अहिलेको गणतन्त्रभन्दा उहिलेको राजतन्त्र सही ?
– जीवन श्रेष्ठ
राष्ट्रिय राजनीतिक रंगमञ्चमा यतिखेर नवमण्डलेहरूको अभिनय जोडदारसाथ जारी छ । “श्रीमान् गम्भीर नेपाली प्रचण्ड, प्रतापी, भूपति...” अर्थात् पूर्व भूपतिको प्रस्तुति नेपथ्यबाट गुञ्जिरहेको छ । दर्शक सिठी फुक्दै, ताली पिट्दै उत्साहित भइदिन्छन् । मानौँ मञ्चमा भगवान नारायण प्रकट भएका हुन् । दर्शक अभिशप्त छन् ताली बजाउन, सिठी फुक्न ।
जसरी उनीहरूले ताली बजाएका थिए सात सालमा । फेरि सत्र सालमा । त्यस्तै ०४६ साल र अन्तिम पटक ०६२÷६३ सालमा । एक दर्शक कानेखुशी गर्दै अर्को दर्शकलाई भन्छन्, ‘ठीक ठीक, साला नयाँ भूपतिभन्दा त पुरानो भूपति नै ठीक ।’ यही बेला एउटा पात्र सांसद लेखिएको रातो जुम्लेली स्याउ टोक्दै डाइलग मार्छ ‘राजा आऊ, देश बचाऊ ।’ दर्शक पर्रर ताली बजाउँछन् । मञ्चको पूर्वतिरबाट प्रवेश गर्दै अर्को पात्र उस्तै हुलियाको संवाद ठोक्छ ‘श्री ५ महाराजाधिराज सरकार कि जय’ । तालीको गड्गडाहट झन् बढ्छ । मञ्चको मध्यभागमा ठिङ्ग उभिएर समाचार शैलीमा एउटा पात्र फलाक्छ ‘विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश’ । म अवाक हुन्छु । राजनीतिक थिएटरमा प्रदर्शन हुँदै आएको नवभूपतिहरूको नाटक सुपरडुपर फ्लप हुने संकेत एकपछि अर्को देखिँदै छन् । यो संकेत सामान्य भने होइन । त्यही भएर पनि नवमण्डलेहरूले अर्को नाटक थालेका हुन् ।
ग्रीष्मकालीन घामजत्तिकै छ परिवेश । घामले डढेर हैरान भएका जनता हरहर महादेव पानी दे भनेर चिच्याइरहेछन् । यसैको परिणामस्वरूप भष्मासुरहरू बढ्दै छन् । उनीहरू तेरा महादेव उत्तानो प¥यो, अब वरदान दिन सक्दैनन् । बरु आऊ मेरो मरिसकेको महादेवलाई चिहानबाट जगाऔं भन्दै छन् । के अहिलेको गणतन्त्रभन्दा उहिलेको राजतन्त्र नै सही हो ?
आमा भन्नुहुन्थ्यो– म जन्मँदा एक हुल मान्छे संविधान दिवस जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर बरालिँदै थिए अरे । त्यो पुस १ गते थियो । २०१९ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती संविधान लागू गरेका थिए । निर्दलीय संविधान लागू भएको झण्डै १३ वर्षपछि जन्मेको म, कक्षा २ मा पढ्दा पहिलोपटक पुस १४ गते त्यही नारा लगाउन लगाइयो मलाई । गुरुबालाई सोधेको थिएँ ‘के हरेक पुस १४ गते हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर हामी भुराभुरी जुलुसमा जान जरुरी छ ?’ ‘आम्मै, गएन भने त मारि हाल्छ नि राजाले,’ गुरुबाको प्रतिउत्तर थियो । फेरि पनि पुस १४ र कात्तिक २२ गते यो नारा लगाउन हजारौं बालबालिका बाध्य थियौं । ०४० को दशकतिर देशमा एउटा आन्दोलन चल्यो । सबैले त्यसलाई समर्थन गर्दै पसलहरू बन्द गरे ।स्थिति आमहडतालमा परिणत भयो । सबै पसल बन्द थिए तर प्रहरी आउँदै लाठी बर्साएर जबर्जस्ती पसल खोल्न लगाए । ०४२ सालतिरै सिन्धुपाल्चोक जिल्लामा पिस्कर हत्याकाण्ड भयो । साँस्कृतिक कार्यक्रममा अन्धाधुन्द गोली चलाउँदा इलबहादुर र वीरबहादुर थामीले सहादत प्राप्त गरे । त्यो राजाकालीन समय थियो ।
त्यतिखेर राजाबारे त परै जाओस् व्यवस्था, स्थानीय प्रहरी, प्रशासक र सामन्तीहरूविरुद्ध पनि लेख्न त के साउतीको सासमा बोल्न पनि मनाही थियो । जसले बोल्न खोज्थ्यो ऊ सिधै कि जेलमा जाकिन्थ्यो, कि त सुलीमा चढ्थ्यो । त्यतिखेरै सुनेथेँ पञ्चायती व्यवस्थाविरुद्ध बोल्दा १४ वर्षकै कलिलो उमेरमा जेल परेकाहरूको इतिहास । छिन्ताङ घटना पनि राजाकालीन समयमै भएको हो । नमिता, सुमिता हत्याकण्ड राजाकालीन समयकै हो । मन्दिर मन्दिरबाट पुराना मूर्ति चोरी राजाकालीन समयमै भएको थियो । के त्यस्ता प्रकृतिका घटना अहिलेचाहिँ नभएको हो त ? हैन, अहिले पनि भएका छन् । तर ती घटना राजा र राजपरिवारबाट हुने गरेका थिए वा त्यसको आडमा प्रहरी, प्रशासक र सामन्तीहरूले गर्थे, त्यसबेला त्यसविरुद्ध चुँसम्म पनि बोल्न पाइँदैन थियो । लेखेर दुनियाँलाई सचेत गराउने विषय त दिवास्वप्न मात्र ।
०४६ को जनआन्दोलनले राजालाई संवैधानिक बनायो । तर, राजपरिवार र राजाको रवाफ पञ्चायतमा भन्दा कम थिएन । तत्कालीन शाहज्यादा पारस शाहको उन्माद अचम्मकै थियो । त्यही समय पारसबाट संगीतकार प्रवीण गुरुङ पक्लक्कै ढले । बोल्न सक्ने को ? विरोध गर्न सक्ने कसको ल्याकत ? कविता लेखेथें त्यही विषयमा । छापिदिन सक्ने कसको तागत ? चिर्कटोमै हरायो कविता । सेनाको जब्बर पहराभित्र राजा वीरेन्द्रकै मात्र वंश स्वाहा हुनेगरी दरबार हत्याकाण्ड कसरी र कसले गर्न सक्छ ? फेरि त्यसबारे लेख्ने औकात कसको ? ०६१ माघ १९ पछि त तत्कालीन राजा ज्ञानेन्द्रले संविधानकै हत्या गरेर शासन आफ्नो हातमा लिए । फेरि एकप्रकारको निरंकुशता हाबी भयो । समाचारको कखरा सिक्दै थिएँ । फ्याक्सको सुविधा जिल्ला प्रशासन कार्यालयमा मात्र थियो । त्यसपछि के भयो ?
सम्पादक सिडिओ बन्यो । राजधानीबाट प्रकाशन हुने पत्रिकाका लागि पठाइने सामग्री सिडिओबाट सेन्सर नभइञ्जेल फ्याक्स मेशिन चल्दैन थियो । एउटा कविता लेखेथें सोही समय दर्शन भेटबारे । दलका नेताले राजालाई गर्ने दर्शनभेटको सन्दर्भ थियो त्यसमा । कर्मचारी मिलन केन्द्रको स्मारिकामा दिएँ छपाउन । किन छापिन्थ्यो ? । हामी यो कविता छाप्न सक्दैनौँ भनेर सिधै रिजेक्ट हानिदिए । हुन पनि विस्तारै प्रेस र अभिव्यक्ति स्वतन्त्रता साँघुरिँदै थियो । यतिसम्म कि गाईजात्राको दिन हामीले टाँस्ने गरेको व्यंग्यात्मक भित्तेपत्रिका च्यात्न प्रहरी आउने गथ्र्यो ।
अहिलेको पुस्ता त्यो भोगाइबाट वञ्चित छ र त उनीहरू राजा आऊ देश बचाऊ भन्दै छन् । राजा आउँदा वा नआउँदा देश बच्छ कि बच्दैन– त्यो म जान्दिनँ तर राजा आउँदा भेष बच्ने छैन, भाषा बच्ने छैन, संस्कृति बच्ने छैन ।
अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता मानवअधिकार बच्ने छैन । त्यतिखेर राजाले जे गर्दा पनि बोल्न पाइँदैन थियो । अहिले राष्ट्रपतिलाई गाली गर्न सक्ने हैसियतमा छौं । राष्ट्रपति रामचन्द्र पौडेल मूर्दावाद भन्न सक्छौं । प्रधानमन्त्रीको गलत कार्यविरुद्ध बोल्न, लेख्न मात्र हैन उस्तै सचेतता अपनाउने हो भने फाल्ने बर्कत पनि हामीसँग छ ।
राष्ट्रपतिको भूमिकाको क्यारिकेचर गर्न मनोज गजुरेलहरूलाई छुट छ । प्रधानमन्त्रीकै खिल्ली उडाउन धुर्मुसहरूलाई छुट छ तर ऊबेला राजाको वा प्रधानमन्त्रीको क्यारिकेचर गर्न मह जोडीलाई छुट थिएन । अझ सबैभन्दा ठूलो कुरा त यही व्यवस्थाभित्र रहेर यसैको संविधानविरुद्ध विमति र विरोध राख्न पनि छुट छ । केही नवमण्डले यही व्यवस्था र संविधानको सास फुक्दै सांसद बनेका छन् । हेक्का रहोस्– चाहे गणेशमान होउन् या मनमोहन या अरु कोही, तिनीहरू कसैले पञ्चायती व्यवस्थाभित्र रहेर सुख सुविधा पद धारण गरी राजतन्त्र ढालेका हैनन् । आफ्नो ज्यानलाई हत्केलामा राखेर व्यवस्थाविरुद्ध लागेका हुन् । भूमिगत बाँचेका हुन् । के अहिलेका नवमण्डलेहरूमा त्यो साहस छ ?
निश्चय पनि अहिलेको गणतन्त्रमा गञ्जागोल छ तर यसको अर्थ यो होइन कि योभन्दा उत्तम राजतन्त्र थियो । कसैको वर्तमान खराब भयो भन्दैमा अतीतमा फर्कन खोज्नु मूर्खतासिवाय केही होइन । त्यसमाथि २ सय ४० वर्षसम्मको राजतन्त्र हेरेकै हो नेपालीले । ठीक छ यो व्यवस्था प्रतिकूल भयो रे तर यसभन्दा उन्नत व्यवस्था पाउने यात्रामा निस्कने कि उही चिहानमा पुरिएको राजतन्त्र फर्काउने ? हिजो राणाको जुठोपुरो खाएर हुर्केकाहरूले पनि त १ सय ४ वर्षे राणा शासन ठीक थियो भन्लान् । राणा आऊ देश बचाऊ भन्लान् । त्यसको मतलव के पशुपति समशेरलाई श्री ३ महाराज घोषणा गरेर अघि बढ्ने हो त ?
सडकमा एकहुल माष्टर उत्तानो पर्दै हाम्रो माग पूरा गर भनिरहेको देख्छु, सँगसँगै सेता कोटधारीहरू । अलि पर जान्छु हत्या अभियोगमा सजायँ भुक्तानी गर्दै गरेको पात्र राष्ट्रपतिबाट आम माफी पाएर अबिर जात्रासहित जेलबाट निस्कँदै गरेको देख्छु । दिक्क लागेर पत्रिका हेर्छु– १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार । विमान अड्डातिर आँखा दौडाउँछु, एकहुल युवायुवती परदेश उड्न तम्तयार भएको देख्छु । एउटा अधवैंशे नगिच आएर भन्न थाल्छ के विधि महँगी हो यो ? जाबो गोलभेडाको भाउ कति बढ्या ? संसद्भवनतिर हान्निन्छु, देख्छु सरकार पक्षका नेताले प्रतिपक्षको नेतालाई चोर भन्यो भन्दै बैठक अवरुद्ध पारेर सुर्कासुर्की गरेको । यी र यस्तै दृष्यबाट विरक्तिएको म, मनमनै भन्छु– पक्कै पनि केही थिति अवश्य बिग्रिएका छन् । केही रीति र सृष्टि बिग्रिएका छन् तर गणतन्त्र र संघीयताको प्रकृति त पक्कै बिग्रेको छैन । बरु बिग्रिएकै हुन् यसका ठेकेदारहरू ।
टिप्पणीहरू