कष्ट निम्तिने गरी किन बोल्छन् कमरेड
बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा पार्टीबीच प्रतिस्पर्धा र आपसी मतभेद हुनुलाई सामान्य मानिन्छ । कतिपय अवस्थामा नेताबीचको आपसी कटाक्ष पनि अस्वाभाविक होइन । तर, विदेशीका अगाडि आन्तरिक विवाद छरपष्ट पारिनुचाहिँ कुनै पनि हिसाबले सही ठहरिँदैन । एमाले महासचिव शंकर पोखरेलले चीन भ्रमणका क्रममा माओवादीहरूको चर्को विरोध गरेपछि चिनियाँ नेताले समेत अप्ठेरो मानेको सन्दर्भ हो यो ।
नेपाली वाम आन्दोलनमा दुई अलग धारको नेतृत्व गरिरहेका एमाले र माओवादी केन्द्रबीच एकताका लागि उत्तरी छिमेकी चीनले सदाशयता राख्दै आएको विषय नयाँ होइन । यसै सन्दर्भमा चीनले दुवै पार्टीका नेतालाई पालैपालो बोलाएर कूटनीतिक परामर्श गरिरहेकै छ । सोही सिलसिलामा गत महिना चीन पुगेका हुन् शंकर । त्यसअघि पूर्वसभामुखसमेत रहेका माओवादी उपाध्यक्ष अग्नि सापकोटा र महासचिव देव गुरुङलाई पनि छुट्टाछुट्टै बोलाएर चीनले वाम एकताका विषयमा कुराकानी गरेको थियो ।
सुवास नेम्वाङको निधनका कारण अपर्झट नेपाल फर्कनुअघि शंकर नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान्छाओसँग भेटवार्ता गर्नुका साथै चीनको विभिन्न ऐतिहासिक ठाउँको भ्रमण गरेको थियो । कोमिन्ताङ र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको ऐतिहासिक स्थल चोङछिङ घुम्न लगिएका बेला चिनियाँ नेताले जापानी र अमेरिकी साम्राज्यवादका विरुद्ध एकजुट भएर लडेको सन्दर्भ निकाल्दै नेपालमा पनि वामपन्थी मिल्नुपर्ने आशय राखेका थिए । तर, आफ्ना अध्यक्ष केपी ओलीलाई माओ त्सेतुङसँग तुलना गरेका शंकर चिनियाँ नेताले समेत असहज महसुस गर्नेगरी माओवादीको चर्को आलोचनामा उत्रिए ।
च्यासलमा कार्यकर्तालाई प्रशिक्षण दिएकै शैलीमा उनले माओवादी केन्द्र कम्युनिष्ट नै नभएकाले ऊसँग एकताको सम्भावना नरहेको भनाइ राखेको बताइन्छ । संसदीय गणितमा कमजोर रहेको माओवादीलाई आफूहरूले सत्तामा पु¥याए पनि उनीहरूबाट धोका भएको गुनासो पनि गर्न भ्याए । तर, चिनियाँ नेता भने शंकरको उक्त अभिव्यक्तिप्रति सन्तुष्ट भएनन् । भ्रमण टोली नेपाल फर्केपछि बेइजिङ दूतावासस्थित एकजना कूटनीतिज्ञसँगको अनौपचारिक कुराकानीमा एक चिनियाँ नेताले खुलस्तै भनिदिए, ‘तपाईंहरूको लिडरसिप म्याचुअर्ड लागेन ।’
शंकरको व्यवहारले सिंगै पार्टीप्रति उत्तरको दृष्टिकोण बदलिन सक्ने चिन्तामा छन्, एमालेका केही नेता । चिन्ता जनाउँदै भ्रमण दलमा संलग्न युवा फाँटका एक सदस्य भन्छन्, ‘पार्टीको महासचिवजस्तो व्यक्तिलाई छिमेकमा गएर कसरी प्रस्तुत हुने भन्ने सामान्य विषय पनि ज्ञान नहुनु दुखद कुरा हो । यसले दुई देश र पार्टीबीचको सम्बन्ध बिग्रन्छ कि भन्ने चिन्ता छ ।’
तत्कालीन नेकपाको विभाजन रोक्न अन्तिमसम्म प्रयास गरेको चीनले नेपालमा वामपन्थी बलियो हुँदा मात्रै आफ्नो सुरक्षालगायत चासो संबोधन हुने ठानेको छ । वामपन्थी नमिलेको अवस्थामा ०८४ को चुनावमा रवि र बालेनहरू जबर्जस्त आउने र उनीहरूले पश्चिमाको स्वार्थ बोक्ने विश्लेषण गरेको चीन त्यसलाई रोक्न पनि एमाले र माओवादीबीच एकता होस् भन्ने चाहन्छ । पुरानो र अनुभवी पार्टी भएकाले कांग्रेसप्रति भने चीनको भरोसा उत्तिकै छ । तर, आगामी चुनावमा एक्लै बहुमत ल्याउने दाबी गरिरहेको एमाले नेतृत्व माओवादीसँग मिल्न तयार छैन । चीनमा शंकर पोखरेल माओवादीप्रति आक्रामक हुनुको कारण पनि त्यही हो भनिँदै छ ।
एकथरी एमाले नेताको विश्लेषण छ– जनमत घट्दो क्रममा रहेको माओवादी ०८४ को चुनावमा एक्लै लड्दैन । माओवादी र कांग्रेस मिल्नु भनेको एमालेका लागि ठूलो घाटा हो । अर्कोतिर नयाँ दलहरूको आक्रामक उदय भैरहँदा अब एमालेसँग विगतमा जस्तो चुनावी नारा पनि छैन । ०७० को चुनावमा ‘नाकाबन्दीविरुद्ध उभिएको’ भन्दै राष्ट्रवादको नाराअन्तर्गत भोट पाएको एमालेलाई ०७४ मा वाम एकताको माहोलले सजिलो भएको थियो । गत चुनावमा चुच्चे नक्साको नाराले धेरथोर काम गरे पनि ०८४ मा ऊसँग गालीगलौजबाहेक केही हुँदैन । पछिल्लो चुनावमा ५१ प्रतिशत समानुपातिक भोट ल्याउने एमाले अध्यक्षको दाबी उल्टै ६ प्रतिशत मत घटेबाट कमजोर सावित भइसकेको छ ।
गत चुनावमा पार्टी पराजित हुनुमा शंकरकै भूमिकालाई जिम्मेवार ठान्छन्, धेरै एमाले नेता । चुनावअघिको केन्द्रीय समिति बैठकमा ओलीलाई भावी प्रधानमन्त्री भनेर उनैले प्रस्ताव गरेका थिए । त्यसको कसैले पनि विरोध गरेनन्, किनभने बहुमत आएको भए यसै पनि ओली नै प्रधानमन्त्री हुने निश्चित थियो । तर, चुनावको परिणामले केपी ओलीलाई अस्वीकार गरिदियो । बेलायतको एउटा सन्दर्भ जोड्दै एक नेता भन्छन् ‘त्यहाँको लेबर पार्टीले एक नेतालाई भावी प्रधानमन्त्री घोषणा गरेर उनकै नेतृत्वमा चुनावमा जाने निर्णय गरेको थियो । तर, पार्टीले हारेपछि उनले तुरुन्त राजीनामा दिए, र लेबरले नयाँ नेता छान्यो । संसदीय अभ्यासअनुसार जाने हो भने ओलीले पनि त्यसै गर्नुपथ्र्यो । हैन भने हामीकहाँ त प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने चलन नै हैन !’ शंकरले अध्यक्षको वकालत गर्दा पार्टी कमजोर भएको बताउने एमाले नेता यसलाई साहुजीको नाकमा झिंगा बस्यो भनेर कामदारले बञ्चरोले हानेको कथासँग तुलना गर्छन् ।
यता, अध्यक्ष केपी ओलीको प्रशंसामा रमाउने शंकरकै कारण पार्टीमा गुटबन्दी मौलाएको गुनासो पनि उत्तिकै छ । बताइएअनुसार प्रदेश अधिवेशनका क्रममा महासचिव पदको दुरूपयोग गरेर गुट चलाएको भन्दै उनीविरुद्ध केही नेता मोर्चाबन्दीको तरखरमा छन् । ‘अध्यक्षको भक्तिगान गाएर महासचिव हात पारेका शंकरबाट अब पार लाग्दैन’, बालकोट निकट भनिने एक नेताले बताए । त्यसो त, केपी ओली प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता रहेका अर्का एक नेताले पनि निकटहरूसंगको अनौपचारिक कुराकानीमा ‘शंकर र ओलीलाई बोकेर हिँडे ०८४ मा झन् ठूलो निराशा हात लाग्ने’ बताउन थालेका छन् ।
अर्कोतिर, बाग्मती प्रदेशको अधिवेशनमा गोकुल बाँस्कोटाको भूमिकालाई लिएर बालकोटका भित्रियाहरू अझै आशंकित छन् । अघिल्लो दिनसम्म कृष्ण दाहालको पक्षमा उचालिएका बाँस्कोटाले ५० वटा जति भेला पनि गरेका थिए । तर, भोलिपल्टै युटर्न भएर रामेछापका कैलाश ढुंगेलतिर खुलेर लागे । यसले पनि एमालेको आन्तरिक राजनीतिमा बुझिनसक्नु उथलपुथलको संकेत गरिरहेको नेता बताउँछन् ।
टिप्पणीहरू