वैदेशिक रोजगारमा गएका जनजाति महिलाको समस्या बग्रेल्ती
- जीवन श्रेष्ठ
घर सम्हाल्नु नै महिलाहरुको काम हो भन्ने मान्यता थियो कुनै बेला नेपाली समाजमा । उनीहरुलाई न विद्यालय पठाइन्थ्यो, न रोजगारीका लागि कहीँ–कतै चलन थियो । पुरुष कमाउन जाने र महिलाले घरधन्दा सम्हाल्ने भन्ने मानसिकता थियो । घाँसदाउरा, मेलापात, चुलाचौकामा मात्र महिला सीमित थिए । यसले महिलाको सबै अधिकार कुण्ठित गर्दै दोस्रो दर्जाको नागरिकको रुपमा स्थापित गरिदियो ।
२००७, २०४६ र २०६२/६३ को राजनीतिक आन्दोलनबाट व्यवस्थामा भएको परिवर्तनसँगै महिला हकहित अधिकार, स्वतन्त्रता, महिला शिक्षा र पटकपटक भएको महिलामुक्ति आन्दोलनको आयामका कारण महिलामा जागरण मात्र आएन, कमलरी प्रथा र वादी समुदायका महिलाहरुको बाध्यता र चेलीबेटी बेचबिखन हराउँदै गयो ।
विश्वव्यापीकरण र खुला अर्थतन्त्रका कारण नेपाली महिला वैदेशिक रोजगारमा जान थालेका हुन् । तर, वैदेशिक रोजगारीमा गएका महिलाले गर्ने काममा कुनै परिवर्तन आउन सकेको छैन । हिजो रोजगारीको नाममा दरबारमा धाइआमा, सुसारेको रुपमा काम गर्न बाध्य महिलाहरु आज इजरायल, जोर्डन, कुवेतलगायत मुलुकका विदेशी नागरिकको घरमा नव धाइआमा र सुसारे बन्न बाध्य देखिन्छन् ।
आफूले चाहेको बेलामा घरमा आउन नदिने, जस्तोसुकै काम गर्न पनि बाध्य बनाउने र चौबीसै घण्टा साहुको सेवामा हाजिर हुनुपर्नेजस्ता समस्या विदेशिएका महिलाहरुले भोग्दै आएका छन् । महिलाहरु बन्धक बनाइएका घटनाले विदेशी भूमिमा आधुनिक दासी र कमलरी हुन बाध्य भएको प्रष्ट हुन्छ । महिलाहरुमाथि शारीरिक र मानसिक शोषण भइरहेका खबर बेलाबखत बाहिर आएका छन् । उनीहरु आधुनिक वादी समुदायका महिलाको हैसियतमा पुगेको आशंका गर्नेहरु थुप्रै छन् ।
निश्चय पनि व्यवस्था परिवर्तन र महिला आन्दोलनसँगै महिला हकहित र अधिकारको पक्षमा सकारात्मक संकेत त देखिएको छ । यद्यपि हिजो पुरुषप्रधान सोच र मान्यताका कारण दबिएका, हेपिएका र रोजगारीसँगै अनेक अवसरहरुबाट वञ्चित महिलाहरु आज आत्मनिर्भरका लागि जुर्मुराए पनि स्थिति सहज छैन । पुरुषप्रधान सोचबाट समाज आज पनि उत्तिकै ग्रसित छ ।
स्वदेशमा पाइने रोजगारलगायत अवसरमा पुरुषकै वर्चस्व कायम छ भने शिक्षा, चेतना, सीप र दक्षताको कमीका कारण महिलाहरु रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको छ । यसकारण वैदेशिक श्रम बजारले महिलाहरुलाई तानिरहेको छ ।
एक तथ्याङ्कअनुसार पछिल्लो समय दैनिक दुई हजार दुई सय जना नेपाली महिला र पुरुष रोजगारीका लागि विदेशिने गरेका छन् । एक वर्षमा सात लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारका लागि श्रमस्वीकृति लिएरै विदेश पलायन भएका छन् । जसमा ७२ हजार १३४ जना महिला देखिन्छन् ।
तीमध्ये आदिबासी जनजाति महिलाको संख्या उल्लेख्य छ । यद्यपि, आप्रवासी कामदारको हकमा एकमुष्ट तथ्याङ्क र सही विवरणको अभाव छ । त्यसमाथि आदिबासी महिलाको मात्र तथ्याङ्क हुने कुरै भएन । फेरिपनि विभिन्न तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेमा आदिबासी जनजाति महिलाहरुको उल्लेख्य संख्यालाई भने नकार्न सकिँदैन ।
पहिले विश्व श्रम बजारमा पुरुषहरुको मात्र खपत हुने गर्दथ्यो । समयक्रमसँगै अहिले रोजगारीका लागि महिलाहरु पनि लैजान र जान थालिएको छ । हिजो चुलोचौकामा र घरायसी काममा सीमित कामको खोजीका विभिन्न मुलुक गइरहेका छन् । रोजगारीका लागि यतै पनि भौंतारिरहेका छन् ।
महिला आफैं आयआर्जनमा जोडिनु सकारात्मक कुरा हो । महिला सशक्तिकरणका लागि आयआर्जन र स्वःरोजगारीले सकारात्मक भूमिका निर्वाह गर्नेमा दुई मत नहुन सक्छ । यद्यपि, ज्ञान, सीप र बौद्धिक योग्यताका कमीले गर्दा भनेकोजस्तो रोजगारी पाउन सकेका छैनन् ।
राज्यले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न नसक्नु पनि विदेशिनुको प्रमुख कारण हो । जनयुद्धपछि शहर छिर्ने क्रम बढेको छ । जसले वैदेशिक रोजगारीमा जानेको संख्या बढायो । चाहेर होस् या नचाहेर जीविकोपार्जन गर्नका लागि विदेशिनैपर्ने बाध्यता छ ।
सिन्धुपाल्चोक पनि यसबाट अछुतो रहन सकेको छैन । गत आर्थिक वर्षमा सिन्धुपाल्चोकबाट मात्रै १८ हजार युवायुवती रोजगारीका लागि विदेश पलायन भएका छन् । तीमध्ये आठ हजार महिला हुन् । झण्डै ९० प्रतिशत आदिबासी जनजाति महिला रहेको सुरक्षित आप्रवासन कार्यक्रमले जनाएको छ ।
घरायसी कामका लागि उनीहरु इजरायल, कुबेत, संयुक्त राज्य इमिरेटस्, दुबई, कतार, मलेसिया, जोर्डनलगायत मुलुक पुगेका छन् । तर, केहीले मात्र राम्रो काम र दाम पाएको अवस्था छ । अधिकांश आदिबासी जनजाति महिलाले समस्या झेल्नुपरेको कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठले बताइन् ।
समस्यामा परेकाहरुले उजुरी दिने क्रम बढेको छ । भाषागत ज्ञान, सीप, दक्षताका कमीका कारण अधिकांश महिला विदेशी भूमिमा अलपत्र परेको उनी बताउँछिन् । त्यस्तै, कतिपयले मानसिक क्षमता नै गुमाएको खबर पनि आएको उनले जानकारी दिइन् ।
दलालहरुको फन्दामा परेर अलपत्र भएका आदिबासी महिलाको संख्या उल्लेख्य रहेको परामर्शकर्ता श्रेष्ठको भनाई छ । यसरी अलपत्र परेकी मध्येकी एक हुन् डिकी शेर्पा । ३२ वर्षकी शेर्पा पाँच वर्षअगाडि घरायसी कामका लागि १२ लाख रुपैयाँ तिरेर युरोप जान भनेर काठमाडौंबाट प्रस्थान गरिन् ।
युरोप गएकी भनिएकी उनी चार वर्षदेखि दुबईमा छिन् । दलालले उनलाई युरोप पुर्यानन्, उनी कुबेतमै अड्किइन् । त्यहाँ पनि तीन महिना काम नपाएपछि दुबई आइपुगेकी उनको भिसाको समयावधि सकिएको छ । उनको दिदीले डिकीलाई उद्धार गरिदिन हारगुहार गरिरहेकी छिन् ।
त्यस्तै, बाह्रबिसे नगरपालिकाका ४४ वर्षीया सेरसाङ लामा र ४० वर्षीय याङजेन शेर्पा दक्षिण अमेरिकामा बन्धक छन् । विगत पाँच महिनादेखि क्यारेबियन टापु ट्रिनिडाड एन्ड टोबागोमा उनीहरुलाई बन्धक बनाएर राखिएको छ ।
गत साउनमा नेपाली सञ्चार माध्यममा उनीहरुबारे समाचार प्रकाशत भयो । तर, प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अहिलेसम्म पनि उनीहरुको उद्धार गर्न सकेको छैन । उनीहरु अप्रत्यक्ष रुपमा परिवारको सम्पर्कमा छन् । कार्यक्रमका अनुसार लामा दुबई र शेर्पा मकाउमा काम गर्न गएका थिए ।
रोजगारीको सिलसिलामा विदेश गएकाहरुको अवस्था एकदमै नाजुक छ । तरपनि विदेशप्रतिको मोह घटेको छैन । कतिपय बन्धक छन् त कतिपय गएको केही महिनामै फर्किन्छन् । विदेश गएको तीन महिनामै फर्किएकी थिइन् लक्ष्मी श्रेष्ठ ।
बाह्रबिसेको ३० वर्षीया श्रेष्ठ २०७९ बैशाखमा कुबेत गएकी थिइन् । तर, लगातारको बिरामी परेपछि उनी फर्किइन् । आर्थिक अवस्था कमजोर भएपछि विदेश हानिएकी उनी त्यहाँको हावापानी र खानाको कारण थलिएकी हुन् ।
एकातिर भाषाको समस्या अर्कोतिर स्वास्थ्यमा समस्या । उनको लगानी ‘बालुवामा पानी’ भयो । होमसिक भएपछि फर्किएकी उनलाई समाजले हेर्ने दृष्टिले अप्ठेरोमा पारेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ की ४५ वर्षीया कमला तामाङ (नाम परिवर्तन) पनि कम्पनीमार्फत् नै जोर्डन पुगेकी थिइन् ।
२०७८ वैशाखमा जोर्डन गएकी उनी १० महिनापछि नेपाल फर्किइन् । कम्पनीमा काम भनिए पनि सप्लाईमा परेकी उनले तीन महिनापछि काम पाइनन् र फर्किन् बाध्य भइन् । घरायसी कामका लागि गएकी उनलाई दिनरात नै काम लगाइन्थ्यो ।
तीन महिनापछि म्यानपावरले अर्को साहुकोमा काम लगाइदिन खोजेपनि उनी फर्किएकी हुन् । भाषाको समस्याका कारण काम गर्न धेरै गाह्रो हुने उनको भनाइ छ । जतिखेर पनि काम लगाउने र आराम गर्ने फुर्सद् नै नहुने उनको अनुभव छ ।
स्याउलेकी सोममाई तामाङको कथा भने अलि बेग्लै छ । २०७८ वैशाखमा घरायसी कामका लागि जोर्डन पुगेकी उनी मानसिक र शारीरिक यातनापछि नेपाल फर्किन बाध्य भइन् । यातनाबाट थला परेकी उनलाई बुवा आपाइ तामाङको सक्रियतामा उद्धार गरियो । उनलाई पहिलेकै अवस्थामा आउन महिनौं लाग्यो ।
मानसिक स्वास्थ्य परामर्शबाट सामान्य स्थितिमा फर्केकी उनले चौतारामा नै चप्पल कारखाना खोलिन् । तर, बजार नहुँदा उनको लगानी डुबेको छ । अन्य काम गर्ने सीप नभएपछि फेरि विदेशिएकी उनले अहिले राम्रो काम पाएको बताइन्छ ।
चौतारा साँगाचोकगढीकी शिरमाया लामा अहिले ज्याला मजदुरी गर्छिन् । आठ वर्षअगाडि घरायसी कामका लागि विदेश गएकी उनी त्यहाँको दुःख झल्झली सम्झिन्छन् । साहुको ज्यादती सम्झिँदा उनको आँखाबाट आँशु झर्छ । श्रीमानको कमाइले नपुगेपछि विदेशी पुगेकी उनले त्यहाँको कमाइबाट घर बनाइन् । छोराछोरी पढाइन् तर विदेश जानु राम्रो नभएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीका लागि आदिबासी जनजाति महिला मात्र होइन्, अन्य पनि जाने गर्दछन् । अधिकांशको अनुभव एउटै छ । सीप र दक्षता नभएकाले उनीहरु असाध्यै मर्कामा पर्ने गरेका छन् । राजनीतिक र सामाजिक रुपमा पहुँच नभएका कारणले मात्र हैन्, आदिबासी महिलालाई नेपाली भाषा नै राम्रोसँग बोल्न आउँदैन् । जसका कारण उनीहरु झनै समस्यामा पर्ने गरेका छन् ।
स्वभावले नै सोझी र अरुलाई छिट्टै विश्वास गरिहाल्ने प्रकृतिका कारण पनि आदिबासी महिलाहरु वैदेशिक रोजगारीको क्रममा बढी ठगिने कार्यक्रमको जिल्ला संयोजक अरुण पौडेल बताउँछन् । अधिकांश महिला घरायसी कामकै लागि विदेश जाने गरेको उनको भनाई छ । भाषा, शिक्षा र सीपबिना जाँदा उनीहरु धेरै मर्काको पर्ने गरेको उनको बुझाइ छ ।
कुनै बेला चेलीबेटी बेचबिखनको जिल्लाको रुपमा चिनिएको सिन्धुपाल्चोक पछिल्लो समय महिला आप्रवासनका लागि चिनिन थालेको छ । आदिबासी जनजातिकै बाहुल्यता भएको सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीको लहर चलेको छ ।
अशिक्षा, चेतना, चरम बेरोजगारी र गरिबीको कारण आदिबासी जनजाति महिलाहरु उहिले रोजगारीको नाममा बेचबिखनमा पर्थे भने अहिले वैदेशिक रोजगारीका नाममा दुःख पाइराखेका छन् । जुगल, भोटेकोसीलगायत विकट र ग्रामीण भेगका महिलाहरु विदेशिने र ठगीमा पर्ने गरेको मानव अधिकार जनमञ्चकी कर्मचारी कृति गोलेले बताइन् ।
जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिलाहरुमध्ये ९० प्रतिशतभन्दा बढी आदिबासी रहेको उनको निचोड छ । जसअनुसार बिना सुझबुझ दलालको प्रलोभनमा परेर विदेश गएकाहरु समस्यामा पर्ने गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकामा कार्य गर्दै आएको कार्यक्रमले हालसम्म ७५ जनालाई परामर्श दिइसकेको छ ।
टिप्पणीहरू