सरकार टिकाउन कसैसँग घुँडा नटेक्ने प्रधानमन्त्रीको उद्घोष

सरकार टिकाउन कसैसँग घुँडा नटेक्ने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले लामो समय सत्ता चलाएकाहरुको सातो गएको बताउनुभएको छ । समाजवादी मोर्चाले आज हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले  यस्तो धारणा राख्नुभएको हो ।

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम शुरु गर्ने आफ्नो योजनाअनुुरुप भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रचण्डले दावी गर्नुभयो । उहाँले सरकार भ्रष्टाचारलाई निर्मूल पार्दै सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पार्नुभयो । 

हिजो कुशासन चलाउनेहरु अहिले सरकारले शुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी गरिरहेको प्रधानमन्त्रीको भनाई छ । सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भई विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबैखाले षड्यन्त्र र तानाबाना बुुन्न तल्लिन रहेको पनि उहाँले बताउनुुभयो । 

‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन त्यसैगरी उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्टाचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र,गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हट्दैन । यसलाई अझै सशक्त ढंगबाट लगिने छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।


सरकार देश र जनताको पक्षमा काम गर्न जुनसुकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले भ्रष्टाचारविरुद्ध थालेको अभियान वीचमै रोकेर कसैसँग घुँडा नटेक्नेसमेत प्रष्ट पार्नुभयो । सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गर्नुभयो । गणतन्त्रलाई बुुर्जुुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत मैदानमा उत्रिएको प्रधानमन्त्रीको भनाई छ । 

परिवर्तनको रक्षा, सुशासन,सम्बृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेको र गठबन्धनका नेताविरुद्ध प्रतिगामीहरुले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाएको भन्दै यसलाई कुनै हालतमा छुट नदिइने पनि प्रधानमन्त्रीको प्रष्टोक्ति छ ।

 

टिप्पणीहरू