी शरणार्थीहरूलाई पुनर्वासका लागि जहाज चढाएर नेपालको आकाशमा उडाउन थालेको देख्दा भावविह्वल हुँदै टेकनाथले भनेका थिए– ‘यो जन्ममा मेरा इष्ट मित्र, साथीभाइहरू जो जसले मबाट जेजस्तो आशा गरेका थिए, त्यो यो जन्ममा पुरा गर्न सकिन । मेरो बाध्यतालाई बुझेर हृदयबाट नै माफ गरिदिनु होला । आमाबाबु र पितृ वा इश्वर जे भने पनि भुटान नै हो मेरालागि ।’

आफ्ना देशका नगरिकलाई देश निकाला गरेर विश्वका खुशी नागरिकको कथित ताज ओढेको भुटान सरकारले अहिलेको शरणार्थी समस्यालाई भोलि कसरी परिभाषित गर्छ ? त्यसको अन्तर्राष्ट्रियकरण र आफ्ना भावी सन्ततीलाई इतिहास कसरी पढाउँछ ? त्यसको आकलन गुगल सर्चहरूमा ५० वर्षपछि म कस्तो देखिन्छु भनेर ‘फोटोसप’मा आफ्नो अनुहार खोजेजस्तो गरी फेला पर्दैन । तर आश्चर्य मान्नु पर्दैन भोलि भुटानले यो सन्देश सार्वजनिक गर्‍यो भने ‘सन् २००० को दशकमा प्रजावत्सल भुटानी राजाको लोकप्रियता र भुटानको विकासले आकर्षित भएर भारतको बाटो हुँदै दक्षिण भुटान छिर्न अनधिकृत प्रयास गर्ने पूर्वी नेपालको खोला किनार र जङ्गलहरूमा बसोबास गरिरहेका करिब १ लाख नेपालीहरूलाई भुटान सरकारले रोकेको थियो ।’ भुटान सरकारले आगामी केही वर्षपछिका लागि यस ‘न्यारेसन’को विभिन्न भाषामा अनुवाद शुरु गरिसकेको हुनसक्छ !

इतिहास जित्नेको मात्र लेखिन्छ भन्छन् तर हारेर पनि नहार्नेको इतिहासमा लेखिने नाम हो टेकनाथ रिजाल । जाति र भाषाका लागि लडेका यी जिउँदा शहिद र असफल यिनै टेकनाथकै लागि त लेखेका थिएनन् बालकृष्ण समले यी पंक्ति !

दुःखीको घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर ! दया राखी मलाई अझै दुःख दे ।

 

टिप्पणीहरू