प्रभुको पार्टीले आरतीलाई न्याय माग्दै आन्दोलन गर्ने

प्रभुको पार्टीले आरतीलाई न्याय माग्दै आन्दोलन गर्ने

रहस्यमय तवरले ज्यान गुमाएकी आरतीकुमारी साहलाई न्यायको माग गर्दै प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आन्दोलन गर्ने भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका ९, थापाचोक बस्दै आएको अवस्थामा मारिएकी २२ वर्षीया आरतीलाई न्यायको माग गर्दै आजपाले बुधबारदेखि माइतीघर मण्डलामा आन्दोलन गर्न लागेको बताइएको छ ।

दिउँसो १ बजेदेखि धर्ना दिइने र भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगमा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाउने आजपाले जनाएको छ । आजपाले आज विज्ञप्ति जारी गर्दै पीडित पक्षको न्यायिक मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसहित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै, पीडितमाथि प्रहरी प्रशासनले गरेको व्यवहारप्रति आपत्ति जनाइएको छ । 

‘काठमाडौंको कठ्याङग्रिदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धर्नामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करिब १० बजे रातिको समयमा चार जनाको अज्ञात समूहले गरेको सांघातिक हमला र त्यसको छानबिन गरी दोषीउपर कडा कारबाहीको सट्टा पीडित परिवारलाई नै यही असोज २७ गते बिहान ८ बजेतिर अभद्र गालीगलौज एवम् लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कतजस्ता विभिन्न शृङ्खलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवम् गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

आरतीको परिवार न्यायको माग गर्दै १४४ दिनदेखि धर्नामा छ । दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको र प्रहरी प्रशासनले दोषीमाथि कारबाहीमा चासो नदेखाएको उनीहरुको आरोप छ ।

टिप्पणीहरू