जिल्लाका व्यापारीहरुको नेता छान्न महँगो उम्मेदवारी शुल्क
शंकर श्रेष्ठ
धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशनको उम्मेदवारी दस्तुर अहिलेसम्मकै महंगो तोकिएको छ । संघको अध्यक्षका लागि दुई लाख ५० हजार र वरिष्ठ उपाध्यक्षका लागि दुई लाख दस्तुर तोकिएको छ । जिल्लामा भएका संघसस्था तथा संगठनहरुको निर्वाचनमध्ये यो हालसम्मकै महंगो बताइन्छ ।
विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ । जसअनुसार अध्यक्ष पदका लागि मतदान गर्नै पर्दैन । तर, उम्मेदवारी दर्ता गरेर दुई लाख ५० हजार दस्तुर बुझाउनुपर्ने नियम निवर्तमान कार्यसमितिले तोकेको छ ।
आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी दर्ता गर्न दुई लाख दस्तुर तोकेपछि साना तथा मझौला व्यवसायीहरुले उम्मेदवारी दिनबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् । चर्को शुल्कका कारण कम आयस्तर भएका र मझौला व्यवसायीहरु उम्मेदवारी दर्ता नगरी असन्तुष्टि व्यक्त गर्दै घर फर्किएका छन् ।
जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय अध्यक्ष र क्षेत्रीय प्रतिनिधिका उम्मेदवारीसँग पनि ३० हजार दस्तुर उठाइएको छ । क्षेत्रीय सदस्यका उम्मेदवार हुन पाँच हजार बुझाउनु पर्ने भएपछि ग्रामीण भेगमा साना व्यवसाय गरिरहेका व्यवसायीहरुले यसलाई साना व्यवसायी निमोठ्ने संस्थाको संज्ञा दिएका छन् ।
उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि दस्तुर फिर्ता नहुने नियम बनाएर कम आय भएका व्यवसायीलाई जिल्ला कार्य समिति र क्षेत्रीय समितिमा समेत प्रवेश गर्ने अवसरबाट बञ्चित गराएको उनीहरुको ठहर छ ।
कुनै कागजपत्र नै नभएका व्यवसाय, सदस्य छु भन्ने नै थाहा नभएका व्यवसायी, वर्षाैदेखि कर नतिरेर कालोसूचीमा रहेको फर्म, व्यवसाय नै बन्द गरेर प्यान भ्याट समेत खारेज गरिसकेका फर्महरुको समेत हचुवामा नवीकरण गरी ठूलो संख्या देखाएर चुनावी होडबाजी गरिरहेको आरोप धेरै अघिदेखि नै धादिङ उद्योग वाणिज्य संघलाई लाग्दै आएको छ ।
टिप्पणीहरू