गाँजाको गुनासो गर्दा एमालेबाट बर्खास्त

गाँजाको गुनासो गर्दा एमालेबाट बर्खास्त
सुन्नुहोस्

उतिबेला राधाकृष्ण मैनालीहरू बाटैमा थाकेर लम्पसार भए, यतिबेला ईश्वर पोखरेलहरू जनकपुरमा जहाज ओर्लिन नपाएर काठमाडौं फिर्ता ! 

२०४६ सालको भदौ ९ देखि १४ गतेसम्म सिराहाको विष्णुपुरकट्टीस्थित सर्रे अम्बासमा चौथो महाधिवेशन सम्पन्न भएकै ठाउँ गत साता एमालेको सचिवालय बैठक राखिँदा यस्तो प्रसंग निस्किएको हो । अध्यक्ष केपी ओलीले सुनाउनुभएअनुसार, ०४६ मा काठमाडौं कार्यक्षेत्र भएका नेता राधाकृष्ण मैनाली थकानका कारण उक्त गाउँ पुग्न नसकेर बाटैमा लमतन्न परी सुत्नुभयो । ‘पुलिसले लगोस् कि यमराजले लगोस्, म त हिँड्न सक्दिनँ’ भन्दै उहाँ बाटैमा ढल्नुभएको कुरा बैठक स्थलमा ओली सुनाउँदै हुनुहुन्थ्यो । त्यसबेला राधाकृष्णसँगै कृष्णगोपाल श्रेष्ठ पनि थिए । पछि स्वयंसेवकहरूले उठाएर महाधिवेशनस्थलसम्म पुर्‍याएको ओलीको विवरण सुनेर अरु नेता गलल हाँसे । संयोग कस्तो भयो भने, यसचोटि काठमाडौंबाट उडेको बुद्ध एयरबाट उक्त बैठकमा भाग लिन गएका उपाध्यक्ष ईश्वर पोखरेलहरू सवार जहाज जनकपुरमा अवतरण हुन सकेन । काठमाडौं फिर्ता भई फेरि अर्को उडानबाट जानुपरेको थियो । शायद यसैलाई भन्दछन्, समय र प्रविधिको खेल । 

उतिबेला सबै नेता गाडी फेर्दै लाहानमा उत्रिई पैदल नै कार्यक्रमस्थलसम्म पुगे । यतिबेला जहाज नचढी जाने नेता पाइएनन् । त्यहीँसम्म जहाज नपुग्ने कारण कोही जनकपुर, कोही राजविराज त कोही विराटनगर हुँदै गएका थिए । लाहान, गोलबजारतिर पुगेपछि फेरि समस्या भयो, यातायातकै । साइकल जीवनबाट गुज्रिएर मोटरसाइकल हुँदै गाडीमा बानी परेका नेताहरू यसचोटि सर्रे अम्बास पुग्नका निम्ति कोही चतराको बाटो त कोही आफूले जितेको धनगढीमाई नगरपालिका भएर लहान र गोलबजारबाट जीप र मोटरसाइकल प्रयोग गर्न बाध्य देखिन्थे । किनभने, कार्यक्रमस्थलसम्मै पुग्नलाई मोटरबाटो सहज छैन । उतिबेला बैठक त्यही घरको एक तलामाथि बसेकै शैली यसपटक पनि अपनाउन खोजियो ।

भुइँतलामा थुप्रै मान्छे जम्मा भएका थिए । उत्तरतर्फ उद्घाटनका निम्ति एउटा मञ्च पनि बनाइएको थियो । बैठकस्थल, अर्थात् माथिल्लो तलामा ०४६ सालतिर पाँच सदस्यीय अध्यक्षमण्डल बसेको ठाउँ यसपटक अध्यक्ष केपी ओली एक्लै हुनुहुन्थ्यो । उहाँ स्वयं पनि ०४६ मा सम्पन्न चौथो महाधिवेशनको आयोजक कमिटी सदस्य मात्रै हो । त्यसबेला अध्यक्ष मण्डलमा रहने पाँच भाइमध्ये यसचोटि कोही भएनन् । त्यसमा तत्कालिन महासचिव झलनाथ खनाल, जीवराज आश्रित, माधवकुमार नेपाल, मदन भण्डारी र सीपी मैनाली हुनुहुन्थ्यो । यसमध्ये जीवराजको देहान्त भइसक्यो भने झलनाथ र माधव एमालेबाट अलग भई एकीकृत समाजवादी पार्टी चलाइरहनुभएको छ । सीपी अलग्गै नेकपा (माले) नामक पार्टी चलाइरहनुभएको छ । उक्त महाधिवेशनबाट निर्वाचित महासचिव मदन पनि अहिले हामीबीच हुनुहुन्न । त्यसबेला तीन सदस्यीय टिपोट कमिटीमा हुनेमध्ये स्वयं केपी ओली अध्यक्ष र ईश्वर पोखरेल उपाध्यक्षका हैसियतले यसपालि उपस्थित हुनुुभयो । उक्त कमिटीका अर्का सदस्य प्रदीप नेपाल अस्वस्थ्य हुनुहुन्छ, पार्टी पनि फरक अर्थात् एकीकृत समाजवादी हो ।

०४६ सालमा महाधिवेशनकै लागि भनेर उक्त घर (त्यसबेला नयाँ) । पार्टीकै सहयोग र स्थानीय जनश्रमदानबाट बनेको थियो । यसचोटि शंकर पोखरेलले बैठक शुरु गर्दै प्रस्ताव पेश गर्नुभयो । त्यसपछि प्रदीप ज्ञवालीलाई लेख्न लगाइएको प्रस्ताव पढ्न लगाइयो । प्रस्ताव पढ्न १०–१५ मीनेट लाग्यो । सोही बैठकले मेची–महाकाली अभियान सञ्चालन गर्ने र पहिलाजस्तो पूर्वबाट पश्चिम जाने नभई पश्चिमबाट पूर्वतिर लाग्ने छ । केन्द्रीय कमिटीमा मनोनीत भएका केदार न्यौपानेसहित दुईजनाको कार्यविभाजन उनीहरूलाई नै सोधेर गर्ने भन्ने पनि माइन्युटमा छ । 

उता, काठमाडौंका पूर्वमेयर केशव स्थापितले पार्टी छोडेकोबारे सोही बैठकताका नेताबीच चर्चा चलेको छ । उनले गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने प्रस्ताव लैजाँदा केपी ओलीले नमानेको कारण चित्त दुखाउने गरेका थिए । तर, त्यही कुरा अहिलेको सरकारले नीति तथा कार्यक्रममा ल्याएको छ तर ‘मेरो कुरा अरुले सुन्ने, आफ्नो अध्यक्षले नसुन्ने भएपछि म किन यो पार्टीमा बस्ने ?’ भन्दै केही महिनादेखि निहुँ खोज्दै थिए । त्यसपछि उनले निरन्तर ‘पार्टीमा काम गर्ने रुची छैन’ भन्दै घुर्की लगाइरहेको बेला सचिवालय बैठकले पार्टीबाटै निश्कासन गरिदियो । पछिल्लो स्थानीय निर्वाचनमा काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यले खुलेआम आफूमाथि अन्तर्घात गरेको सुनाउँदा पनि मतलब गरिएन भन्ने उनको अर्को गुनासो थियो । मौखिक गुनासोको भरमा ‘राजीनामा स्वीकृत’ गरिएका उनीसँगै पार्टीबाट निकालिने सिराहाका प्रमोदनारायण यादव माओवादीबाट आएका हुन् । उनले ‘बा’ प्रति उच्च सम्मान छ तर अब म आफ्नै पार्टी बनाउँछु भनेका थिए । त्यसपछि सचिवालय बैठकबाट उनलाई पनि हटाउने निर्णय भएको छ । 

च्यासलको सोही बैठकमा अध्यक्ष ओलीले नाम नलिई गोकुल बाँस्कोटाहरूप्रति गुनासो गर्नुभयो । ‘पार्टीभित्र अराजकता सिर्जना गर्ने, तोकेको ठाउँमा नजाने’ ?
 

टिप्पणीहरू