हिमालयको उत्तरी फेदमा देखिन थालेको वैभव

यात्रा संस्मरण

हिमालयको उत्तरी फेदमा देखिन थालेको वैभव

-झलक गैरे

गत साता साताव्यापी जनगणतन्त्र चीन भ्रमणको अवसर जुट्यो । झण्डै तीन दशकको पत्रकारिता करिअरमा पहिलो पटक इन्टरनेसनल मिडिया भिजिट टिमको सदस्यका रुपमा आफ्नै छिमेकी मित्रराष्ट्र पुग्ने अवसर जुरेको थियो ।

जनगणतन्त्र चीनको सिचुआनतर्फ प्रस्थान गर्न राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दाका अनुभूतिहरु त्यहाँको प्रदेश राजधानी छन्तु पुग्दा सार्थक हुँदै थियो । नेपाली पत्रकार टोलीलाई स्वागतका लागि स्थानीय प्रतिनिधिका रुपमा खटिएका चाङ पेइवेइ (नेपाली नाम सुशील) ले ‘द ग्रुप अफ इन्टरनेशनल मिडिया’ को कार्ड लगाइदिएर तिआनफु अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सातौं दिन बिदाइको क्रममा उनी पुनः त्यहाँ आइपुग्दा चिनियाँ आतिथ्यले गद्गद् बनायो ।

हाम्रो टिम चिनियाँ सरकारी आतिथ्यमा सिचुआनको  राजधानी शहर छन्तु हुँदै स्वशासित तिब्बत क्षेत्रका पर्यटकीय अनुपम गन्तव्यतर्फ लम्किरहेको थियो । त्यसका लागि नेपालबाट मसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह बिष्ट, प्रदेश अध्यक्ष बसन्त गिरि र  जिल्ला अध्यक्ष जीवन श्रेष्ठ ‘द ग्रुप अफ इन्टरनेसनल मिडिया’ मा आमन्त्रित थियौं । सबै गरेर टोली २१ सदस्यीय थियो ।

गत वर्ष मात्रै सञ्चालनमा आएको तिआन्फु अन्तर्राष्ट्रिय विमानस्थलले प्रान्तीय वैभवलाई मूलद्वारका रुपमा स्वागत गरिरहेको भान त्यहाँबाट गरिएका तीन उडानबाट म प्रभावित थिएँ । नेपालबाट अवतरण र उडानबाहेक निकै उचाइमा रहेको ताओचेङ यातिङ विमानस्थलबाट तिआन्फु अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको रनवेमा हामी अघिल्लो दिन अवतरण गरेका थियौं ।

२३ प्रान्तमध्ये ४ लाख ८५ हजार वर्ग किलोमीटर क्षेत्रफल रहेको सिचुआन् चीनको दोस्रो ठूलो प्रान्तको रुपमा दक्षिणपश्चिममा अवस्थित छ । खुला सिमानाका कारण दक्षिण छिमेकी मुलुक भारततर्फको यात्रा हाम्रा लागि सहज लागेपनि उत्तरी छिमेकको औपचारिक यात्राको अन्तर्राष्ट्रिय प्रक्रिया छ । चीन पुग्ने यो पटकको मौका मेरा लागि विशेष थियो । त्यसमा पनि हामीसँगै जोडिएको तिब्बत क्षेत्र स्वाभाविक चासो र रुचीकर हुने नै भयो ।

‘यो तिब्बत क्षेत्र प्रवेश तथा निकासद्वार हो,’  गान्जी काउन्टी,  गान्जी तिब्बती स्वायत्त प्रिफेक्चर जनसरकाका डेपुटी गभर्नर हुआङ चीनले ऐतिहासिक रूपमा तिब्बती खामको हिस्साका रुपमा रहेको प्रकृतिको अनुपम उपहार लाग्ने आफ्नो शासनक्षेत्रमा स्वागत गर्दै भने, ‘पर्यटकीय स्रोतको खानी यो काउन्टी हरित ऊर्जाको लागि निकै महत्वपूर्ण ठाउँ हो ।’

लिटाङ काउन्टीका तिब्बती आकर्षक क्षेत्रहरुको स्थलगत भ्रमण गराउँदासम्म सँगै रहेका डेपुटी गभर्नरले त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको सम्पर्क कार्यालय देखाउँदै भने, ‘नेपालसँगको हाम्रो सम्बन्ध यहाँसम्म छ ।’  

मुख्यतयाः तिब्बती जनसंख्या मिलेर बनेको १८ रमणीय काउन्टीको गान्जी तिब्बतमा प्रवेश गर्ने मुख्य बाटो भएकाले निकै उच्च पहाड–हिमालमा बिना झण्झट आवागमन गर्ने, तिब्बती जीवनशैली बुझ्ने अनुभव गर्न त्यहाँको सरकारले सहज व्यवस्थापन गरेको देखिन्छ । राष्ट्रिय राजमार्गझैँ लाग्ने दुई लेनको आकर्षक सडक पूर्वाधारले जोडेको उक्त क्षेत्रमा पुग्न बनाइएको ताओचिङ यातिङ विमानस्थल ४ हजार २ सय मिटरको उचाईमा अवस्थित छ ।

गान्जी काउन्टी तिब्बती स्वायत्त प्रिफेक्चरको १८ काउन्टीमध्ये एक हो । ‘न्यू इन्टिटी फर कल्चरल ल्याण्ड’ का रुपमा आफ्नो क्षेत्रलाई ब्रिफिङ गर्दै कान्जी प्रिफेक्चर जनसरकाका डेपुटी गभर्नर हुआङले भने, ‘यो भूमि साँस्कृतिक पर्यटनका लागि निकै आकर्षक छ ।’

त्यसो त सिचुआननै विकास र पूर्वाधारका दृष्टिले अविश्वसनीय परिवर्तन गरिरहेको क्षेत्रका रुपमा रहेको देखिन्छ । नेपाल फर्किनुअघि छन्तुको मुख्य सहरी भेगमा देखिएको पर्यटकहरुको शानदार भीडले नै त्यो कुराको पुष्ट्याई गरिरहेको हुन्थ्यो ।

प्राकृतिक सौन्दर्य र अग्ला पहाडमा रहेका रमणीय मैदानहरूको धेरै पुरानो इतिहास, तीन हजार वर्षबढीको सभ्यता बोकेर बनेको एउटा ठूलो शहरका रुपमा छन्तु पनि सांस्कृतिक, अचम्मको प्राकृतिक सौन्दर्य र पाण्डाहरूले भरिएको भूमिको रुपमा घुमफिरमा सहजै अनुभूति गर्न सकिन्थ्यो ।

जैविक विविधताको निम्ति प्रसिद्ध सिचुआन क्षेत्र लोपोन्मुख पाण्डा संरक्षणका लागि प्रसिद्ध छ । जहाँ उनीहरुका लागि विशाल वातानुकुलित वासस्थान बनाइएका छन्, कृत्रिम जंगल तयार गरिएको छ । गर्मीमा उनीहरुलाई सहजताका लागि वातानुकुलित व्यवस्थापन हेर्दा प्रकृति संरक्षणमा चिनियाँ रुची उजागर हुन्छ ।

ठूला पाण्डा संरक्षणका लागि चीन सरकारले सञ्चालन गरेको पाण्डा प्रजनन् केन्द्र अवलोकन गर्न पुग्ने हजारौं आन्तरिक तथा वाह्य पर्यटकले नै पनि सिचुआनलाई चीनको मात्रै नभएर विश्वकै पर्यटकीय गन्तव्यको सूचीमा पार्न उल्लेख्य सहयोग पुर्याउने निश्चित छ । त्यस्तै अपेक्षा र विश्वासमा हुनुपर्छ सात विभिन्न आरक्षमा कृत्रिम चिसोपनको विकास गरेर पाण्डा प्रजनन् केन्द्रमा सरकारले करोडौं डलर खर्च गरेको देख्न सकिन्छ ।  त्यस्तै नौ प्राकृतिक पार्कहरू बनाइएका छन् ।

यसरी नै रेड पान्डा, हिमचितुवा र क्लाउड चितुवाजस्ता अन्य लोपोन्मुख प्रजातिका लागि पनि त्यसखालका संरक्षण पूर्वाधारमा लगानी गरिएको संरक्षण केन्द्रका अधिकारीको भनाई छ ।

भ्रमणमा एसोसियट प्रेसका समाचार निर्देशक ६० वर्षीय अमेरिकी नागरिक केन मोरित्सुगुलगायत विभिन्न मुलुकका सञ्चारकर्मी सामेल थिए । हाम्रो टोलीले धेरै समय बिताएको गान्जी प्रिफेक्चरमै तीनवटा एयरपोर्ट बनाइसकेको चीन सरकारले स्वशासित तिब्बती क्षेत्रमा निकै ठूलो लगानी गरिरहेको कुरा सरकारी अधिकारीका भनाईबाट पुष्टि हुन्थ्यो ।  

पत्रकारहरुको टोलीलाई ताओचेङ यातिङ विमानस्थलमा स्वागत गरेको टोलीले पछिल्लो वर्ष गेसर विमानस्थल बनेको र काङतिङ विमानस्थल धेरै सञ्चालनमा आइसकेको जानकारी दिइयो । ती तीनवटै विमानस्थलले बढ्दो पर्यटनलाई समुद्र सतहबाट ४,२७४ मिटरको उचाईमा हामीलाई जस्तै भव्य र सभ्य आतिथ्य प्रदान गरिरहेको अनुमान गर्न गाह्रो थिएन ।

टोलीमा रहेका द आइरिस टाइम्सका वरिष्ठ पत्रकार डेनिस स्टाउनटोन, जापानी पत्रकार हानाई टोशिसिकोले गर्ने स्वशासित तिब्बती क्षेत्रका विवादास्पद र संवेदनशील प्रश्नले यदाकदा हामीलाई आङ जिरिङ्ग पाथ्र्यो । चाहे भारतमा निर्वासित धर्मगुरु दलाई लामाको हैसियत र प्रभावको प्रश्न होस्, चाहे तिब्बतीहरुको राष्ट्रियताको आशंकाका सवाल हुन् चिनियाँ अधिकारीहरुकै उपस्थितिमा पनि निर्वाध प्रश्न गर्थे । तर, तिब्बतीहरुको चिनियाँ राष्ट्रियतामा हालसम्म कुनै आशंका नेखिएको भेटिएका केही नागरिकको अभिव्यक्तिबाट पनि पुष्टि हुन्थ्यो ।

विशाल पहाडी क्षेत्र पार गरेर पुगिएको अर्काे आकर्षक ठाउँ थियो चोङकु मोनास्ट्री । जुन एउटा पुरानो बौद्ध गुम्बाका रुपमा प्रख्यात छ । मूल रूपमा युआन राजवंशको पालामा ८ सय वर्ष पहिले निर्माण गरिएको हामीलाई भाषामा सहजीकरण गरिरहेका साउथवेष्ट युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक्सका शिक्षक चियाङ लोङले स्थानीयलाई उद्धृत गर्दै भने । त्यहाँ केही लामा ध्यानमा बसेका, केही प्रार्थना गरिरहेका र केही धार्मिक पुस्तक पढिरहेका थिए ।

गान्जी तिब्बती स्वायत्त प्रान्तको प्राकृतिक परिदृश्यको चर्चा यत्तिमा  सकिँदैन । यातिङ तिब्बती गाउँलाई पर्यटकीय गन्तव्य बनाउन निकै लगानी गरेको चिनियाँ सरकारले सूर्यको भूमि भनेर चिनाइएको उक्त सहर पनि हाम्रो गन्तव्यमा समेटिएको थियो । अन्तिम सांग्रिलाको रूपमा प्रशंसा गरिएको उक्त गाउँमा अबेरसम्म सूर्यको उज्यालो देख्न पाइयो । होमस्टेका रुपमा बासबस्ने व्यवस्था रहेको तिब्बती शैलीका भवनमा खानाका कयौं परिकार पस्किने गरेको बताइयो ।

हिमनदीका लागिसमेत प्रख्यात क्षेत्र हुँदै गुडिरहेको आधुनिक सुविधासम्पन्न सवारी साधनबाट साताव्यापी भ्रमणमा दुर्गम तिब्बती बस्ती, तिब्बती बौद्ध मठ र उच्च पहाडबीचका घाँसे मैदान नियाल्न पाइयो । गान्जीका हिमाल अवलोकन गर्ने क्रममा विश्वव्यापी बढ्दो तापक्रमको प्रभावका बाछिटा देखापर्यो ।  हिउँले ढाकिएको पहाडबीच हिउँ सकिएका काला पहाडले वातावरणविरुद्धको दुष्चक्रलाई रोक्न नसकिएको विश्वव्यापी साझा प्रयास प्रष्ट हुन्थ्यो ।

यसबाहेक, चीन सरकारले स्वशासित क्षेत्र तिब्बतका विकट पहाडी भूभागलाई मनोरम बनाउन गरिएका लगानी हुन् वा त्यहाँका बालबालिकालाई परम्परागत संस्कारसँगै आधुनिक चिनियाँ शिक्षाको मूल–प्रवाहीकरणको सवालमा गरिएका पहल र प्रयास नियाल्ने मौका यो यात्राले जुराइदियो ।

चिनियाँ व्यञ्जनका क्षेत्रीय शैलीमा पनि खुबै रमाउने मौका चिनियाँ आतिथ्यमा देखियो । जबकी हाम्रो मौलिकता र परम्परालाई धक्का पर्ने खालका परिकारहरुबाट जोगिन हामीलाई परिरहेको हम्मेले त्यहाँका सात्विक र शाकाहारी खानाको स्वादले थुप्रै हौसला दियो । तुलनात्मक रुपमा नुनविहीन खानामा रमाउने चिनियाँ परिकारमा सिचुआन व्यञ्जनको एउटा स्वादले भने सँधै हाम्रो टोलीलाई सँधै याद दिलाउने छ ।

अन्तिम साँझको सिचुआन हटपट । सहभागी सरकारी अधिकारीका अनुसार, विश्वमा सबैभन्दा प्रसिद्धमध्ये एक त्यहाँको हटपट हो । ‘चीन बाहिर यति धेरै खुर्सानी, मसाला प्रयोग हुँदैन’, उनी मस्तसँग ‘ग्याम्पे’ गर्दै भनिरहेका थिए । हुनपनि एक स्वादिष्ट र प्रत्यक्ष पकवान बनाउन साथी वा परिवारसँग रमाइलो डिनर गर्ने तरिका हटपटमा देखिएको मेरो पनि पहिलो अनुभव थियो । तर, सम्झन लायक खाना अरु थुप्रै छन् ।

उराठ र भिराला पहाड देख्दै आएको मलाई, हिउँले ढाकिएका पहाड र त्यसको फेदमा विशाल फाँट, घाँसे मैदान, हिमताल, बगिरहेका हिमनदी अनि एकै रंग र ढंगका तिब्बती गाउँ घुम्दाका दृश्य, तिब्बती बौद्ध धर्म संस्कृतिका झझल्को अझै कति समय सपनामा आइरहने हुन् लेख्दै गरांैला । त्यसअघि यो अवसर जुराउने नेपाल–चीन मिडिया फोरमलाई विशेष धन्यवाद !

टिप्पणीहरू