कमरेडहरूमा फेरि अर्काे कित्ताकाट

कमरेडहरूमा फेरि अर्काे कित्ताकाट

देशका लागि एउटा शालिन राजनीतिज्ञ, पार्टीका निम्ति समन्वयकारी नेता हुनुहुन्थ्यो, सुवास नेम्वाङ । उहाँको निधनपछि एमालेभित्रको शक्ति सन्तुलनमा केही फेरबदलको संकेत देखा परेको छ ।

यतिबेला ललितपुरस्थित एमाले मुख्यालय च्यासलमा पार्टीका नियमित गतिविधिभन्दा आगामी महाधिवेशनकेन्द्रित विषयहरूले बढी ठाउँ पाउने गरेका छन् । भित्रभित्रै विकास भइरहेका गुट, उपगुटका अनेकन दृष्टान्त त्यहाँ भेटिन्छन् । त्यसक्रममा सुवास नेम्वाङको निधनपछि उहाँको सदाशयताप्राप्त एउटा समूह तितरबितर हुने दिशातर्फ लागेको छ । स्पष्ट छ, एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका अलग–अलग समूह बनिरहेका छन् । यसको स्पष्ट चित्र लुम्बिनी प्रदेशमा सम्पन्न अधिवेशनले देखाइसकेको छ । सुवासको सदाशयता विष्णुतिर थियो । तर, उहाँको निधनपछि विष्णुतिरै रहेको एउटा समूहलाई शंकरहरूले तान्ने खतरा बढेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि नदेखिने गरी साथ दिइरहनुभएको र उस्तै परे नेतृत्व नै गर्नुपर्ने गरी सुवासलाई विकास गरिरहनुभएको थियो भन्ने चर्चाले च्यासलमा ठाउँ पाएको छ । ‘१० बुँदे’, अर्थात् अन्तिम अवस्थामा माधव नेपालको साथ छोड्नेहरूको नेतृत्व सुरेन्द्र पाण्डेले गरिरहेका थिए । अब त्यो समूहलाई शंकर पोखरेलले आफूतिर तानेर फाइदा लिने सम्भावना छ ।

किनभने, विष्णु र सुरेन्द्रको राम्रो सम्बन्ध छैन । एक समय त उनीहरू बीच बोलचाल पनि थिएन । द्वन्द्ववादको नियमजस्तो ‘शत्रुको शत्रु, मित्रु हुन्छ’ भन्ने कुरा यसमा लागू हुँदै छ । सुवास भएको भए १० बुँदेवाला विष्णुतिरै हुन्थे । अब विष्णु र ईश्वर एकातिर भएर सुरेन्द्र शंकरतिर हुने सम्भावना देखिन्छ । अर्का ‘१० बुँदे’ भीम रावलसँग विष्णुको राम्रो सम्बन्ध छ । तर, सुरेन्द्र र भीमको नवौं महाधिवेशनबाटै राम्रो छैन । अहिले यही तिक्तताको फाइदा उठाउँदै उनीहरूबीच तानातानको तयारी छ । पद्मा अर्याल विष्णुतिरकी हुन् । भीम आचार्यहरू सुरेन्द्रका भए । च्यासलमा देखिन्छ, विष्णु रिमाल र उनको टोली शंकर पोखरेलको वरिपरि घुमिरहेको । त्यसमा भानुभक्त ढकाल, राजन भट्टराई, राजेन्द्र गौतम, रमेश बडालहरूको साथ छ । प्रदीप ज्ञवालीको कुरा विष्णुसँग मिल्दैन । शंकरले पनि उनलाई मन पराउँदैनन् । त्यसैले उनी कता लाग्लान् भन्ने अनुमान गर्न सकिएको छैन ।

अर्कातिर, एमालेभित्र अहिले अर्थोक हुनुभन्दा प्रदेशको अध्यक्ष हुनु आकर्षक मानिन थालेको छ । पार्टीले हालै सात भौगोलिक प्रदेशका अध्यक्षहरू स्वतः पोलिट्व्युरो सदस्य हुने व्यवस्था गरेपछि त्यस्तो भएको हो । लुम्बिनीमा केन्द्रीय सदस्य हरि रिजाललाई हराएर राधाकृष्ण कँडेल अध्यक्ष भएपछि उनी प्रदेश अध्यक्षमा मात्रै सिमित हुने भएनन्, राजनीतिक रूपमा केन्द्रीय सदस्य हरिभन्दा माथि, अर्थात् पोलिट्व्युरो सदस्यको हैसियतका हुने भए । तर, विशेष प्रदेश गैरभौगोलिक भएकै कारण प्रेम पराजुलीलाई पोलिट्ब्युरोमा पारिएन । त्यसैले बागमती प्रदेशमा अहिले अध्यक्ष हुनका लागि गोकुल बाँस्कोटा र महेश बस्नेतहरूको दौडधुप छ । किनभने, प्रदेश अध्यक्ष हुँदाका अधिकार र परिचालनका दृष्टिले पनि प्रभावकारी भूमिका रहन्छ । सबै जिल्लाका अध्यक्ष प्रदेश कमिटीको स्वतः सदस्य हुने भए । स्थानीय तह, पार्टी कमिटी र जनसंगठनका ती–ती तहका निकायसँग सीधै प्रदेश कमिटी जोडिने भयो । त्यसैले अर्थोक छोडेर एमालेका नेताहरू अहिले प्रदेश अध्यक्षतिर केन्द्रित छन् भनिन्छ ।
 

टिप्पणीहरू