पर्यटकलाई रुवाएर झार्ने हो, पैसा ?

पर्यटकलाई रुवाएर झार्ने हो, पैसा ?

यतिबेला सामाजिक सञ्जालमा एउटा अम्लेटकै तीन सय रुपैयाँ लिएको भिडियो भाइरल बनेको छ । उक्त दृष्य प्रमुख पर्यटकीय गन्तव्य चितवन, सौरहाको हो । त्यसमा होटल सञ्चालकले एउटा अम्लेटको तीन सय रुपैयाँ लिएपछि ग्राहकले गुनासो गरेको देखिन्छ ।

सौराहामा बास बसेर बिहान ब्रेकफास्ट लिएपछि प्रस्तुत बिल हेर्दै एक जना भारतीय नागरिक भन्छन्, ‘यति एउटा अण्डा खाएको, तीन सय रुपैयाँ नलिनु न साहुजी । हामीले पनि दुःख गरेर कमाएको, लुटेर र ठगेर ल्याएको धन त होइन नि ! छिमेकी देश भनेर आउँछौं तर हामीलाई नै यसरी कस्दा अरु पर्यटकमा के इम्प्रेसन पर्छ ?’

यसैबीच भर्खरै भुटानी नागरिकहरू महिनौं दिनलाई पुग्ने खाद्यान्न लिएर नेपाल आएका छन् । गत मंसिर ७ गते ड्रुक एयरको उडान नम्बर केबी ४०० बाट आएका तिनले पोका पन्तरा आफैंसँग ल्याएका हुन् । 

भुटानको पारोबाट थेक्चोक दोर्जी (पासपोर्ट नम्बर जी १३२६१३) को नेतृत्वमा १० जना गेरु वस्त्रधारी नागरिक एक महिने ध्यानका लागि आएका छन् । दुई जना महिला र आठ जना पुरुषको टोली गोदावरीस्थित गुम्बामा बसेको छ । उनीहरूले सुकेको तरकारी, पिठो, खुर्सानी, मरमसलालगायत सबै खाद्य सामग्री साथमै बोकेर आएका छन् ।

चार साता नेपाल बस्न खानेकुरासमेत आफैंसँग ल्याउनुपर्ने कारण के त ? यो नेपालका लागि लज्जास्पद कुरा हो । एउटै तेलमा अनेकौं परिकार पकाउने, भाँडाकुँडा सफासुग्घर नराख्ने, बासी खानेकुरा तताएर बेच्ने, मीठो बनाउने नाममा हानिकारक खाद्य सामग्री प्रयोग गर्ने र मिसावट गरिने हुँदा पनि पर्यटकलाई खानेकुरा बोकेर आउनुपर्ने बाध्यता छ । 

एकातिर मनलाग्दी शुल्क अर्कोतिर सफा, शुद्धता र मौलिकताको अभाव । यता, नेपाली रैथाने खाना र स्वाद पनि लोप हुँदै गएको छ । होटलमा इण्डियन, चाइनिज, युरोपियन र कन्टिनेन्टल खाना छ्याप्छ्याप्ती भेटिँदा नेपाली परिकार पाउन मुश्किल छ ।

विदेशी स्वाद त पर्यटकहरूले चाखिरहेका हुन्छन् । यहाँका होटल–रेष्टुरेण्टले पनि त्यही नै पस्किने हो भने पर्यटकले के भिन्नता पाउने ? पर्यटकहरू नयाँ–नयाँ कुराको खोजीमा निस्किएका हुन्छन् । तर, होटल व्यवसायीले त्यतातिर खासै ध्यान दिएको पाइँदैन । आफ्नो खानाले मौलिकता जोगिनुको साथै पर्यटकको आँखा, नाक र जिब्रो पनि रमाउँछ । 

हाम्रा रैथाने खाना निकै पोसिला छन् । हरेक जातजातिको आ–आफ्नो मौलिक खानेकुरा छ । थकाली, नेवारी, थारु, मधेशीलगायत खाना नेपालको पहिचान हो । तर, संरक्षणमा चासो नदेखाउँदा यी संकटमा परेका छन् । केटाकेटीलाई जंक फुडको लत बसाइएको छ । पर्यटन क्षेत्रलाई गति दिन कहिलेकाहीँ मौलिक खानाको प्रदर्शनी गर्नुको अर्थ के हो ? 

भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडियालगायत विश्वका धेरै मुलुकले खानाकै माध्यमबाट पनि पर्यटक आकर्षित गर्छन् । पर्यटन व्यवसाय उकास्नका लागि तीन तहको सरकार र पर्यटन व्यवसायीबीच हातेमालो हुन जरुरी देखिन्छ ।  

खानेकुरासँगै सडक पूर्वाधार, पदमार्ग, आराम गर्ने स्थल, होटल, शौचालय, खानेपानीलगायत समस्या उस्तै छ । होटल एशोसिएशन अफ नेपालका सिइओ टेकबहादुर महत लोक संस्कृति र लोक पहिचानले पर्यटकीय क्षेत्र उकास्ने बताउँछन् ।

निजी क्षेत्रले पर्यटक भिœयाउन सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, ‘दशैंमा पनि नेपाली रैथाने खाना पस्किने कार्यक्रम ग¥यौं तर सरकारबाट प्रोत्साहन पाएका छैनौं, यो विषयमा हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल गरेका छौं ।’ केन्द्र सरकारबाट मात्रै पर्यटकीय क्षेत्रको विकास सम्भव नहुने उनको जिकिर छ । रैथाने खाना प्रवद्र्धन गर्न सकेमा स्थानीय उत्पादनको पनि बजारीकरण हुने ।
 

टिप्पणीहरू