धमाधम कुकुर र बिरालोको बन्ध्याकरण, मंसिरभित्र काठमाडौंका सबै सकाइने

धमाधम कुकुर र बिरालोको बन्ध्याकरण, मंसिरभित्र काठमाडौंका सबै सकाइने

काठमाडौंमा तीन हजार बढी कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । यो अवधिमा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गरिएको र कुनै छुटेको देखिएमा खबर गर्न महानगरको आग्रह छ ।  

महानगरपालिकाले पछिल्लो दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ वटा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गरिसकिएको जानकारी दिएको छ । नगरक्षेत्रभित्र छाडा छोडिएका कुकुर र बिरालोलाई वडाका प्रतिनिधिको रोहबरमा अभिलेखन गरेर बन्ध्याकरण गर्ने प्रक्रिया जारी छ ।

गत असोज २३ देखि विभिन्न कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा थालिएको रेबिजविरुद्धको खोप पनि पाँच हजार ३२० वटा कुकुर तथा बिरालोलाई लगाइएको छ । मंसिर मसान्तभित्र सबै सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप दिइने लक्ष्य राखिएको छ ।

त्यस्ता कुकुर र बिरालोको कानमा सानो चिन्ह (एअर नोच) लगाइएको छ । एअर नोच नभएका कुकुर, बिरालो भेटिएमा महानगरलाई खबर गरिदिन अनुरोध गरिएको छ । 

घर पालुवा जनावरको हकमा भने घरधनी आफैंलाई बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन महानगरको आग्रह छ । महानगरले घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान गर्ने जनाइएको छ ।

यसबाट चौपायाको संख्या यकिन भई व्यवस्थापनको निम्ति सहज हुने महानगरको दाबी छ । महानगरले चौपाया ओसार्न एम्बुलेन्स खरिदको प्रक्रिया शुरु गरिएको र मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद गर्न लागिएको जानकारी पनि दिएको छ ।

टिप्पणीहरू