राष्ट्रपतिका दुई सल्लाहकार बाहिरिए

राष्ट्रपतिका दुई सल्लाहकार बाहिरिए

राष्ट्रपति विद्यादेवी भण्डारीका दुईजना सल्लाहकार माधव शर्मा र नेत्रबहादुर थापाले भदौ १ गतेदेखि शीतल निवासबाट बाहिरिएको पत्र भोलि आइतबार बुझ्दैछन् । पहिले पूर्ण कार्यकाल पूरा गरेका सल्लाहकारहरूलाई पछिल्लो पटक दुईवर्षे करार सेवामा राखिएको थियो । भित्री कारण जे-जे भए तापनि साउन मसान्तमा उनीहरूको करार सकिनुअगावै शीतल निवासले म्याद  थप्न अनिच्छा देखाएपछि सल्लाहकारहरू आफ्नो बाटो लागेको स्रोतको दाबी छ ।

शर्मा र थापा राष्ट्रपति भण्डारीको अघिल्लो कार्यकालमा पनि पूरै अवधि सल्लाहकार थिए । शर्मा सञ्चार र थापा सुरक्षा सल्लाहकारको रूपमा शीतल निवास पुगेका थिए । नेत्र थापा राप्रपा अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् तर सेनामा भर्ती हुँदा उमेर सच्याउने प्रचलनको कारण सर्टिफिकेटअनुसार उनलाई भाइ मान्नुपर्ने अवस्था छ ।

अब शीतल निवासमा लालबाबु यादव र लक्ष्मी कार्की दुईजना मात्र विज्ञ सल्लाहकार बाँकी रहेका छन् ।

यसअघि सभामुखमा अग्नि सापकोटाको चयनप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए । अब शीतल निवासमा लालबाबु यादव र लक्ष्मी कार्की दुईजना मात्र विज्ञ सल्लाहकार बाँकी रहेका छन् । उनीहरूलाई पनि करारमा राखिएको हो । यसबीच शीतल निवासमा कार्यरत अन्य केही कर्मचारी पनि छँटनीमा पर्न लागेका छन् ।

टिप्पणीहरू