सरुवा भएका हाकिम : हिँडे एकातिर, पुगे अर्कैतिर

सरुवा भएका हाकिम : हिँडे एकातिर, पुगे अर्कैतिर

हेटौंडाबाट सरुवा भएर विनोदप्रकाश सिंह खेलकुद मन्त्रालयमा हाजिर हुन हिँडेका थिए ।
तर, काठमाडौं उत्रिँदा श्रम मन्त्रालयमा परिसकेका थिए । 

एकातिर जागिर खान हिँडेका सहसचिवहरुले बाटोबाटै अन्यत्र लखेटिनु परेको छ । सामान्य प्रशासन मन्त्रालयले दुई हप्ताअघि सरुवाको एउटा सूची सार्वजनिक गर्यो । त्यसमा दर्जनभन्दा बढी सहसचिव अदलबदल भए । गुण्टा कसेर जागिर खान हिँडिसकेका ती सहसचिव गन्तव्यमा पुग्न नपाउँदै अर्को सरुवामा परे ।

यसरी मन्त्रालयले असार १९ मा गरेको सरुवा एक महिना पनि टिकेन । भदौ लाग्दालाग्दै संशोधन भयो । यो मारमा ज्ञानेन्द्र पौडेल, ध्रुुवकुमार पोखरेल, राजेश पौडेल, प्रदीपराज अधिकारी, डण्डुराज घिमिरे, विनोदप्रकाश सिंह र रामबन्धु सुवेदीसहितका सहसचिव परेका छन् ।

महिला तथा बालबालिका मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेललाई गृहमा पठाइयो । तर, त्यहाँ पुग्न नपाई अर्थको चिठी थमाइयो । पोखरा महानगरपालिकाकाको प्रमुख कार्यकारीबाट ध्रुवकुमार पोखरेललाई गृहमा सरुवा गरियो । तर, त्यहाँ हाजिर नहुँदै सञ्चारमा पठाइयो । अर्का सहसचिव राजेश पौडेल यस्तै दुःखमा परे ।

दुई हप्ताअघि सरुवा हुँदा उनलाई  गृहबाट हेटौडा उपमहानगरपालिकाको कार्यकारीमा पठाइएको थियो । तर, बाटैमा सरुवामा परेपछि अहिले  श्रम मन्त्रालयमा पुगेका छन् । उद्योग मन्त्रालयबाट जितपुर सिमरा उपमहानगरपालिकाको कार्यकारीमा सरुवा भएका प्रदीपराज अधिकारी१५ दिनको बीचमा फेरि उद्योगमै तानिए ।

पर्यटनका डण्डुराज घिमिरेलाई कृषि मन्त्रालय पठाइएको थियो । त्यहाँ जान नपाउँदै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइयो ।  हेटौंडाबाट सरुवा भएर विनोदप्रकाश सिंह खेलकुद मन्त्रालयमा हाजिर हुन हिँडेका थिए । तर, काठमाडौं उत्रिँदा श्रम मन्त्रालयमा परिसकेका थिए ।

टिप्पणीहरू