चाकुको व्यापारमा बिचौलिया हाबीसँगै ब्राण्डिङमा ढिलाई

चाकुको व्यापारमा बिचौलिया हाबीसँगै ब्राण्डिङमा ढिलाई
सुन्नुहोस्

हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड माघे संक्रान्ति आगामी मंगलबार मनाईंदै छ । मकर संक्रान्ति र माघी पर्वको रुपमा समेत परिचित यो चाड मन्दिरमा पूजाआजासँगै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाउने चलन छ । 

यतिबेला काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउन व्यस्त छन् । उपत्यकाको उत्तरी भेगमा रहेको प्राचिन शहर टोखा नेवार समुदायको बस्ती हो । 

माघे संक्रान्ति नजिकिएसँगै टोखाबासीलाई चाकु बनाउन भ्याईनभ्याई छ । पहिले उपत्यकामा मात्र चाकुको माग हुन्थ्यो तर अहिले मुलुकभरबाट माग आउने गरेको त्यहाँका चाकु व्यवसायीहरु बताउँछन् । 

तर, पछिल्लो समय उक्त व्यवसायमा बिचौलिया हाबी हुँदा आफुहरु मर्कामा परेको गुनासो गरेका छन् । बिचौलियाका कारण आफुहरुले चाकुको उचित मूल्य पाउन नसकेको स्थानीय व्यवसायीहरुको दुःखेसो छ । 

टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ चाकु धेरै दिन राख्न नमिल्ने भएकाले बिचौलियाहरुले सस्तोमा लगेर महँगोमा बेच्ने गरेको बताउँछन् । अहिले आफुहरुले घरमै आउने ग्राहकलाई प्रतिकिलो एक सय ३५ रुपैयाँमा दिने गरेको तर बजारमा गइसकेपछि दुई सय रुपैयाँभन्दा माथि पुग्ने गरेकोमा दुःखेसको पोखे ।

विगतको तुलनामा सख्खरको मूल्य अत्यधिक बढेको बताउँदै श्रेष्ठले भने, ‘जति चाकु बनाउनका लागि मेहेनत परिश्रम लाग्छ, त्योअनुसारको नाफा छैन । त्यसमा पनि चाकुलाई धेरै समय राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर बिचौलियाहरुले रेट बिगार्ने काम भयो ।’

त्यस्तै, चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगेपनि अहिलेसम्म सरकारले केही सहयोग नगरेको व्यवसायीहरुको गुनासो छ । आफ्ना तीन पुस्ताले चाकु व्यवसाय गरेरै जीवन धानेको भएपनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठको दुःखसो छ । 

उनले सरकारले सहुलियतमा कच्चा पदार्थ र आवश्यक सामान उपलब्ध नगराएकोले समस्या भोग्नुपरेको बताए । टोखाको चाकुको विदेशमा समेत माग बढ्दै गइरहेको अवस्थामा सरकारले विदेश पठाउन स्वीकृति नदिँदा बिचौलियाको भर पर्नुपरेको श्रेष्ठको भनाइ छ । 

उनले भने, ‘अहिलेसम्म सरकारी सहयोग छैन । स्थानीय सरकारले पनि हामीलाई त्यत्ति सहयोग गरेको छैन । सरकारले हाम्रो लागि आवश्यक पर्ने सामानहरु सहुलियतमा व्यवस्थापन गरिदिनुपर्यो । बजार भाउ राम्रो दिनुपर्ने । हाम्रो चाकु विदेश पठाउनका लागि पनि स्वीकृति दिनुपर्यो ।’

नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने चलन छ । काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन छ । चाकुलाई नेपाली चकलेटको रुपमा समेत चिनिने भएकाले यसको ब्राण्डिङ गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । 

उपत्यकामा मात्र नभई बाहिरी शहर र अमेरिका, बेलायतलगायत देशबाट समेत चाकुको माग आउने भएकाले यसको ब्राण्डिङ गर्न व्यवसायीहरुले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
 

टिप्पणीहरू