आइजी आफैँ कराउँदा कराउँदै

आइजी आफैँ कराउँदा कराउँदै

‘तिमीलाई कसले भनेको लाग्छ भाइ ?’ यसो भन्दै प्रहरी महानिरीक्षक (आइजी) बसन्त कुँवर एकोहोरो कराइरहेका थिए । उता, बालकुमारीमा आगो दन्कियो । सोमबार राज्य व्यवस्था समितिको बैठकमा पुग्दा मन्त्रीको गाडी देखेपछि भीड उत्तेजित भएको बताए पनि घट्ना भएकै दिनचाहिँ उनी ललितपुरका एसएसपी सिद्धिविक्रम शाहसँग पड्किरहेका थिए । उनले नक्साल हेडक्वार्टरस्थित आफ्नै कार्यकक्षमा बसेर पापा वन कल साइन भएका सिद्धिविक्रमलाई भनेका थिए, ‘तिमीलाई मैले आफैं जाऊ्, मनिटर गर भनेको हैन....?’ यसरी जिल्लाका मुख्य कमाण्डर आफैं त गएनन् नै अपरेशन हेर्ने डिएसपी उमेश लम्साल पनि जावलाखेल अफिसमा घाम तापेर सेटमा बोलिरहेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाउन थाले भनेपछि बल्ल जिल्ला प्रहरी परिसरबाट टोली घटनास्थलतर्फ लाग्यो । पुग्दा आगो दन्किसकेको थियो । 

यसरी खतराको विश्लेषण नगर्नु र एसएसपी आफैं घटनास्थलमा नजानुलाई गल्ती मान्दै उनलाई सोही साँझ त्यहाँबाट हटाइयो । भीडकै बीचमा मन्त्रीको गाडी प्रवेश गर्दा ट्राफिकले फर्काउन खोजे । त्यसबेला एकीकृत समाजवादीको बैठक बसिरहेको कान्तिपुर गार्डेन्सबाट निस्किएर मन्त्री प्रकाश ज्वाला प्रदर्शनस्थलको छेउमा पुगिसकेका थिए । पिएसओ र मन्त्री प्रकाश ज्वालाले ‘छेउछेउबाट जाउँला’ भने । तर, तत्काल परिस्थिति फरक ढंगले विकास भयो । मन्त्री गाडीबाट ओर्लिए, सेनाको मद्दतमा फेरि बैठकस्थल कान्तिपुर गार्डेन्सतिर छिरे । त्यसबेला घटनास्थलमा प्रहरी थिएनन्, पिएसओमात्रै थिए । एउटा सेतो क्युआरटी मोटरसाइकलमा महिला असई गएकी थिइन् । तर, उनी एक्लैले केही गर्ने अवस्था थिएन । 

यसरी हेर्दाहेर्दै मन्त्रीको गाडीमा आगो लागेपछि हेडक्वार्टरबाट अर्को आदेश गयो, ‘मान्छे पक्रिनु’ भन्ने । तर, प्रदर्शनकारी समातिएनन् । बरु, स्थिति सामान्य हुँदै गएपछि गोली हान्ने काम भयो । त्यो आदेश जिल्लाकै प्रहरी प्रमुखबाट गएको हेडक्वार्टरका हाकिमहरूको दावी छ । मारिएका मध्ये एकजनाको छातिमा दाग देखिएको छ । उनीमाथि त्रुटिपूर्ण तवरले अश्रु ग्यासको प्रहार भएको अनुमान गरिएको छ । अश्रृ ग्याँस शारीरिक क्षतिका निम्ति नभएर मानिस तितरबितर पार्न प्रयोग गरिन्छ । त्यसैले ४५–६० डिग्री बनाएर भीडतर्फ प्रहार गरिने प्रचलन हो । त्यसो गरिँदा मानिसको शरीरमा नलाग्ने, भुइँमा बजारिएर त्यसले पिरो धुँवा फ्याँक्ने काम गर्छ । तर, मोटो आकारको अश्रु ग्याँसको सेल मृतक युवकको छातीमा बजारिएको चिकित्सकहरूले अनुमान लगाएका छन् ।

उचित समयमा सुरक्षा व्यवस्थापन नहुँदा हिंसात्मक रुप लिएको बालकुमारी घटनामा प्रहरी अत्तालिएपछि गोली प्रहार भएको बुझिन्छ । मन्त्रीको गाडी जलाइसक्दा पनि प्रहरीले केही गरेन भन्ने नपरोस् भन्नका निम्ति गोली प्रहार गरिएको र फलतः त्यसले दुईजनाको ज्यान लिएको अवस्था छ । देशमा उत्पन्न बेरोजगारी, राजनीतिक अराजकता र सामाजिक विसंगतिका कारण थुप्रै ह्युमन बम (मानव हतियार) यत्रतत्र छन् । विभिन्न माग वा असन्तुष्टि सडकमा प्रकट हुने र सुरक्षा निकाय यसरी नै लापरवाह हुने भयो भने बालकुमारी घटना श्रृंखलावद्ध रुपमा देहोरिने खतरा देखिन्छ ।

उता, सुमेरु बचत तथा ऋण सहकारी संस्था डुबाएर लण्डन भागेका नेपालको निम्ति बोत्स्वानाका महावाणिज्यदूत भरत महर्जन अहिले त्यहाँबाट पनि भागेर अन्यत्र जाने तयारीमा छन् । यस्तो सूचना पाएपछि प्रहरीले इन्टरपोलको सहयोगमा निगरानी बढाएको बताइन्छ । प्रहरीस्रोतका अनुसार, उनीमाथि मुद्दा दर्ता गरिवरी इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्ने तयारी छ । 
 

टिप्पणीहरू