केपी ओली घण्टौंसम्म कता कता

केपी ओली घण्टौंसम्म कता कता

‘रामवाद’मा रमाइरहेका ओलीले जबज स्विकार्न नसकेकै हुन् त ? एमालेको मुख्यालय च्यासलमै एमालेनिकट साहित्यकारहरु खासखुस गरिरहेका थिए गत शनिवार । 

एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको स्थापना दिवसका प्रमुख अतिथि थिए केपी शर्मा ओली । जनसांस्कृतिक महासंघ ३६ औं वर्ष प्रवेश गरेको अवसरमा ‘जबजको सौन्दर्य चिन्तन’ नामक कृति लोकार्पण गर्दै थिए आयोजकले । सोहीअनुसार पोस्टरमा टाँसिएको थियो केपी शर्मा ओलीको तस्बिर । 

साहित्यकारहरू बिहान बालकोट पुगेर भेट्दा दिउँसो आउने वचन पनि दिएका थिए उनले । सेड्युलअनुसार ओलीकै हातबाट उक्त कृति लोकार्पण गर्ने तय भएको थियो । तर, निर्धारित समयभन्दा तीन घण्टा व्यतित भइसक्दासमेत प्रमुख अतिथि च्यासलमा पाइला टेकेनन् ।

अध्यक्ष आएपछि उक्त कृतिको लोकार्पण गरे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले । महासंघका उपाध्यक्ष आर.सी. न्यौपानेको परिकल्पना एवं सम्पादनमा तयार पारिएको कृति हो ‘जबजको सौन्दर्य चिन्तन’ । ६ सय रुपैयाँ मूल्य तोकिएको उक्त कृतिमा एमाले नेताहरूको लेख समावेश छ ।

उक्त कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य तथा महासंघका इञ्चार्ज रघु पन्त, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, महासंघ उपाध्यक्ष भूमिका सुब्बा, कार्यवाहक महासचिव अशोक राई, कोषाध्यक्ष सिन्धु जलेसा, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा. केशव सुवेदी, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा. षडानन्द पौडेल, प्रा. जगत उपाध्याय ‘प्रक्षित’, मञ्जुल, शान्ता मानवीलगायतको उपस्थिति थियो ।

सोही कार्यक्रममा महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीद्वारा रचना गरिएको झण्डाको गीतसमेतसार्वजनिक गरिएको थियो । 
 

टिप्पणीहरू