घरबासै उठाएर कसरी हेर्नु हजुर, रेलको रमिता ?

घरबासै उठाएर कसरी हेर्नु हजुर, रेलको रमिता ?
सुन्नुहोस्

अगाडि विकास छ, विनाश पनि छ । केलाई रोज्ने ? भरतपुरवासी रनभुल्ल छन् । रेल आउने भनेर फुरुङ्ङ होइन भरंग छन् । रेल जहिले आउला, हाम्रै पालामा आउला, नआउला ! रेलको बाटो आउने कुराले नै भरतपुरका जनता अत्तालिइसके ।

आफ्नो थातथलो उठाएर रेलमार्ग बिच्छ्याउन राजी छैनन् । केही दिन अगाडि भरतपुर–७ मा सयौंको संख्यामा जम्मा भएका स्थानीयले भागीरथ पहाडीको संयोजकत्वमा संघर्ष समिति बनाएर अहिलेको नक्सांकनविरुद्ध आन्दोलन अगाडि बढाएका छन् । ‘ज्यान जाला यहाँ रेलमार्ग बिच्छ्याउन दिन्नौं’, स्थानीय प्रेमप्रसाद पौडेलले भने । 

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि सारेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन भरतपुरको अवास क्षेत्रमा नापजाँच गरिएपछि खैलाबैला भएको हो । नापजाँच गर्न आएको टोलीलाई भरतपुर–८ मा स्थानीयले लखेटेको समेत बुझिन्छ । रेलमार्गले भरतपुर–७ र ८ का एकहजार भन्दा बढी घरपरिवारलाई प्रभावित पार्ने संघर्ष समितिका संयोजक पहाडी बताउँछन् ।

भरतपुर–७ मा युएनडिपीको सहयोगमा कृष्णपुर जग्गा एकीकरण आयोजना सञ्चालन भई आवास क्षेत्रको रूपमा बस्ती विकास गरिएको ठाउँमै रेलमार्गको नक्सांकन भएको छ । बसोबासका लागि उपयुक्त मानेर अन्तको घर–जग्गा बेची यता घरघडेरी जोड्नेहरू बढ्दै थिए । अहिले रुवाबासी छ ।

भरतपुर– ९, ५ र ४ को पनि केही भाग रेलमार्गले ओगट्ने बताइन्छ । अन्त कम क्षति हुनेगरी रेलमार्गको नक्सांकन भएपनि चितवनको भरतपुरमा घना मानवबस्तीको बीचबाट लग्न खोजिएको भन्दै आपत्ति जनाइएको छ । स्थानीयसँग कुनै छलफल तथा समन्वय नै नगरी सरकारी तवरबाट मनलाग्दी ढंगले नक्सांकन भएको बुझिएको छ । 

निजगढबाट हेटौंडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतर्फबाट अघि बढ्दै नवलपरासीको अमरापुरी पुग्नेगरी प्रारम्भिक नक्सांकन गरिएको छ, जसअनुसार पूर्वीचितवनबाट टिकौली जंगल हुँदै भरतपुर–८ को भरतपुर रेडिमिक्सनिरबाट शरदपुर, गौरीगञ्ज, कृष्णपुरस्थित एकीकृत बस्तीको बाटो शिवघाट नजिकैबाट नारायणीनदी पार गरेर नवलपरासीतर्फ पुग्छ । राप्ती किनारैकिनार गोलाघाट पु¥याउन सकिने हुँदाहुँदै आवास क्षेत्र उठाउन खोज्नु दुःखद भएको टिप्पणी छ।

खगेरी खोलाको किनारैकिनार गणेशस्थान, बागीश्वरी हुँदै गैंडाकोटबाट लग्दा पनि त्यति ठूलो क्षति नहुने भन्दै यहाँका नेता तथा जनप्रतिनिधिहरूले रेलमार्गको ट्रयाक परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । ‘जिल्लामा रेल आउँदैछ भनेर खुशी हुनुपर्नेमा दुःखी हुनुपर्ने अवस्था आउँदैछ’, भरतपुर–७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले भन्छन्, जनतालाई रुवाएर रेल ल्याउनुको कुनै अर्थ छैन’, उनले थपे, ‘जनताको विरोधमा हाम्रो साथ छ ।’ 

रेल विभागले भने अहिले कहाँबाट रेलमार्ग लैजान उपयुक्त हुन्छ भनी त्यसको अध्ययनमात्रै भइरहेको जनायो । तर यही ठाउँ उपयुक्त देखिए स्थानीयलाई पेलेरै भएपनि काम अगाडि बढ्नसक्ने संकेत गरिएको छ । जंगल कट्नेबित्तिकै घुम्ती बनाएर रेललाई कटाउन नसक्ने भएकोले बस्ती भएको स्थानबाट अध्ययन गरिएको बताउँदै रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले भनेका छन्, ‘रेलमार्गका लागि अन्यत्र भन्दा उपयुक्त त्यही ठाउँ हो भने त्यहीँ बनाउनुपर्छ । निजी जमिन वा घर पर्ने भएमा क्षतिपूर्ति दिएर रेलमार्ग निर्माण हुन्छ । जनतालाई अन्याय हुने काम राज्यले गर्दैन । ’

तर सरकारले दिने मुआब्जामै पनि स्थानीयको आशंका छ । मार्केटमा चलेको भाउ सरकारले दिँदैन । तैपनि लामो समय वा वर्षाैं कुर्नुपर्ने हुनसक्छ । झापाको काँकडभिट्टाबाट शुरु भई सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी जोडिने पूर्व–पश्चिम रेलमार्गको दूरी ९२५ किमि छ । यसको सुरुवाती खण्ड काँकडभिट्टा–इनरुवातिर अझै मुआब्जा वितरण हुन नसकेको समाचार आएको छ । 

 

टिप्पणीहरू