हजुरबुबाले नै लिन थाले बच्चीको हुर्मत
‘जस्तोसुकै होस् परिस्थिति, जन्मिएपश्चात छोराछोरी, अभिभावकको नै जिम्मेवारी ।’, प्रस्तुत हरफ रत्ननगरपालिका परिसरमा रहेको एक होडिङ बोर्डबाट साभार गरिएको हो । साँच्चै स्थिति अत्यन्त भयावह छ । बाबुआमाको असमझदारी अनि गैरजिम्मेवारीको साह्रै नराम्रो असर र त्यसको दुष्परिणाम भोग्दै छन् बालबालिका ।
छोराछोरीलाई नपढाउनु, नलेखाउनु त उनीहरूको भविष्यलाई सरासर अन्धकारतर्फ धकेल्नु हो नै ! पालनपोषण पनि सही रूपमा भएन भने बर्बादी निम्तिन्छ । बच्चालाई खान, लाउन दिएर मात्र हुँदैन । आमाबाबुको प्रेम र मिलाप पनि छोराछोरीको लागि उत्तिकै महत्वपूर्ण हुन्छ । अभिभावकको झगडा बालबालिकाको निम्ति अभिशाप बनिरहेछ ।
आमाबाबुको बेमेल, सम्बन्धविच्छेद अनि परपुरुष–परस्त्रीसँगको सम्बन्धले बालबालिकाहरू बर्बादीतर्फ धकेलिएको बताउँदै केही दिनअघि चितवनकी एक विद्यालय शिक्षिका भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा भन्दै थिइन्, ‘कक्षामा पनि झोक्राएर–टोलाएर बस्छन्, पढ्न मन गर्दैनन् । सानोमै डिप्रेसन र दुव्र्यसनको शिकार भइरहेका छन् । यही कारण कक्षा दुईमा पढ्ने बच्चा ड्रग्सको कुलतमा फसेको छ ।’ बालिकाहरू अधिक मात्रामा यौनहिंसाको चपेटामा लपेटिन बाध्य छन् ।
हालै एक १३ वर्षीया बालिका अझ सानै उमेरदेखि आफ्नै हजुरबुबाबाट यौनहिंसाको शिकार भएको पाइयो । आमाबाबु एकअर्कासँग छुट्टिएर बसेका । बाबु अर्कै महिला लिएर अन्तै बस्न थाले । आमा विदेश गइन् । बच्चीलाई यतै फूपूको घरमा छोडियो । यसैहालतमा उनलाई आफ्नै बुबाको बुबा अर्थात् हजुरबुबाले पटक–पटक करणी गरेको खुल्न आएको छ ।
विदेशबाट आएर आमाले छोरीलाई केही समय मामाघर नवलपरासी लगिन् । फेरि भरतपुरमा पढ्नको लागि फूपूको घरमै पठाइयो । फूपूको घरमा हजुरबुबा आउने भनेको दिन बच्चीलाई छटपटी भयो, निकै तनावमा देखिइन् । छुट्टी भएपछि पनि स्कूलबाट फर्किन मानिनन् । साथीले सोधखोज गर्दा हजुरबुबासँग डराएको बुझियो । हजुरबुबाले आफूलाई ७÷८ वर्षको उमेरदेखि नै जबरजस्ती करणी गर्दै आएको पीडा साथीलाई सुनाइन् । साथीले विद्यालयकी शिक्षिकासम्म कुरा पु¥याएपछि घटना प्रहरीमा आइपुगेको हो ।
प्रहरीले हजुरबुबालाई पक्रेर जबरजस्ती करणी मुद्दा चलाइसकेको छ । ती हजुरबुबाको उमेर ६७ वर्ष रहेको प्रहरीले जनायो । ‘बच्चीलाई फूपूको घरमा बस्ने मन पहिल्यैदेखि रहेनछ’, प्रहरी निरीक्षक सरिता विश्वकर्माले भनिन्, ‘बाबुले छोरी दिए मात्र डिभोर्स दिन्छु भनी आमालाई भनेकोले उनी जबरजस्ती फुपूको घरमा बस्न बाध्य रहिछन् ।’ बालिकालाई आमासँगै बस्ने चाहना रहेको र अहिले उनी आमासँगै गएको प्रनिले बताइन् । बालिकालाई संरक्षणको लागि केही समय माइती नेपालमा राखिएको थियो ।
यसअघि नारायणगढको पोखरा बसपार्कस्थित होटलबाट उद्धार गरिएकी चेलीको पनि अभिभावकत्व राम्रो थिएन, जसकारण १४÷१५ वर्षको उमेरमै पटक–पटक यौनहिंसाको शिकार बनिन् । बाबु बिहानैदेखि जाँड खाएर हिँड्ने । आमा ज्यालामजदुरी गर्ने । बच्चीको पढाइ सानैमा छुट्यो । रेखदेख राम्रो नहुँदा गाउँतिरकै मामा भन्नेले फकाइफुल्याई पटक–पटक करणी गर्दै आएको रहेछ ।
मंसिर २० गते पनि यौन हर्कतकै निम्ति बालिकालाई नारायणगढको होटलमा ल्याइपु¥याएको अवस्थामा माइती नेपालको बोर्डर सर्भिलेन्स टिमले उद्धार गरेको थियो । होटलमा कपडा खोल्दै गरेको अवस्थामा उद्धार गरिएको हुँदा करणी हुन भ्याएको थिएन । चितवन प्रहरीले मामा भन्ने ती ४८ वर्षीय पुरुषलाई समातेर जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउँदै छ । उनीहरू लमजुङको भएको र पहिले–पहिले जबर्जस्ती करणीका घटना पनि उतै भएको बुझिएकोले जबर्जस्ती करणी मुद्दाचाहिँ लमजुङबाटै चलिरहेको बुझिन्छ ।
प्रहरी कार्यालयमा आउने बालयौनहिंसाको घटनामा पीडित बालिकाहरूको घरायसी स्थिति हेर्दा धेरैजना बाबुआमाको बेमेल तथा पारिवारिक विखण्डनबाट प्रभावित भएको पाइएको सरिता बताउँछिन् । आयआर्जनको कमी अर्थात् बेरोजगारी, अशिक्षा, सचेतनाको कमी, मदिरा सेवन, परपुरुष–परस्त्रीसँगको सम्बन्धजस्ता कारणले पारिवारिक विखण्डनका घटना बढिरहेको जनाउँदै माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी भन्छन्, ‘स्थानीय सरकारले बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।
शैक्षिक विकास एवम् सचेतनामूलक कार्यक्रम बढाउन आवश्यक छ । मदिरालाई नियन्त्रण गर्नै पर्छ ।’ चितवनमा लैंगिक हिंसाबाट पीडित महिला÷ बालबालिकालाई राख्ने सरकारी संरक्षण गृहको पनि टड्कारो आवश्यकता औंल्याइएको छ ।
टिप्पणीहरू