शरणार्थी हिँडेपछि क्याम्प रित्तै
प्राकृतिक सौन्दर्यले भरिपूर्ण रसुवाको गोसाइँकुण्ड पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक पुग्ने गर्छन् । जनैपूर्णिमाको दिन त त्यहाँ भक्तजनको चाप थेगिनक्नु हुन्छ । हिन्दू धर्मावलम्बीको पवित्रस्थल गोसाइँकुण्डमा स्नान गर्दा पाप पखालिने र पुण्य कमाइने जनविश्वास छ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमामा त्यहाँ मेला लाग्ने गर्छ । गोसाइँकुण्ड गाउँपालिका–५ बाट चार हजार ३८० मीटर उचाइमा रहेको गोसाइँकुण्डमा लागेको यस वर्षको जनैपूर्णिमा मेला समाप्त भइसकेको छ । सो अवसरमा लाखौं भक्तजनले गोसाइँकुण्डको भ्रमण गरेका थिए ।
वडा नम्बर ५ को लौरीबिनायक र बुद्ध मन्दिरबीचको इलाकामा तीर्थालुको सहजताका लागि छाप्रो (थुर्पु) बनाइएको थियो । गोलभेंडा खेतीका लागि प्रयोग हुने टनेलजस्तो देखिने छाप्रो तीर्थालुको थकाइ मार्ने थलो बन्यो । झण्डै डेढ दर्जन छाप्रो सामान्य त्रिपालको प्रयोग गरेर बनाइएको थियो । यता, ‘संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायोग’ को कार्यालयले तिब्बती शरणार्थीलाई वितरण गरेको त्रिपालबाट निर्मित दुई वटा छाप्रोमा ‘युएनएचसीआर’ लेखेको फेला पर्यो । यसले त्यहाँ तिब्बती शरणार्थीको बसोबास छ भन्ने त स्पष्टै देखाउँथ्यो । तर, त्यहाँस्थित तिब्बती शरणार्थीको पुनर्वास क्याम्प नै रित्तिसकेको पाइयो । रोजगारीको खोजीमा तिब्बतीहरू विभिन्न ठाउँ गएपछि क्याम्प खाली भएको वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङले बताए । उनका अनुसार हाल एक जना वृद्ध मात्रै सो क्याम्पमा बस्दै आएका छन् ।
७० वर्ष कटिसकेका पासाङ लामा श्रीमतीको निधनपछि एक्लिएका हुन् । उनले डोको बनाएर जीविकोपार्जन चलाउँदै आएका छन् । त्यस्तै, स्यार्पो बजारमा दुई जना तिब्बती शरणार्थीको बसोबास छ । झयाङ्जु लामा र लोपसन लामाले बजारमा पसल सञ्चालन गरिरहेको वडासचिव जंगे तामाङले बताए । ‘तिब्बती शरणार्थीको क्याम्प रित्तिसकेको छ । पहिले छोराछोरी कामका लागि विभिन्न जिल्ला गएका थिए । पछि त उनीहरूले बुवाआमालाई पनि लिएर गए । श्रीमती नेपाली भएकाले दुई जना तिब्बती शरणार्थीले जग्गा किनेर घर बनाएका छन् । त्यहीं पसल थापेर बसेका छन्,’ उनले भने ।
क्याम्प खाली, उद्योग बन्द
नेपालस्थित एक दर्जन तिब्बती शरणार्थी पुनर्वास केन्द्रमध्ये रसुवामा रहेको पनि एक हो । सन् १९६८ मा नेपाल रेडक्रस सोसाइटीले साविकको स्यार्पो गाविस–१ मा ‘गाईगाईलिङ रिसेटल क्याम्प’ स्थापना गरेको थियो । नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायोगको तथ्यांकअनुसार कूल १३ हजार ५१४ शरणार्थीमध्ये रसुवामा २०१ रहेका छन् । २०७२ वैशाख १२ गते आएको महाभूकम्पले त्यहाँ ठूलो क्षति पु¥यायो । त्यसपछि उनीहरू रोजगारीका लागि विभिन्न जिल्लातिर छरिएका छन् । वडासचिव तामाङका अनुसार अधिकांश बिदेशिइसकेका छन् । उनीहरूले क्याम्पमा कार्पेट उद्योग सञ्चालन गरेका थिए, जुन हाल बन्द छ । शरणार्थीहरू हिँडेपछि क्याम्प सुनशान छ ।
विद्यार्थीको अभावमा विद्यालय बन्द
तिब्बती शरणार्थीका सन्तानले अध्यापन गर्दै आएको स्यार्पो विद्यालय बन्द अवस्थामा छ । ‘स्नो लायन फाउण्डेशन’ द्वारा आर्थिक सहयोगमा सञ्चालित स्कूल भूकम्पले ध्वस्त बनाएको थियो । हाल विद्यार्थीको अभावका कारण बन्द छ । उक्त स्कूलमा अध्ययनरत ३७ जना विद्यार्थीलाई काठमाडौंको स्वयम्भूस्थित न्यामग्याल मिडल स्कूलमा भर्ना गरिएको छ ।
टिप्पणीहरू