रविको ससुरालीमा पैसाको रडाको

रविको ससुरालीमा पैसाको रडाको

रवि छिरेको घरमा एउटा अर्को रडाको मच्चिँदैछ । फेरि पनि लफडा उही छ, वित्तीय कारोबारको । सिनेमाको व्यवसायबाट नाम र दामसँगै सामाजिक प्रतिष्ठासमेत कमाएका उद्धव पौडेलले ३५ वर्षदेखि चावहिलस्थित गोपीकृष्ण हल चलाउँदै आए । सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधाको पोख्त र व्यवसायिक घरानाका रुपमा स्थापित छन् । त्यही आर्जनबाट ओम अस्पताल र हेल्थ क्याम्पसतिर लागे । तर, पछिल्लो समय सिनेमाको पुरानो तथा परम्परागत प्रदर्शनस्थललाई दर्शकले रुचाउन छाडे र मल्टिप्लेक्स संस्कृति शुरु भयो । त्यसैले हलहरु एकपछि अर्को गरी बन्द हुन थाले । यही मारमा उनी पनि परे ।

तीन विधामध्ये वितरणको काम भाइ उज्वलले हेर्छन् । निर्माणतर्फ नेपाली सिनेमाको बजार धराशायी छ । हल चल्न छोडेपछि जमलस्थित विश्वज्योति हलको बाटोतिर लागे । अर्थात्, पुरानो हल भत्काएर कम्प्लेक्स बनाउने र त्यहीँ मल्टिप्लेक्स अवधारणाबाट आफ्नो विज्ञताको कामसँगै ५ तारे होटल र अरु व्यवसाय अगाडि बढाउने ‘सानो सपना’ उद्धवसँग थियो । छोरी निकिता र छोरा निरकले साथ दिने नै भए । तर, ज्वाइँ बनेर घर छिरेका रवि लामिछानेको लहलहैमा लागेर नहुने कामका पछाडि पौडेल परिवार परेको छ । फलतः ठूलो आर्थिक झमेलामा फँस्दैछ । 

गोपीकृष्ण समूहले नै चलाएको टिभी फिल्मीको सिग्नललाई ग्यालेक्सी फोर एचकेको रुप दिइसकिएको छ । गोपीकृष्ण एफएम थियो, त्यो पनि ग्यालेक्सीलाई दिइयो । त्यसबापत करोडौं रुपैयाँको कारोबार भइसक्यो । त्यसैले अब ती दुई सम्पत्ति फर्किने सम्भावना झिनो छ । बनाउन भनेर भत्काएको चार वर्ष भइसक्यो, पुरानो गोपीकृष्ण हल रहेको जमिन आजसम्म ‘बाँझो’ नै छ । त्यही हाताभित्र तीनवटा थिएटरमा सिनेमाको प्रदर्शन त हुन्छ, तर दर्शकको उपस्थिति ज्यादै कम । त्यसले हलको सरसफाई र दैनिक खर्चसमेत धान्न मुश्किल छ । गोपीकृष्ण मुभिज प्रा.लि. नामक पुरानो कम्पनीको नवीकरण नभएको धेरै वर्ष भयो ।

आयकर, मनोरञ्जन कर, भवन तथा जमिन करमा जरिवानासमेत जोड्दा अहिले करोडौं दायित्वको बोझ छ । त्यसैले गोपीकृष्ण कमर्सियल कम्प्लेक्स (जिकेसिसी) नामको नयाँ परियोजना बनाएर सरस्वतीनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट करोडौं रकम ऋण निकालियो । त्यसमध्ये निर्माणस्थलमा काम गर्नका लागि चिनियाँ ठेकेदारलाई जिम्मा दिने भनी एक करोड रुपैयाँ तत्कालै हुण्डीमार्फत पठाइयो ।

अहिले सबैभन्दा गम्भीर प्रश्न बैंकिङ कारोबारमाथि उठेको छ । जुन परियोजनाका नाममा सिद्धार्थ बैंकले ऋण प्रवाह गर्‍यो, उक्त कारोबारले कानुनी वैधानिकता नै पाएको छैन । गोपीकृष्ण कमर्सियल कम्प्लेक्स (जिकेसिसी), अर्थात् भवन निर्माणको परियोजना हो भने स्थानीय तहले निर्माण स्वीकृति दिएको, नक्सा पास गरेको, जमिनको कर तिरेको, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेकोजस्ता कुनै पनि वैधानिकता पूरा भएका छैनन् । कागजमात्रै पेश गरेको भरमा कुनै पनि बैंकले कसैलाई ऋण दिन पाउँदैन ।

त्यसमाथि जहाँ उक्त कम्प्लेक्स बनाउने भनिएको छ, त्यो जमिनकै छेऊबाट अत्यधिक करेण्टयुक्त विद्युत प्रशारण लाइन (हाइटेन्सन) छ । त्यस्तो जमिनमा स्थानीय तहले एउटा सानो टहरा बनाउनसमेत स्वीकृति दिँदैन । स्वीकृति दिएर भोलि कुनै क्षति भयो, कानुनी प्रश्न उठ्यो भने स्वीकृति दिने व्यक्ति र निकाय नै दोषी ठहरिन्छन् । त्यही कारण आजसम्म जिकेसिसीको भवनको नक्सा स्वीकृत भएको छैन । धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयलाई भत्काउन महानगरको प्रहरी टोली पुग्नुको कारण थियो, हाइटेन्सन लाइनले उक्त भवनलाई छुनु । त्यही कसुर गोपीकृष्णको हकमा आकर्षित भएको छ । राप्रपा कार्यालय त बनिसकेको भवन भएका कारण तत्काल भत्काउनबाट जोगियो, त्यसमाथि अदालतले पनि नभत्काउनु भनी अन्तरिम आदेश दिएको छ ।

तर, बन्दै नबनेको संरचना हाइटेन्सनको तलतिर बनाउने स्वीकृति दिन सामान्यतया सम्भव छैन । यस्तो स्थितिमा बैंकले किन त्यहाँको मूल्यांकन अस्वाभाविक गर्‍यो र रकम पनि निकासा दियो ? प्रश्न गम्भीर छ । त्यसमाथि गोपीकृष्ण मुभिजको स्वामीत्वमा रहेको उक्त जमिनको हकवाला कम्पनीको लेखा परीक्षण भएको छैन, करचुक्ता पनि छैन । त्यसैले जिकेसिसी नामक कम्पनी खोलेर कारोबार गरिएको छ । सामान्य मान्छेले एउटा भौतिक संरचना खडा गर्नुपर्ने भयो भने भ्याट बिल दिएपछि बल्ल आधा पैसा मिल्छ । निकिताले भ्याट बिल देखाएर उक्त शाखाबाट दुई वर्षअघि ७० लाख रुपैयाँ निकालेकी थिइन् । परियोजना शुरु भएको छैन । बैंकबाट लिएको पैसा खर्च भएर सकियो । अनुमानित लागत ४० करोड भनी पेश गरिएको छ । बैंकले भने त्यहाँ रहेको १० रोपनी जमिनको मूल्यांकन १ सय ५० करोड गरेको छ । जमिनको क्षेत्रफलकै आधारमा त त्यसको मूल्यांकन सही होला ।

तर, त्यहाँमाथि हाइटेन्सन छ भने त्यत्तिका मूल्यांकन ‘अति नै’ भएको केही मूल्यांकनकर्ता (भ्यालुएटर) हरुले बताएका छन् । त्यसमाथि खोला छेऊको मात्रै हैन, खोलालाई मिचेर बनाइएको जमिन हो । छेऊमा बग्ने रुद्रमति खोला पहिला हालको चलचित्र विकास बोर्ड भएको ठाउँबाट सीधै अहिले गोपीकृष्ण भएको पुलमा पुग्थ्यो । तर, ३० वर्षअघि नै खोलालाई घुमाएर गोपीकृष्णतिरबाट बग्ने खोला पुरियो । त्यस्तो जमिनलाई बैंकले के हेरेर मूल्यांकन गर्‍यो ?

खतरा के हो भने, रवि लामिछानेको प्रमुख योजनामा ग्यालेक्सी फोर के टिभी चलाउने भनेर गिरेन्द्रबाबु (जिबी) राईलाई अगाडि सारियो । विभिन्न सहकारीबाट चलाइएको करोडौं रकमको खेलोमा उनैलाई झोसियो । अप्ठेरो पर्‍यो, भाग्नुपर्ने भयो, कतिपयले समातिनुपर्ने र थुनिनुपर्ने भयो– त्यसबेलाचाहिँ रवि लामिछाने हात टक्टक्याएर ‘मैले त छाडिसकेको’ भन्नेमा पुगे । जबकि, उनकै कार्यकालभित्रै ती सब कारोबार चलेका थिए, कागजी प्रमाणहरु सुरक्षित छन् । फेरि उद्धव पौडेल, उनकी छोरी निकिता र छोरा निरकको साझा व्यवसायमा सिद्धार्थ बैंकलाई प्रयोग गर्दै चलाइएको करोडौंको खेलोभित्र पौडेल परिवार जिबी राई बन्ने र रवि टक्टकिने स्थिति नजिकिँदै छ । नांगो आँखाले हेर्दा नै बुझिन्छ– परियोजनाको नाममा सिन्को भाँचिएको छैन । पैसा निकालिसकिएको छ । साँवा र व्याज तिर्नका लागि आम्दानीको भरपर्दो स्रोत देखिँदैन । चलेको सिनेमा हलले हललाई धान्न गाह्रो छ । त्यसैले रविका कारण पत्नी, ससुरा र सालालाई अर्को दुःखले घेर्ने स्थिति देखिन्छ । 

यो मामिलामा निकिताको लहडले केही काम गरेको भन्नेहरु छन् । किनभने, उनका पूर्वपति र बुबाका बीचमा यस परियोजनालाई लिएर केही सरसल्लाह चल्दै थियो । बीचमा उनीहरुको सम्बन्ध बिच्छेदले कुरा बिगार्‍यो । निकिताले महाराजगञ्ज निवासी अभयबहादुर शाहसँगको दाम्पत्य सम्बन्ध एक छोरीसँगै तोडेर रविसँग विवाह गरेकी हुन् । अभय आफैं हिमालयन बैंकमा उपल्लो तहका सञ्चालक छन् । तर, होटल परियोजनाका निम्ति रविको सहारा लिँदै दाम्पत्य सम्बन्ध नै अन्त्य गर्दा समस्याले जटिल मोड लिने भएको छ । यसरी रवि लामिछानेको प्रमुख योजनामा पौडेल परिवार कसरी धराशायी हुँदैछ भन्ने चित्र देखिन्छ । रवि छिरेपछि उद्धवका भाइ निरज परिवारबाट बाहिरिएका छन् । उनको आफ्नै फिल्म डिष्ट्रिव्युसन्स कम्पनी छ ।

उता, ग्यालेक्सी टिभी डुबाउनेमध्येका एक प्रमुख पात्र हुन्, पुष्प गिरी । खरिदकार्यमा एक करोडको सामान किन्दा करोडौं बिलिङ गरेर कम्पनी डुबाउने स्थिति भयो भनेर त्यहाँबाट निकालिए । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका वरिष्ठ पत्रकार टीकाराम राईले उनलाई त्यहाँबाट निकालेपछि कान्तिपुरको प्रशासन प्रमुखका रुपमा काम गर्न थाले । उनैले हो, त्यहाँका पुराना पत्रकारलाई समेत अपमानजनक तवरले कामबाट निकाल्दा कान्तिपुरले बदनामी खेप्ने अवस्था बनाएको । रवि त त्यसै हावादारी भइहाले । चाहे सुन्तली धामी प्रकरणको पुनः अनुसन्धान गर्छु भनेर मजाक गरेको सन्दर्भदेखि ग्यालेक्सीमा पाँच वर्ष काम गर्छु भनी एक वर्षमै कम्पनी टाट पल्टाएर बाटो लागेकै घटना किन नहोस् । हुँदाहुँदा ससुराली डुबाउनेसम्मका काममा उनको संलग्नता देखिएको बताइन्छ ।

उता, सरस्वतीनगरस्थित सिद्धार्थ बैंकका कर्जा अधिकृत यस विषयमा बोल्न चाहेनन् । उक्त शाखाबाट हालसालै ऋण प्रवाह गर्न थालिएको र थोरै परिमाणमा मात्र ऋण दिइने उनको दाबी छ । उनले सबै ऋणसम्बन्धी काम नक्सालस्थित हेड अफिसले हेर्ने भन्दै टारे । हेड अफिसका प्रमुख सूचना अधिकारी रामेश्वरप्रसाद बस्याललाई पटकपटक सम्पर्कको प्रयास गर्दा पनि सफल हुन सकेन । कार्यालयमा सम्पर्क गर्दा उनी बाहिर रहेको जानकारी पाइयो । कर्मचारीले कर्जा हात्तीसारस्थित शाखाले हेर्छ भन्दै त्यहाँको सम्पर्क नम्बर दिए । 

हात्तीसारस्थित कर्जा अधिकृतले पनि सो विषयमा कुनै जानकारी नभएको बताए । तीन वटै शाखाले एकअर्कालाई देखाउँदै आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको पाइयो ।
 

टिप्पणीहरू