ओली र दुर्गा प्रसाईंबीचका यस्ता छन् असमझदारी

ओली र दुर्गा प्रसाईंबीचका यस्ता छन् असमझदारी

मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत विकासको सम्भावना बुझ्न ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नारा दिएर एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट संकल्प (मध्यपहाडी) यात्रा शुरु गर्दा कोशी पुगेपछि के होला भन्ने आमचासो थियो । पहिचानवादीहरूको लगातार निशानामा पर्दै आएको एमालेका केही नेताको नामै तोकेर कोशी प्रवेश गर्न नदिने चेतावनी दिइएकाले अप्रिय घटना घट्न सक्ने अनुमान पनि धेरैले गरेका थिए । 

नभन्दै यात्राको १३औँ दिन अघिल्लो आइतबार अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता कोशी प्रवेश गरिरहँदा आन्दोलनमा उत्रिएको पहिचानवादी समूहले अवरोधको प्रयास गर्‍यो । रामेछाप हुँदै उदयपुर प्रवेश गरेको यात्रा टोलीलाई रोक्न खोजेपछि ठाउँ–ठाउँमा तनावको स्थिति सिर्जना भयो । अन्य प्रदेशमा केटाकेटीदेखि वृद्धवृद्धासम्म लाइनमा उभिएर भव्य स्वागत गर्दा अध्यक्ष ओलीको आफ्नै प्रदेशमा भने लफडा निम्तियो ।

धनकुटाको लेगुवामा उहाँमाथि हातपातसमेत गरियो । ठूलो संख्यामा सुरक्षाकर्मी खटाएर दर्जनौँ आन्दोलनकारी पक्राउ गर्दासमेत मुख्य नेतामाथि नै आक्रमण भएपछि एमालेको संकल्प यात्रा ‘नुन बिनाको तरकारी’ जस्तै हुन पुग्यो । तथापि कोशी छिरेको सातौँ दिन आइतबार पाँचथरको चिवा भञ्ज्याङ पुगेर यात्रा टुंग्याएसंगै एमाले नेताले अभूतपूर्व सफलता हासिल भएको दाबी गरेका छन् । त्यसो त, पहिचानवादीहरूलाई चुनौती दिन एमालेले कोशी प्रवेश गरेसँगै सम्पूर्ण ताकत लगाएको थियो । झुलाघाटका कार्यकर्तासमेत गाडीमा पूर्वतिर लगिएका थिए भने सबै केन्द्रीय नेतृत्व त्यतै केन्द्रित थियो । 

तथापि, कोशी छिरेलगत्तै एमाले नेतामा एकप्रकारको मनोवैज्ञानिक त्रास भने देखिन्थ्यो । जसका कारण कतिपय पूर्वनिर्धारित कार्यक्रम परिमार्जनसमेत गर्नुपरेको थियो । पहिचानवादीहरूको विरोधपछि हर्कपुरको सभा सोचेजस्तो भएन । खोटाङको हलेसीमा कार्यक्रम नगरी सुरक्षित हुँदै टोली दिक्तेल बजार पुग्यो । त्यहाँ पनि ठूलो कार्यक्रम गरिएन । सुरक्षित ठानेर कार्यक्रम गरिएको भोजपुरमा पनि विरोध प्रदर्शन भयो, केही पहिचानवादी पक्राउ परे । 

त्यहाँबाट अर्कोदिन भोजपुर र धनकुटाको बीचमा पर्ने अरुण नदी तरेर ओलीसहितको टोली लेगुवा बजार पुग्यो । आन्दोलनकारीको एउटा सेन्टर पोइन्ट भनिएको त्यहाँ दुई दिनअगाडि केही मान्छे पक्राउ परेका थिए । ओलीमाथि आक्रमण भएको त्यहीँ हो । एमाले नेताले आफ्ना अध्यक्षमाथि जँड्याहाले झम्टिएको दावी गरेर घटनालाई सामान्य बनाउन खोजे पनि योजनावद्ध आक्रमण भएको देखिन्छ । किनभने ओलीलाई हात हाल्ने महेश राई शुरुबाटै त्यहाँ सहभागी थिए । उनले पटक–पटक ओलीको नाम लिएर ‘फटाहा हो, ठोक्नुपर्छ’ भनेको सँगै रहेका आन्दोलनकारीहरूले बताएका छन्् । रमाइलो कुरा चैं, ओलीलाई हात हाल्ने महेश एमालेकै पूर्वकार्यकर्ता हुन् । अहिले उनको राजनीतिक आवद्धता कतै नदेखिए पनि पहिचानवादीहरूलाई सहयोग गर्दै आएका छन् । 

त्यसदिन एमाले टोलीको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी खटाईएको थियो । डिआइजीहरू नै फिल्डमा पुगेका थिए भने वरपर दर्जनौँ सरकारी गाडी लामबद्ध देखिन्थे । एमाले कार्यकर्ता जति नै सादा पोशाकका प्रहरी छपक्कै थिए । तर, विशाल सुरक्षा घेरामा रहेका ओलीलाई स्वागत गर्ने बहानामा महेशले आक्रमण गरिहाले । हुन त व्यक्तिमाथिको आक्रमण कुनै पनि तर्कद्वारा सही ठहरिंदैन । तर, राजनीतिक नेतृत्वप्रति युवाहरूको आक्रोश बेला–बेला यस्ता घटनाका रूपमा प्रकट हुने गरेका छन् ।

विगतमा अहिलेका राष्ट्रपति रामचन्द्र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालमाथि पनि आक्रमण भएको थियो । कांग्रेस नेता तथा पूर्वमन्त्री डा. रामशरण महतलाई नुवाकोटको एउटा कार्यक्रममा भाषण गर्दागर्दै पानीको बोत्तलले ताकेर टाउकोमा हानिएको थियो । त्यसपछि स्वास्थ्य अवस्था बिग्रँदै गएका महत अहिले राजनीतिमा खासै सक्रिय छैनन् । कहिलेकाहीँ आक्कलझुक्कल सार्वजनिक स्थानमा देखिने उनी ‘मेरो टिकट के भो’ भन्दै बेहोसीमै कराउने गर्छन् । एउटा सम्मानित पदमा पुगिसकेको व्यक्तिका लागि यस्ता घटनाले मोरल डाउन गर्छ नै । 

आखिर पहिचानवादीले किन ओलीमाथि हातपात गर्ने तहमा उत्रिएर एमालेलाई नै टार्गेट बनाए ? विरोधी विचारलाई न्यूनीकरण गर्न खप्पिस ओलीका सार्वजनिक अभिव्यक्तिले चिढिएको पहिचान पक्षधर समूह पहिलेदेखि नै रुष्ट थियो । यसअघि पनि गृहजिल्ला झापामा आक्रमणको प्रयास भएको हो । अर्को चैँ, एमालेकै कारण कोशी नामाकरण गरिएको उनीहरूको बुझाई छ । किनभने हिक्मत कार्की मुख्यमन्त्री भएका बेला उनकै पहलकदमीमा प्रदेशसभाबाट कोशी नाम पारित भएको थियो । ९३ सदस्यीय प्रदेशसभाको ४० सिटसहित सबैभन्दा ठूलो दल एमाले नै हो । कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपासँग १ सिट छ । त्यसैले एमालेले नचाहेसम्म अरु सबै मिल्दा पनि नाम पारित नहुने अंकगणित उनीहरूले बुझेका थिए । 

त्यतिबेला कांग्रेस र माओवादीले पनि कोशीको पक्षमा भोट हालेका हुन् । राजनीतिक फाइदा नदेखेपछि राप्रपा तटस्थ बसेको थियो भने एकीकृत समाजवादी विपक्षमा उभियो । सत्तापक्षमै रहेको जसपाले विपक्षमा मत दिएर असन्तुष्टि जनायो । आन्दोलन चर्किंदै गएपछि जसपा सरकारबाट बाहिरियो भने माओवादीले औपचारिक निर्णय नै गरेर नाम सच्याउनुपर्ने धारणा सार्वजनिक ग¥यो । कांग्रेसको पनि संसदीय दल, प्रदेश समिति र १४ जना जिल्ला सभापतिले त्यस्तै आशयको वक्तव्य दिए । एमालेले भने अहिले पनि कोशीको पक्षमा अडान राख्दै आएको छ । 

त्यसो त, कोशीको पक्षमा मत हालेका सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने, सरकारी कार्यालयमा कोशी लेखिएका साइनबोर्ड हटाउनेजस्ता आन्दोलन गर्दै आएका पहिचानवादी एमालेको संकल्प यात्रा अवरोध गर्ने पक्षमा थिएनन्, शुरुमा । अध्यक्ष ओली, सोही प्रदेशका नेता तथा सांसदसमेत रहेका सचिव योगेश भट्टराई र युवा इञ्चार्ज महेश बस्नेत बाहेकलाई अवरोध नगर्ने उनीहरूले बताएका थिए । तर, ओली स्वयं त्यहाँ सहभागी भएपछि उनीहरू आन्दोलनमा उत्रिए ।

अर्कोतिर कोशीमा पहिचानवादी जस्तै राजतन्त्र फर्काउने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंं पनि एमालेका लागि चुनौती बन्दै छन् । ओलीकै गृहजिल्ला झापाका प्रसाईंं कुनैबेला ओलीलाई भगवानको अर्को रूप मान्थे । पार्टी सदस्यता नै नलिई केन्द्रीय सदस्य बनेका उनी केही महिना अघिसम्म एमालेमै थिए । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने र राजा फर्काउने अभियानमा रहेका उनको एमालेसँग ‘लडाइँ’ परिरहेको छ । 

एमालेको भ्रातृसंगठन युवासंघका कार्यकर्ताले मोसो दलेपछि शुरुमा प्रसाईंं र महेश बस्नेतबीच टकराव बढेको थियो । असन्तुष्ट युवाहरूको ‘मुक्तिदाता’ बनेर सामाजिक सञ्जाल र सडकमा छाएका प्रसाईंं अहिले त सिंगै एमालेका लागि चुनौती बनिरहेका छन्् । हजुरबासँग पनि सम्बन्ध चिसिएको छ । प्रसाईंं ओलीलाई हजुरबा भनेरै संबोधन गर्छन् । 

ओलीले तलबाट च्याप्प समातेर एकैचोटी माथि पु¥याएका प्रसाईंंको असन्तुष्टि बाहिर राजनीतिकजस्तो देखिए पनि भित्री कुरा भने अर्कै रहेको चर्चा पनि छ । लेनदेनको कुरा नमिलेपछि विवाद चर्किएको भनिंदैछ । गिरिबन्धु टि इस्टेटको जग्गाको विषयले दुई पक्षबीच मनमुटाव भएको र प्रसाईंंले कित्ता फेरेको यसका जानकारहरूले दावी गरेका छन् । उक्त जग्गा मिलाइदिने नाममा पेश्की बुझाइसकेपछि काम नभएकाले प्रसाईं रुष्ट भएको र उनले अहिले ‘काण्ड खोल्दिन्छु’ भनेर तर्साउने गरेको कतिपयको बुझाइ छ । 

सो जग्गा प्रसाईंंका ससुरालीको हो । उनीहरूको तर्फबाट उनले नै सबै डिलिङ गर्दै आएका छन् । यसअघि ओली प्रधानमन्त्री भएकै बेला जसपाका नेता विष्णु राईको समूहले ३० बिघा जग्गा हात पारेको थियो । समाजलाई खुशी पार्न २ बिघा बसपार्कलाई दिएर बाँकी व्यक्तिका नाममा गरिएको थियो । ठ्याक्कै तथ्य र प्रमाण नबोले पनि गिरिबन्धु प्रकरणपछि नै प्रसाईंं एमालेसँग टाढिएको भने यसबीचका घटनाक्रमले पनि थाहा हुन्छ । प्रसाईंं तिनै व्यक्ति हुन्, जसले मेरो हजुरबा जस्तो महान मान्छे कोही छैन भन्ने गर्थे । ‘हजुरबा एकापट्टी, सारा धर्ती अर्कोपट्टी हुँदा पनि उहाँकै पल्लाभारी’ भनेर अति प्रशंसा गर्ने पनि उनै हुन् । 

त्यसो त, सरकार ढल्ने–ढल्ने बेलामा हतार हतार गरिएको गिरिबन्धु टि इस्टेटको जग्गा साँट्ने तत्कालीन क्याबिनेटको निर्णय विवादास्पद छ । ओलीका दुई विश्वासपात्र पद्मा अर्याल र शिवमाया तुम्बाहाम्फे क्रमशः भूमिसुधार र कानुनमन्त्री रहेका बेला गरिएको त्यो निर्णयको फाइल खोल्ने चर्चा पनि हुने गर्छ ।

– विश्वमणि सुवेदी

 

टिप्पणीहरू