देशबाट भागेर पनि विदेशीको दूत

देशबाट भागेर पनि विदेशीको दूत
सुन्नुहोस्

सर्वसाधारणको १० अर्ब निक्षेपमाथि खेलबाड गर्दै ललितपुरस्थित सुमेरु सहकारीका सञ्चालक भरत महर्जन देश छाडेर बेलायत गइसके । तर, उनी अझै पनि बोत्स्वानाको महावाणिज्यदूतका रूपमा बहाल छन् । विभिन्न सञ्चारमाध्यमका समाचारमा उनको बदमासी छरपष्ट छ । तर, औपचारिक रूपमा कुनै उजुरी नपर्दा परराष्ट्र मन्त्रालयले गृहसँग मौखिक सरोकारमात्रै राखेको छ । बरु, केही देशका निम्ति अवैतनिक महावाणिज्यदूत नियुक्ति प्रक्रिया चलिरहेको छ ।

जोर्डनका लागि चार्टर्ड एकाउन्टेण्ट रहेका कुनाल कयालको नियुक्ति प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, म्याद सकिने महावाणिज्यदूतहरूको नवीकरण पनि भइरहेको छ । दक्षिण अष्ट्रेलियाका लागि दीपक धमलासहित मेलबर्न, ब्रिस्बेन, कोस्टारिका, स्वीडेनका लागि अवैतनिक महावाणिज्यदूतहरूको अवधि सकिएपछि नवीकरणको काम अगाडि बढेको छ । अष्ट्रेलियाकै भिक्टोरियाका लागि चन्द्र योञ्जनको कार्यकाल पनि थप हुने भएको छ । उता, नेपालमा मन्त्री बन्ने भएपछि रसियाका लागि अवैतनिक महावाणिज्यदूत रहेका डा.वीरेन्द्र महतोले राजीनामा दिएसँगै त्यो पद रिक्त छ ।

त्यस्तै, अदालतको आदेशबाट उपसचिवमा बढुवा भएका चक्र सुवेदी विदेशी दूतावासहरूलाई भिसाका निम्ति पत्र लेख्ने कन्सुलर विभागको निर्देशकमा जोडजुलुम लगाएर पठाइएका छन् । त्यहाँ जानका लागि उनले भएभरको राजनीतिक शक्ति प्रयोग गरेका थिए । 

टिप्पणीहरू