चित्रलेखाले निम्त्याएको रणसंग्राम

चित्रलेखाले निम्त्याएको रणसंग्राम

– सन्तोष बराइली

छरपष्ट आश्वासनको भारले थिचिँदै गएपछि कांग्रेस नेत्री चित्रलेखा यादवले आफ्नो भूगोलमा पुनरागमनका लागि अनेक कष्ट सहनुपरेको छ । सिरहा, नवराजपुर गाउँपालिकाको पोखरी विवाद यतिबेला चरमोत्कर्षमा छ । दुवै पक्षको गोप्य तयारीले गुरिल्ला युद्धलाई आमन्त्रण गरिरहेको भान हुन्छ । पोखरी संघर्ष समिति गठन यसैको पटाक्षेप हो । शिवराम यादवको नेतृत्वमा गठित समितिले पोखरी भोगचलन गरिरहेकाहरूसँग जनही १० हजार रूपैयाँ उठाउनुले पनि विभिन्न शंका उत्पन्न गरेका छन् । ७१ वटा पोखरीबाट १० हजारका दरले ७ लाख १० हजार रूपैयाँ हुन्छ । कौडीको भाउमा हतियार उपलब्ध हुने भारतीय बजार पिपराहीसँग जोडिएको नवराजपुर गाउँपालिकामा संकलित यो रकम जुनसुकै बेला अप्रिय घटनामा दुरूपयोग हुने सम्भावनालाई नकार्न सकिँदैन । 

उदय नयाँ ध्रुवको

स्वभावतः शिव उद्गार यादव उर्फ शिवा विद्रोही मानिन्छन् । राजनीतिशास्त्रमा स्नातक गरेका शिवा छुवाछुत, गरिब र निमुखामाथिको दमनविरूद्ध आवाज बुलन्द गर्थे । माओवादी युद्ध आगोसरी दन्कँदै गर्दा क्याम्पस पढिरहेका उनी माओवादी राजनीतिबाट अत्यन्तै प्रभावित थिए । पढाइ छाडेर तत्काल राजनीतिमा होमिन भने चाहेनन् । 

स्नातक सक्नासाथ तराई जनतान्त्रिक मुक्ति मोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका शिवाले तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट शान्तिपूर्ण राजनीतिक यात्रा तय गरे । उपेन्द्र यादवलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने मधेश आन्दोलनमा ज्यानको बाजी लगाएर होमिए । उनकै नेतृत्वमा आन्दोलनमा होमिएका गाउँले रमेश महतोले सहादत प्राप्त गरे । आफ्नै आँखाअगाडि प्रहरीको गोलीले रमेश महतो ढलेको दृश्यले उनलाई समाज परिवर्तनको मुद्दा छाडेर भगौडा बन्ने छुट दिएन । लड्दै गए, भिड्दै गए । अद्यापि, उनको लडाइँ जारी छ ।

उतिबेला नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवको दबदबा थियो । नवराजपुर चित्रलेखाको माइतीघर थियो, यहीँबाट पटक–पटक चुनाव जितेर राष्ट्रिय राजनीतिमा चम्किएकी थिइन् । शिक्षामन्त्री हुँदै उपसभामुखसमेत बनेकी चित्रलेखाको राजनीतिक यात्रामा शिवाको पनि प्रत्यक्ष साथ–सहयोग छ । 

तर, चित्रलेखा नातावादमा फसिन् । आफन्त र नरनाता केन्द्रित राजनीति थालिन् । समाज परिवर्तन चित्रलेखाको राजनीतिक नारा मात्रै बन्यो । समाजका यावत् समस्या ज्यूँकात्यूँ रहे । परिवर्तनको प्रतीक्षामा रहेको मधेशका देहात चित्रलेखाको विकृत राजनीतिले झन् निराश बन्यो । उनको झुटा आश्वासनले शिवउद्गार यादवहरूका सपना मूर्छित बने । मृत सपनाको चाङबाट शिवउद्गार ब्युँतिए । स्नातकको रिजल्ट प्रकाशन हुनासाथ होलटाइमर राजनीतिक यात्रामा झोला भिरेर निस्किए । यही समयमा पितालाई गुमाए । घरपरिवार चलाउन वैवाहिक जीवनमा बाँधिए । शोषितपीडितको मुक्तिका लागि राजनीतिमा होमिएका उनलाई पछाडि फर्कने छुट थिएन ।  चित्रलेखाले धोका दिएको निश्कर्ष थियो शिवाको । आफ्नो समाज र गाउँठाउँको आमूल परिवर्तन शिवाको लक्ष्य थियो । 

ब्यालेटको परीक्षा

०६२/६३ को जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकायो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा औपचारिक रूपमा प्रवेश गर्‍याे । माओवादी युद्ध नभएको भए सायद यो उपलब्धि तत्कालका लागि सम्भव थिएन भन्ने निश्कर्षमा पुगेका शिवाले माओवादी पृष्ठभूमिबाट उदाएको जनतान्त्रिक छाडेर तत्कालीन फोरम प्रवेश गरे । र, शुरु गरे ब्यालेटको राजनीति ।

गाउँका समस्या उस्तै थिए । उस्तै थिए, चित्रलेखा यादवको आश्वासनबाट वाक्कदिक्क नवराजपुरका जीवन । गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय चुनावमा शिवाले परीक्षण गरे आफूलाई, नवराजपुर गाउँपालिकाको प्रमुखमा । तीन सय मतले पराजित भए उनी । उनलाई हराउने उही पुरानो अनुहार थियो । जो नवराजपुर गाउँपालिकामा निरन्तर शासन चलाइरहेका थिए । उनको नाम थियो – विश्वमोहन यादव । उनी थिए – नेपाली कांग्रेसकी चर्चित नेत्री चित्रलेखा यादवका  भाइ । विश्वमोहन सिनमा हुन्थे, गाविस चलाउने रिमोट हुन्थ्यो चित्रलेखाको हातमा । शिवाको असली राजनीति यही परिदृश्यबाट शुरू हुन्छ ।

सदाझैँ यसपटकको स्थानीय चुनावमा पनि भाइलाई जिताउन चित्रलेखा यादवले पढेलेखेका युवायुवतीलाई करारमा जागिरको आश्वासन दिइन्, कतिपयलाई तत्काल दैनिक ज्यालादारीमा सरकारी जागिर पनि उपलब्ध गराइदिइन् । हुलाकी मार्ग पुनर्निर्माण र विस्तारको सपना फेरि बाँडिन् । किसानका समस्या समाधन गर्ने टिपोट डायरीमा फेरि टिपिन् । मन्त्री बनिसकेकी चित्रलेखाका यावत् आश्वासनले फेरि काम गर्‍याे, भाइ विश्वमोहनले फेरि चुनाव जिते । शिवाले हारे । विश्वमोहन चित्रलेखाका भाइ थिए । ५ वर्षका लागि शिवाको समाज परिवर्तनका कथा मुर्छित भयो । घरमै धान संकलन केन्द्र खोले । स्थानीय किसानको धान वीरगञ्ज, विराटनगरमा बेचेर उचित मूल्य दिलाउने अभियान चलाए । यसमा सफल पनि भए । किसानका बीच झन् लोकप्रिय भए । स्थानीय सरकारको गलत शासन व्यवस्थाको विरोध गरिरहे । विद्रोहको आवाज बुलन्द गरिरहे ।

फेरि स्थानीय तहको चुनाव आयो । कांग्रेसबाट फेरि चित्रलेखाका भाइ विश्वमोहन उठे, मधेशी जनअधिकार फोरमबाट अशोक राईको आगमनसँगै जनता समाजवादी पार्टी बनेको जसपाबाट फेरि शिवा उठे । शिवासँग पैसा थिएन । धान थियो । चामल थियो । उम्मेदवारी दर्ताको शुल्कसमेत सहयोगीले तिरे । यसपटक भने शिवाले जिते । सामन्तवाद ढलेको र नयाँ शक्तिका रूपमा शिवाको उदय भएको त्यो क्षणलाई नवरानपुरले उत्सवको रूपमा मनायो ।

गाउँपालिका प्रमुख बनेका शिवाले जनताका चाहनाबमोजिम सामन्तवादका पिल्लर भत्काउँदै गए । स्कुल हडपेर राखिएको गाउँ कार्यापालिकाको कार्यालय स्थान्तरण गरे । विकासका नयाँ मोडेल अघि सारे । जनताका सानाभन्दा साना समस्या सम्बोधन गर्दै गए । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आयो । सो क्षेत्रबाट कांग्रेसबाट उठेकी चित्रलेखाले हारिन्, एमालेसँग तामेल गरेका जसपाका उम्मेदवार राजकिशोर यादवले जिते । चित्रलेखाको हार अकल्पनीय थियो । पूरा नगर्ने चित्रलेखाका पुरानै शैलीका आश्वासनले यसपटक काम गरेन । शिवउद्गारहरूले यसपटक साथ दिएनन् ।

स्थानीय तह चुनावमा भाइ विश्वमोहनको हारले रन्थनिएकी चित्रलेखा आफ्नो पनि अप्रत्यासित हारले राजनीतिक बिरासत गुमेको निश्कर्षमा पुगिन् । भोट बैंकको रूपमा रहेको जन्मथलो नवराजपुरमा शिवाको उदय चित्रलेखालाई सैह्य हुने कुरै भएन । मालपोत कार्यालयले प्रमाणित गरेको नवराजपुर गाउँपालिकाभित्रका ७१ वटा पोखरी ठेक्काको विषयलाई राजनीतिकरण गरिन् । र, भाइ विश्वमोहनको अगुवाइमा विवाद निम्त्याइन् । विवाद भिडन्तमा परिणत भयो । भिडन्त हुँदा दर्जनभन्दा बढी घाइते बनिसकेका छन् । पोखरी विवाद निम्त्याएर गाउँपालिका प्रमुख शिवालाई असफल बनाउने चित्रलेखाको खेल भयंकर रक्तपातमा परिणत हुने संकेत देखिएको छ । मन्त्री मात्रै होइन, उपसभामुख समेत बनिसकेकी चित्रलेखाले आफ्नो राजनीतिक बिरासत गुम्ने भयले पोखरी विवादको आवरणमा नवराजपुरमा निम्त्याएको रणसंग्राम भविष्यमा उनकै लागि घातक सिद्ध हुने देखिन्छ ।
 

टिप्पणीहरू