मन्त्रीभन्दा पीए जान्ने, कसको आदेश मान्ने ?

मन्त्रीभन्दा पीए जान्ने, कसको आदेश मान्ने ?
सुन्नुहोस्

अधिकार पाइएन भन्दै राज्यमन्त्री रुन्छन्, पर्याप्त अधिकार भएका मन्त्रीलाई भने स्वकीयहरूले फनफनी घुमाउँछन् । गतिलो राजनीतिक पृष्ठभूमि नभएका र काकताली परेर सिंहदरबार छिरेका रञ्जिता श्रेष्ठ, अनिता साहदेखि सीता गुरुङसम्म अहिले क्याबिनेट मन्त्री छन् । 

न त विषयवस्तुबारे पर्याप्त ज्ञान, उठाइएका टिप्पणी फाइल महिनौंसम्म सदर । बदनाम सहकारीलाई कालोसूचीमा राख्न उठाइएको टिप्पणी दुई महिनासम्म ‘होल्ड’ मा राख्ने उनै मन्त्रीले सचिवालयका कर्मचारीलाई अगाडि सार्दै कर्मचारी खटनपटनदेखि अनेक कुरामा हस्तक्षेप गरेको भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारीको दुखेसो छ । 

सरोज बुढाथोकीलाई रेशम चौधरीको मुद्दाको फाइल बोकेर सहयोग गरेवापत मन्त्री रञ्जिता श्रेष्ठको सचिवालयमा भिर्‍याइएको छ । यस्तै निजी सचिवको जिम्मेवारीसहित उपसचिव बसन्त पुरी र रणबहादुर चौधरीले मन्त्री रञ्जितालाई सघाइरहेका छन् । तर उनै बुढाथोकीका अनावश्यक हस्तक्षेपका कारण भूमिका कर्मचारी आजित छन् । कतिसम्म भने, असोजमा हुने कर्मचारीको नियमित सरुवा, आजै अहिल्यै गर भनेर कर्मचारीलाई दबाब दिने गरेको त्यहाँका कर्मचारीले बताएका छन् । 

बुढाथोकीले स्टोर, खरिदार, सुब्वामात्र होइन कि सहसचिवकै सरुवामा समेत चलखेल गर्ने गरेको पछिल्लो प्रमाण हो, नापी विभागका हाकिम जनकराज जोशीको सरुवा । यही सूचीमा छन्, भूमि व्यवस्थापन विभागका सहसचिव पद्मनिधि सोती । नापी विभागबाट ८ महिनामै दाइ जनकलाई हटाएर यसअघि एक कार्यकाल महानिर्देशक चलाइसकेका प्रकाश जोशीलाई खटाइसकिएको छ । मन्त्रालयको यो खटनपटनले १३ दिने दाजुभाइबीच दुश्मनीको पारो बढेको छ । 

जनकराजले त्यहाँ रहँदा १५ बुँदे मापदण्ड बनाएर लामो समयदेखि उपत्यकामा बसिरहेका कर्मचारीलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा तान्ने तयारी गरिरहेका थिए । यसरी मापदण्डअनुसार सरुवा हुँदा कलंकी मालपोत, डिल्लीबजार, ललितपुरदेखि तराईका रैथाने अधिकृतहरू सरुवामा पर्ने भए । सुनसरी र मोरङ, झापा, सप्तरी, मोरङ, जनकपुर नापीमा सबैभन्दा बढी भद्रगोल छ । एउटै अधिकृत, सर्वेक्षक १२ वर्षदेखि रजगज जमाएर बसेका छन्– सुनिल कर्ण । कलंकी जनकराज ओझा तीन वर्षदेखि कार्यरत छन् । यस्तै दिलीप सिंह पनि लामो समयदेखि सोही कार्यालयमा छन् । ललितपुरमा विजय सिंह, मोहन बञ्जाडे, पुरुषोत्तम नगरकोटी लगायत छन् । यस्तै भक्तपुरमा एउटै अधिकृत ४ वर्षभन्दा बढी समयदेखि छन् । 

मन्त्रीका पिएकै पिए 

उता सीता गुरुङले सम्हालेको शहरी विकास मन्त्रालयमा अर्काे गाईजात्रा छ । त्यहाँ स्वकीय हेमन्त गुरुङ छन् तर हेमन्तले पदीय हैसियतको दुरूपयोग गर्दै आफ्नो पिए नियुक्त गरेका छन्– आकाश उप्रेतीलाई, घर खैरहनी चितवन । 

मन्त्रीका स्वकीयहरूलाई गाडी सुविधा हुँदैन तर हेमन्तलाई मन्त्रालयले बा २ झ २६३५ नम्बरको क्रेटा गाडी उपलव्ध गराइएको छ । हेमन्त अनामनगर बस्छन् भने उप्रेती सातदोबाटो । सहसचिवसरह हेमन्तले मासिक १ सय लिटर इन्धन सुविधा लिँदै आएका छन् । पिए उप्रेतीलाई ओसारपसार गर्न इन्धन अपुग भएपछि गुरुङकै निर्देशनमा विभाग, बाग्मती सभ्यता एवं आयोजनाबाट थप ३ सय लिटर मासिक इन्धन खपत हुँदै आएको छ । 

यसका अलावा उनै पिए गुरुङका समेत पिएलाई चितवन आउजाउ गर्नका लागि विभिन्न आयोजनाबाट सवारी साधन उपलव्ध गराइँदै आएको छ । उप्रेतीले मन्त्रालय र मातहतबाट हुने सबै कन्सलटेन्सीको काम आफैँ गर्न भन्दै बिचौलिया प्रयोग गरेका छन् । 

उता, सामान्य प्रशासनमन्त्री अनिता साहले कांग्रेसका स्थानीय सभापतिलाई ल्याएर राखेकी छन् । कृष्ण सिटौला मन्त्री हुँदा विवादमा परेका बुद्धि न्यौपानेलाई मन्त्री साहले अवैतनिक सल्लाहकारमा नियुक्ति दिएकी हुन् । न्यौपाने ०६४ को अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाका स्वकीय सचिव थिए ।

विवादमा परेपछि हटाइए । बुद्धिलाई भदौ ३ गते नै नियुक्तिपत्र थमाइएको छ । उनैका लागि मन्त्रीले सामान्य प्रशासनसँग ब्राण्डेड आइफोन र ल्यापटप माग गरेकी छन् । कतिपयले न्यौपाने प्रहरीको भगौडा हवल्दार भएको बताउने गरेका छन् । अहिले उनै न्यौपानेले मन्त्रालयको ढोका थुनेर कर्मचारी सरुवाको काम गरिरहेको सामान्य प्रशासन स्रोतले जनाएको छ । 
 

टिप्पणीहरू