अर्थतन्त्र उकास्ने कसको आँट !

अर्थतन्त्र उकास्ने कसको आँट !

संकटग्रस्त अर्थतन्त्र सम्हाल्नुपर्ने छ, तर जिम्मेवार पदाधिकारीलाई त्यतातिर ख्याल छैन । प्रधानमन्त्रीदेखि सत्तासाझेदार दलका सबै नेता यो तीतो यथार्थ मान्छन्, तर मान्छे फेरिँदैनन् ।

अर्थमन्त्री डा.प्रकाशरण महतको सन्दर्भमा यस्तो भएको हो । उनले काम गर्न सकेनन् भन्नेमा प्रधानमन्त्री, उनकै पार्टीका सभापति शेरबहादुर देउवादेखि साझेदार नेताहरू सबै एकमत देखिन्छन् । तर, अर्को ल्याऔं भन्दा कोही तयार हुन्नन् । संकटलाई हल गर्ने आर्थिक योजना र कार्यक्रम ल्याउनुपर्ने हो । ‘इकोनोमिकल रिल्याक्स’ का कार्यक्रमहरू मुलुकका लागि अत्यावश्यक छ । तर, अर्थतन्त्र संकटउन्मुख छ भन्ने कुरा नै मन्त्री स्वीकार गर्दैनन् ।

गठबन्धनको बैठकमा अर्थमन्त्रीकै कारण सत्तारुढ गठबन्धन बदनाम हुने भयो भन्नेसम्मको कुरा उठेको छ । तर, स्वयं देउवा आफ्नो मान्छे फुत्किने कारण बोल्न चाहनुहुन्न । त्यसमाथि गठबन्धन दलभित्र ब्रेक थ्रु गर्ने काविल अर्थशास्त्रीको अभाव छ । यो स्थितिमा देउवापत्नी आरजुसमेतलाई सजिलो हुने व्यक्ति पनि उनै डा.महत भए । पहिला अर्थ मन्त्रालय चलाइसकेका ज्ञानेन्द्रबहादुर कार्की सांसद छन् र उनलाई अर्थमा फर्काउनेबारे पनि गाइँगुइँ चल्यो । तर, कांग्रेसभित्रैको हानाथापका कारण तत्काल त्यस्तो सम्भावना छैन ।

अर्कातिर, विदेशी मुद्राको सञ्चिति ठीक अवस्थामा रहेको राष्ट्रबैंकको दावी छ । तलब खुवाउन भर्खरै १० अर्ब रूपैयाँ आन्तरिक ऋण लिइयो । भन्सार कर लक्ष्यअनुसार उठेन । अहिले दशैं–तिहार मुखमा आएको छ । यो खरिद, बिक्रि बढी हुने समय हो । तर, अहिलेसम्म धेरैले सामान आयात गर्नेमा रुची देखाइरहेका छैनन् । विशेषतः मारवाडी समुदायले प्रतितपत्र (एलसी) खोलेर विदेशबाट सामान आयात गर्न हानाथाप चल्ने यो बेला कारोबार सुनसान छ ।

यसबीच चिनियाँ राजदूत छन सोङले भारतसँग नेपालको व्यापार असन्तुलन भएको भन्दै विद्युत निर्यात र कृषि उपजको ओसारपसारमा नेपालले सचेत हुनुपर्ने बताएका छन् ।

हुन पनि नेपालले गत वर्ष १६ सय १२ अर्ब विदेशसँग कारोबार गरेको थियो । जबकि निर्याततर्फ दुई सय अर्ब मात्रै छ । र, १४ खर्ब खुद घाटा छ । वैदेशिक व्यापारमध्ये नेपालको ७० प्रतिशत कारोबार भारतसँग हुँदै आएको छ ।

 

टिप्पणीहरू