प्रीतिको गीत गाउँदै आयो नेपाली
श्याम रिमाल
आयो दसैँ ढोल बजाई
गयो दसैँ ऋण बोकाई
म भाषा, साहित्य, कला, संस्कृतिमाथि पढ्न, लेख्न मन पराउने मान्छे । कहिलेकाहीँ कूटनीति, वैदेशिक नीति, अन्तरराष्ट्रिय सम्बन्धमा पनि लेखी टोपल्छु आफैँलाई बुझ्न । पछिल्लो समय यसका सम्पादक मानवीय समस्यातिर बढी केन्द्रित हुन लागेका छन् । ‘यो डाक्टर कुट्ने देश...’ लेख्न खोज्दा उनले भनेका थिए, “बिरामीले भोगेका सास्ती पनि समेट्नोस् ।”
पछिल्लो समय इजरायल– हमास जस्ता विषयतिर ध्यान गइरहेका बेला एक दिन फेरि च्याट गरेर उनले भने, “मानवीय इस्यु केही भए लेखम ल !” नेपालमा नेपाली मानवले दुःख, पीडा, वेदना, सास्ती, समस्या, चुनौती नभोगेको कुन क्षेत्र र विषय नहोला र ? राजनीतिक, आर्थिक, सामाजिक इस्यु त कति छन् कति, कूटनीतिक अर्थात् परराष्ट्र नीति, सम्बन्धका बारे पनि नेपालीलाई गफ गर्ने, भाषण गर्ने, अन्तर्वार्ता दिने, लेख्ने काम हुन थालेका छन् । तर यो मानवीय इस्युलाई भने ठ्याक्कै कसरी अथ्र्याउने र कलम धस्काउने ?
नेपालीलाई राष्ट्रिय समस्या जति छ, अन्तरराष्ट्रिय चुनौती पनि त्यत्तिकै बढेर गएको त हालैका वर्षहरूमा कसरी साँढे जस्ता छिमेकी र मित्रहरू जुधेर बाच्छा जस्तो नेपाल र नेपालीलाई मिच्दैछन् भन्ने कुरा बिआरआईदेखि एमसिसी प्याक्टसम्मका प्रकरणमा देखिइहालियो । मूलतः भारत, चीन र अमेरिकाको चेपाइमा परेको नेपाल अझै पनि अब अन्तरराष्ट्रियस्तरमा देखिने र सुनिने भयो भनी चिच्याउँदै छ । खै कहाँ देखियो नेपाल, कता सुनियो नेपाल ? देख्न र सुन्न त सकियो तर कहाँ भन्दाखेरि इजरायल, प्यालेष्टाइन, गाजा र वेस्ट व्याँंकमा । वी आर नेपाली... भन्दाभन्दै हमासका लडाकूले ज्यानै लिइदिए –तिनले नेपाल सरकार, परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति कतिखेर पढ्न, सुन्न भ्याइसकेछन्, यथा “नेपाल सरकार अमूल्य जीवनमा क्षति पु¥याउने र धेरै जना घाइते बनाएको आज इजरायलमा भएको आतङ्ककारी आक्रमणको जोडदार निन्दा गर्छ ।
यस नाजुक समयमा हामी इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ ।” सरकारले यस्तो प्रेस वक्तव्य जारी गरेपछि पनि हमासका मान्छेले हामीलाई त्यसै छाड्लान् र ? नेपाली जनताको सुरक्षा सुनिश्चित गराउने माग गरेर पो विज्ञप्ति जारी हुनुपथ्र्याे ! भारत र चीन दुवै रुस –युक्रेन युद्धमा तटस्थ बसेका बेला नेपालले युक्रेनका पक्षमा बोलिहाल्न हुँदैनथ्यो भन्ने नै धेरै छन् । रुसजस्तो देशले पहिले नेपाललाई पूर्वाधार निर्माण आदिमा सहयोग गरेको र पछि पनि गर्ने नै थियो होला । गौतम बुद्धको मध्यमार्ग समातेको नेपालले यसमा पनि बीचको बाटो नै समाउनुपथ्र्याे ।
युवा पाखुरीलाई विदेश पठाएर रेमिट्यान्सका भरमा बाँचेको देश अब इजरायल–हमास युद्धले तर्सेको छ । युद्धभूमि, रेगिस्तानबाट बचेर सबै नेपाली मातृभूमि नै ओइरिए कसोरी पाल्दो हो नेपालले, कुनै सरकार, मन्त्री, राजनीतिक दलले सोचेका हुँदा हुन् वा होइनन् ? सिक्दै कमाउने नाममा रणमैदान बनेको पश्चिम एशियामा विद्यार्थी र अन्यलाई असुरक्षित रूपले बस्ने गरी कसले पठायो, किन पठायो, यसको पनि उत्तर आउनुपर्छ । महामारीका बेला फर्केका नेपाली फेरि उतै भासिए जस्तै यी पनि उतै नजालान् भन्न सकिन्न । आफ्नो श्रमशक्ति विदेश पठाएर धनी, समृद्ध भएको कुनै मुलुक होला र संसारमा ?
नेपालीको ठूलो चाड दसैँले छोपिसकेको छ । मानिसहरू बजारमा ओइरिन थालेका छन्, टाढा घर हुनेहरू कोही विदेशबाट आउँदै छन्, शहर बजारमा काम र पढाइले बसेकाहरू गाउँ अथवा मोफसल फर्कँदै छन् । तर टिकट लिन आधा रातदेखि लाइन बस्नुपर्ने कस्तो सास्ती हो ? अझ बिग्रेभत्केका, हिलाम्य, उबडखाबड घुमाउरा बाटामा तीनतले बस (सिटमा बस्ने, उभिने र छतमा बस्ने) को वायुवेगको हँकाइले ज्यान हत्केलामा नराखी सुखै पाउन्न । अँ मुलुकमा पशुबलिविरुद्ध यतिका विरोध भइरहेका छन् । पशु अधिकारकर्मी बर्सेनि मन्दिर, पीठहरूमा गएर बलि विरोध गर्छन्, मिडियामा शाकाहारी समुदाय पनि कुर्लिन्छ– सबैका आत्मा बराबर हुन्, देवीले आफ्नै सन्ततिको भोग माग्दिनन् । तैपनि पल्केको जिब्रो के छाड्थ्यो, यता बलि भन्दै मासुको थरी थरीका परिकारको स्वाद लिन माहिर । अझ कसैलाई नयाँ नोट साटेर दसैँको रौनक भिर्याउनु छ । चिल्ला, उज्याला नोट दिने र लिने दुवैथरीको आकर्षण । खासमा दसैँ भनेको सुकिला नोट पनि हुन् । ससाना भुराभुरी, केटाकेटीलाई दक्षिणा हो, मामाघर पनि हो ।
खसी, बोका, भेंडा, च्याङ्ग्रा पहाड, हिमालबाट बजार र बजारबाट घर घरमा घिसारिँदै छन् । तैपनि आफूहरुलाई दसैँ नआएको बताउँछन् पसले, व्यापारीहरू । दसैँका मुखमा नै पेट्रोल, डिजेल र ग्यासको भाउ बढाएर सरकारले जनतालाई बडादसैँको उपहार दिइसकेको छ र फेरि घटाए जस्तो गरेर नाम मात्रको घटाइने पुरानै चलन गणतान्त्रिक सरकारले पनि सिकेको छ । तेलको भाउ त घटाए जस्तो भो, सार्वजनिक गाडीका भाडा त घट्ने होइनन् होला । एक पटक बढाएपछि बढ्यो, बढ्यो, नभए कम्पनीलाई भन, त्यहाँ पनि नभए जाऊ तिम्रै सरकारलाई भन । दसैँमा त कार्ड सार्ड पनि चल्नेवाला छैन । एकातिर उद्योग थला परेकाले मागअनुसारको उत्पादन हुन सकेको छैन, अर्कातिर महँगीले उपभोक्ता पनि बजार जान सकेको छैन– कस्तो विडम्बना !
मनसुनी वायु त फर्कियो तर स्थानीय पश्चिमी वायुका प्रभावले बदली, मेघ गर्जन, चट्याङ र वर्षा हुन छाडेको छैन । हिमपात हुनेवाला छ । चाडबाड रमाइलोसँग मनाउन खोज्नेहरू हिले दसैँका मारमा पर्ने सम्भावना त्यत्तिकै छ । चाडबाडमा पानी पर्ने सांस्कृतिक चलन पनि अचम्मै छ जस्तै भोटोजात्रा, गाईजात्रा, तीज, माघेसङ्क्रान्ति, शिवरात्रि आदिमा पानी परेकै हुन्छ । कविशिरोमणिको ‘हट्यो सारा हिलो, मैलो, भयो आनन्दको वर्षा’ भन्ने कविता पनि असान्दर्भिक नै भइदियो बदली, मेघगर्जन, चट्याङ र वर्षाले । बेमौसमी वर्षाले भित्र्याउन ठिक्क परेको धान नोक्सान परेर किसानको बिजोग भएको छ । सरकार तिनलाई क्षतिपूर्ति दिन तयार होला र ?
एनआरएनले रोजेको याम पनि दसैँ नै हो । एक त घर आउन पाइने, अर्काे साथीभाइ जम्मा हुने, अनि नेता–मन्त्री– प्रधानमन्त्री– राष्ट्रपतिसम्मको भेटघाटले राजनीतिक उचाइ पनि लिने । मातृभूमिको सेवा गर्नु त छँदै छ । अझ अब त दोहोरो नागरिकताले ‘एक पटकको नेपाली, सदैव नेपाली’ ः
बलिष्ठ दुइटा काँधमा हिमाल उचाली
आकाश जस्तो छातीमा नेपाल बसाली
आयो नेपाली, लौ आयो नेपाली
प्रीतिको गीत गाउँदै आयो नेपाली
टिप्पणीहरू