चौधरीको चंगुलमा कानुनको चित्कार
प्रतिनिधि सभा सदस्यसमेत रहेका विवादास्पद व्यापारी विनोद चौधरी र उनको व्यावसायिक घरानाले नेपालभन्दा विदेशमा कैयौं गुणा बढी लगानी गरिएको सगर्व बताउँदै आएको छ । नेपालमा थोरै लगानी र राज्यलाई तिर्ने कम रकम यसैको प्रष्ट्याइँ हो ।
विशेषगरी चौधरी ग्रुपले विदेशका होटल, रियल इस्टेट र वाईवाई चाउचाउ कारखानामा धेरै लगानी गरेको छ । भारतको मात्रै एक सयभन्दा बढी होटलमा लगानी गरेको उसले चीन, पूर्वीएशियाली, दक्षिण एशियाली राष्ट्रहरू, युरोप, अफ्रिका र अमेरिकामा समेत होटल खोेलेको छ । नेपाल, भारत, युरोपमा वाइवाइ कारखाना स्थापना गरिएको छ । दुबई र सिंगापुरका रियल इस्टेट (घरजग्गा) कम्पनीमा प्रशस्त लगानी छ ।
मुलुकको विद्यमान विदेशी मुद्रा कारोबारसम्बन्धी कानुनले कुनै पनि नेपालीलाई सर्वश्व त्यागेर विदेश गएको अवस्थामासमेत एकपटकको निम्ति बढीमा ५ हजार डलरभन्दा बढी लैजान नपाइने गरी बन्देज लगाएको छ । यसका बाबजुत अर्बौं डलर उनले कसरी विदेश पु¥याए ?
राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सरकारी निकायले मुलुकबाट परिवत्र्य विदेशी मुद्रा लगेको र विदेशमा लगानी गरेको बारे चौधरीसँग एक पटक पनि औपचारिक सोधपुछ गरेका छैनन् । ललितपुरको सैंबु, भैंसेपाटीमा चार दशकअघि खोलिएको वाइवाई कारखाना अहिले सुनसरी, नवलपरासी र बर्दियामासमेत विस्तार गरिएको छ । भलै ती कारखानामा नेपालभित्रैको आम्दानी लगानी गरिएको मान्न सकिएला ।
तर, नेपालबाट विदेशी मुद्रा लगिएको भन्दै भारतको उत्तराखण्डस्थित रुद्रपुरमा सन् २००८ मा, राजस्थानको रूपनगढमा सन् २०१९ मा, आन्ध्र प्रदेशको चित्तोरमा सन् २०१४ मा, बिहारको पूर्णियामा सन् २०१५ मा, सिक्किमको रङपोमा सन् २००६ मा, आसामको चाइगाउँमा सन् २००९ र सिलचरमा सन् २०१८ मा गरी त्यता मात्रै सात वटा वाइवाई कारखाना खोलिएको छ ।
त्यसैगरी दक्षिण एशिया, मध्य एशिया, अफ्रिका र युरोपमा पनि यस्तै कारखाना छन् । लाखौं डलरमा सर्बियामा सन् २०१५ मा, कजाखस्तानमा सन् २०१८, बंगलादेशमा सन् २०१९ र इजिप्टमा सन् २०२१ मा वाइवाई कारखाना स्थापना गरिएको छ । ती मुलुकमा प्रत्यक्ष विदेशी मुद्रा लगानीको रूपमा पुु¥याइएको करोडौं डलरको श्रोत के हो ? नेपालको विद्यमान कानुनले विदेशमा लगानी गर्न दिँदैन । यस्तो अवस्थामा उनले कसरी त्यति धेरै रकम विदेश पु¥याए ? अर्थ मन्त्रालय र राष्ट्र बैंक स्रोतको एउटै दाबी छ, ‘हुण्डीबाट केही रकम लैजान्छन् । केही विदेशमा कमाएको रकम उतैबाट त्यता मिलाउँछन् । उनले सकेसम्म नेपालबाट डलर लैजान्छन् । विदेशमा कमाएकोमध्ये सुको यता ल्याएका छैनन् ।’
अर्कोतर्फ, चौधरीको विदेशमा लगानी सबैभन्दा बढी होटलमा देखिन्छ । सन् २००१ मा जम्मा तीन वटा होटलमा पैसा हालेको उक्त ग्रुपको पछिल्लो २३ वर्षमा १४१ वटा होटलमा सेयर लगानी छ । तीमध्ये नेपालमा जम्मा सात वटा होटल छन् । बाँकी १३४ मध्ये भारतमा १०२, श्रीलंकामा १६, मौरिससमा चार, चीन, माल्दिभ्स र केन्यामा दुई दुई, अमेरिका, युएई, भुटान, थाइल्याण्ड र फिलिपिन्समा एक एक वटा विलासी होटल छन् ।
उता, संयुक्त अरब इमिरेट्सको दुबईमा रियल इस्टेट कारोबारको निम्ति सिजी ग्रुप खोलिएको छ । माइला छोरा राहुल उतै बस्छन् । सिजीले दुबईमा कर्पोरेट अफिस राखेको छ । त्यहाँको डेइरास्थित हामारिएन सेन्टरको पाँचौ तल्लामा राखिएको सिजी ग्रुपको फोन नम्बर ४२६८४३३३ हो । जेठा निर्वाण काठमाडौं र कान्छो वरुणले नयाँँ दिल्लीमा बसेर चौधरीको कारोबार मिलाउँदै आएका छन् । स्वयम् विनोद हिसाबकिताब मिलाउन ती ठाउँमा निरन्तर घुमिरहन्छन् ।
फोब्र्स पत्रिकाले हालै सार्वजनिक गरेको विवरणअनुसार चौधरीको कूल सम्पत्ति १४ हजार ८९० करोड रूपैयाँ बराबर पुगेको छ । तर उनका कम्पनीहरूले नेपालमा पछिल्ला केही वर्षदेखि बुझाउँदै आएको कर रकम १० अर्बभन्दा कम देखिन्छ । यसअघि विनोदले विदेशका ११ वटा कम्पनीमा लगानी गर्न ट्याक्स हेभन कन्ट्रीतिर विदेशी मुद्रा पु¥याएको सूचना बाहिरिएको थियो । अन्तर्राष्ट्रिय खोजी पत्रकारहरूको संस्था आइसीआईजेले दुई वर्षअघि जारी गरेको पेपरमा एक करोड ९० लाख डलर त्यहाँ पु¥याएको सप्रमाण उल्लेख छ । नेपाली बिजनेस टाइकुनको संज्ञा दिँदै त्यतिबेला लेखिएको थियो, ‘चौधरी समूहको ब्रिटिस भर्जिन आइल्याण्डमा धेरै वटा र सिंगापुर तथा पनामामा एक एक वटा कम्पनी खोलिएको छ । ब्रिटिश आइल्याण्डमा उनी र उनको परिवारका सदस्यको नाममा सिनोभेसन इम्पोर्टर्स, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड र सेन्सेई क्यापिटल पार्टनर्स इन्क छ ।
सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल प्राइभेट लिमिटेड खोलिएको छ ।’ यी सबै कम्पनी विदेशमा कमाएको रकम उतै व्यवस्थापनको निम्ति खडा गरिएको स्वतः पुष्टि हुन्छ ।
– द्रव्य शाह
टिप्पणीहरू