प्रधानमन्त्री कार्यालयबाट हटाइदिनोस् न प्रभू !
काम कम, चाकडी बढी, त्यसैले बिग्रिएको छ, सार्वजनिक प्रशासन । यही चाकडी कला नजान्दा पिल्सिएको बबुरो हुँ म । सार्वजनिक सेवामा पाइला राखेको साढे तीन दशकभन्दा बढी भयो । जीवनका २७ वर्ष त स्थानीय तहमै रहेर बिताएँ । बाध्यताको माखेसाङ्लोमा परेर केही महिनादेखि सिंहदरबारमा कार्यरत छु तर मलाई गाउँमै बसेर सेवा गर्ने रहर छ । सिंहदरबार त पहुँच हुनेहरूको थलो हो । मलाई भुइँमान्छेको सेवा गर्ने रहर छ । दैनिक ५३ किमी यात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउजाउ गरिरहेको छु ।
भनिन्छ, उत्तम व्यापार, मध्यम कृषि, निर्घिणी नोकरी । नेवारको सन्तान, पिता पुर्खा, दाजुहरूले रोजेको उत्तम बाटो (व्यापार) छोडेर नोकरी रोज्न आइपुगेको हुँ । ६ जना दाजु आ–आफ्नो व्यापार व्यवसायमै रमाइरहेका छन्, म मात्र छु सरकारी सेवामा । ३७ वर्षअघि ०४३ साल मंसिरमा तत्कालीन गाउँ पञ्चायतको सचिव हुँदै निजामतीमा पाइला राखेको हुँ । त्यो बेला कार्यालय पुग्न घरबाट १६ घण्टा दूरी पार गर्नुपथ्र्याे । एक वर्षपछि नयाँ ठाउँमा सरुवा भएँ । काभ्रेका धेरै स्थानीय तहमा बसेर काम गरियो । उग्रचण्डी नाला, कोशीपारिलगायत पालिकामै बिताइयो २७ वर्ष । ०६४ मा खरिदारबाट नासुमा उक्लिएँ । १३ वर्षपछि अर्थात् ०७७ सालमा शाखा अधिकृतमा बढुवा भएँ । सेवा प्रवेश गरेदेखि नै निजामती सेवा प्रभावकारी, जनमुखी, सेवाग्राही मैत्री, कानुनसम्मत, व्यावहारिक हुनुपर्छ भन्ने मान्यता बोकेर हिँडेँ र त्यसैलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेँ ।
नागरिकले तिरेको करबाट तलब पाउनेमध्ये एक म । मैले पनि सेवाग्राही नागरिकको गाली, श्राप बोक्न नपरोस् भनेर आफूलाई क्रियाशील राख्न भरमग्दुर प्रयास गरेँ । गृह मातहतका विभिन्न निकायमा बसेर लामो समय काम गरेँ । सेवा प्रवाहकै सिलसिलामा प्युठान, इलाका प्रशासन कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा मन्त्रालयमा कर्मचारी प्रशासन शाखा, सीमा तथा अध्यागमन शाखा, विभूषण शाखामा रहेर काम गर्ने अवसर मिल्यो । गृह मन्त्रालयको शान रहने गरी जिम्मेवारी निर्वाह गरेँ । कुनै प्रकारको लोभलालच राखिन, अतिरिक्त सेवा–सुविधा लिइन । राज्यले खातामा जम्मा गरिदिने तलब भत्ताबाहेक यो अवधिमा पनि कुनै सेवाग्राहीसँग सेवा प्रवाहबापत एक कप चियासमेतको मागदाबी नगरी करिब आधा लाख सेवाग्राहीलाई सेवा प्रवाह गर्न सकेँ ।
दैनिक ५३ किमी पार गरेर बनेपादेखि अफिस आउने जाने गरिरहेको छु । साथीहरू भन्छन्, यतै एउटा काेठा लिएर बस्नु, किन दुःख बेसाइरहेका छाै ।
अधिकृतमा बढुवा हुँदा ब्याजी साथीहरूले सिंहदरबार रोज्नुभयो । म दूरदराज प्युठानतिर पुगेँ । उहाँहरूको राय, सुझाव थियो बुढेसकालमा जिल्ला गएर दुःख थप्ने काम नगर्नु तर म सिंहदरबार छाडेर अत्यधिक कामको चाप हुने जिल्ला प्रशासन कार्यालयमा काम गर्ने अनि पीडित भुइँमान्छेलाई विशेष सहयोग गर्ने सोचसाथ जिल्ला रोजेँ । कागजात पुगेका कुनै पनि सेवाग्राहीलाई आजै हुने कामका लागि भोलि आउनुहोस् भनिएन । अपांगता भएका सेवाग्राहीलाई बिदाका दिन पारेर उनीहरूको घर दैलोमा पुगी सेवा दिन पाउँदा बेग्लै आनन्द अनुभूति हुन्थ्यो । बेथिति र लापरबाही जिल्ला–जिल्लाका सरकारी कार्यालयमा मौजुद छन् । यस्ता बेथिति काभ्रेपलाञ्चोकमा अझ बढी छन् । यो बेथितिमा पनि थिति बसाल्न सक्दो प्रयत्न गरेँ । सेवाग्राहीलाई अल्मल्याउने, ढिलासुस्ती गर्ने काम कहिल्यै गरिएन । प्रायः जुन–जुन कार्यालयमा सरुवा भएर जान्थेँ नयाँ नागरिकताको जिम्मा मलाई नै बढी हुन्थ्यो । यसको अलावा प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, सवारी पास, बजार अनुगमन, नाबालक परिचयपत्रलगायतमा कामको चाप उत्तिकै आए पनि बिरामी भई थला नपरुञ्जेल काम गर्न गाह्रो भयो भन्न सिकिएन÷सकिएन ।
गृह मन्त्रालयमा रहेपछि धेरैको अपेक्षा हुन्छ मान पदवीबाट विभूषित हुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा हुने, वैदेशिक भ्रमण गर्ने, सकभर केन्द्रीय अड्डा सिंहदरबार नछाड्ने । तर, मैले दुई वटा विभूषण दावी गर्ने अवधिमा आजसम्म कुनै माग दाबी गरिन न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै सरुवा मागेँ । न वैदेशिक भ्रमणका लागि चाकडी गरियो । कहीँ–कतै पदीय हैसियत देखाएर एक कप चियासमेत सित्तैमा खाइएन ।
काभ्रेपलाञ्चोकमा नागरिकता शाखाको जिम्मेवारी पाइयो । कार्यरत रहँदै गर्दा ०७९ पुस ८ गते दुर्घटनामा परियो । देब्रे कुम भाँचियो । त्यसपछि मेरो सेवाप्रवाहमा अकल्पनीय ठेस लाग्यो । धुलिखेल अस्पतालमा उपचारपछि ६ हप्तासम्म सेवा प्रवाहमा प्रतिकूल असर पर्ने डाक्टरको कुराले मन अलि खिन्न भयो तथापि उपचार र आरामको विकल्प थिएन । दुर्घटनाको ७ दिनपछि गाडी रिजर्भ गरी फलो अपका लागि धुलिखेल अस्पताल र बिदाका लागि कार्यालय गएँ । कार्यालयमा हाकिमहरू भेटिएन । प्रशासन शाखाका साथीको सल्लाहअनुसार ६ दिनका लागि बिदा लेखेर आएँ । अत्यधिक दुखाइले दिनभर पर्खन सकिएन । पुनः अर्को हप्ता यही प्रक्रिया दोहोरियो । तर, बिदा स्वीकृत हुन सकेन । त्यसपछि मनमा एक खालको पीडा थपियो । यस्तो बेलामा पनि बिदा नपाउने जागिर किन खानुपर्याे ?
उसमाथि ३७ वर्ष पुगेको घाटाको जागिर ! तलबभन्दा अरु अपेक्षा नराख्ने मैले के पाउनु छ र ? एउटा बिरामीले बिदा पाउँदैन भने किन जागिर खानु ? मन्त्रालयका केही साथीसँग सल्लाह गरँे, जागिरबाट राजीनामा दिनेसम्बन्धमा । उहाँहरूको सल्लाह रह्यो– तत्काल नदिनु । उहाँहरूले नै त्यहाँबाट कम चाप नहुने ठाउँ राष्ट्रिय बिपद प्राधिकरणमा सरुवा मिलाइदिनुभयो । दरबन्दी बढी भएका साथीहरूलाई थन्क्याउने ठाउँ बनेको रहेछ विपद प्राधिकरण । केही महिनापछि त्यहाँबाट गृहको विभूषण शाखामा सरुवा भएँ र त्यहीँ कार्यरत रहँदा वैशाख १ मा बाँकी रहेका विभूषण बाँड्ने काम गरियो । दुर्घटनापछिको शारीरिक पीडाले भन्दा पनि मप्रतिको व्यवहारले गृह मन्त्रालय छाड्ने मुडमा पुगिसकेको थिएँ । निजामती वृत्तभित्र गर्नुपर्ने जिम्मेवारीका रूपमा कहीँ–कतै नलेखिएको तर गर्नैपर्ने चाकडी नगरेको, कतिपय विसंगति, विकृतिविरुद्ध बोलेको कारण कोपभाजनमा परेँ ।
तर, साथीहरूकै सल्लाहले राजीनामा नदिई जागिरमा अडिरहेको छु । महिना दिनदेखि गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निजी सचिवालय (सम्पर्क शाखा) मा कार्यरत छु । दैनिक ५३ किमि पार गरेर बनेपादेखि अफिस आउने, जाने गरिरहेको छु । साथीहरू भन्छन्, यतै एउटा कोठा लिएर बस्नु किन दुःख बेसाइरहेका छौ तर परिवारसँग टाढा कोठा लिएर बस्न मन लागेन । उसो त मलाई सिंहदरबारभित्र बसेर जागिर खाने मन छैन । सिंहदरबार पहुँच हुनेहरूको ठाउँ हो । म पहुँचविहीन नागरिकको सेवा गर्न चाहन्छु, जिल्ला र दूरदराजमा बसेर । जिल्लामा रहेर काम गर्ने सोचकै कारण भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले उहाँको सचिवालयमा रहेर काम गर्न गर्नुभएको अनुरोधलाई स्विकार्न सकिएन । चाकडी, चाप्लुसी निजामती सेवाको ३७ वर्षमा कहिल्यै नसिकेको सेवानिवृत्त हुने बेला मैले सिकेर चाकडी खोज्नेहरूलाई रिझाउने त कुरै भएन ।
यी केही तीता–मीठा अनुभव सँगाल्दै दुर्घटनापछिको शारीरिक अशक्तताका कारण मोफसलका भुइँमान्छेलाई सेवा दिई उहाँहरूसँगै रम्ने इच्छालाई अब मैले निरन्तरता दिन नसक्ने भएको अवस्थाप्रति क्षमाप्रार्थी छु । तथापि म निजामती सेवामा रहँदा वा सेवानिवृत्त भएपछि पनि चिनेका वा नचिनेका जो कोही प्रियजनलाई जाने बुझेका कुरामा साथ सहयोगका लागि सदा तयार छु ।
– हरिगोपाल कर्माचार्य, शाखा अधिकृत
टिप्पणीहरू